झापा एफसीको मुख्य प्रशिक्षकमा मोहेडानो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालको पहिलो प्राइभेट क्लब झापा एफसीले आगामी नेपाल सुपर लिगका लागि मुख्य कोचका रूपमा स्पेनिस कोच ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट उक्त जानकारी दिएको हो । युइएफए ए लाइसेन्स प्राप्त ओरिओलले यसअघि स्पेन, स्विट्जरल्याण्ड, फिनल्याण्ड, नर्वे र कम्बोडियामा काम गरिसकेका छन् । उहाँको नियुक्तिले क्लब तथा समग्र नेपाली फुटबलमा योगदान पुग्ने विश्वास गरिएको छ ।

झापा एफसी ओरिओलको आगमनलाई लिएर निकै उत्साहित र आशावादी रहेको क्लबका अध्यक्ष अर्पणविक्रम खड्काले बताउनुभयो ।
‘झापा एफसीमा कोच ओरिओल मोहेडानो सेगुरालाई स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । उहाँको प्रशिक्षण अनुभवले हाम्रो टोलीलाई नेपाल सुपर लिग दिलाउनेमा ढुक्क छौँ । हामी नेपाल सुपर लिगलाई लिएर उच्च आशावादी रहेका छौँ र यो सिजन नेपाली फुटबललाई थप व्यवसायी र राम्रो बनाउन हामी प्रयासरत छौँ,’ खड्काले भन्नुभयो ।

क्लबका महासचिव सुजन गौतम पनि ओरिओलको आगमनमा उत्साहित हुनुहुन्छ । ‘कोच ओरिओलको आगमन झापा एफसीको नेपाली फुटबलमा स्तर बढाउने समर्पणको प्रमाण हो । फुटबल क्षेत्रमा उहाँको विशेषज्ञताले हाम्रो प्रदर्शनमा सुधारमात्र नगरी नेपालको फुटबलको विकासमा पनि योगदान पुग्नेछ,’ प्रवक्ता सुजन गौतमले बताउनुभयो ।

प्रशिक्षक ओरिओल मोहेडानो सेगुराले नयाँ चुनौतीलाई सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म झापा एफसीमा सामेल हुन पाउँदा निकै खुसी र उत्साहित छु । झापा एफसीले नेपालको फुटबलको स्तर बढाउन राम्रो प्रयास गरिरहेको छ र नेपालजस्तो सुन्दर देशमा फुटबलको विकासमा योगदान गर्न पाउँदा आफूले अवसर र चुनौती दुवैका रूपमा लिएको छु । मेरो लक्ष्य एक प्रतिस्पर्धी र सफल टोली सिर्जना गर्ने, नेपाली फुटबलमा स्पेनिस शैली प्रयोग गरी फ्यानहरूलाई गर्वित बनाउने रहेको छ ।’

मोहेडानो सेगुराले कम्बोडियाका प्रिमियर क्लबहरूमा प्रमुख कोच र फिनल्याण्ड, नर्वेलगायत क्लबमा सहायक कोचका रूपमा काम गर्नुभएको छ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । झापा एफसीले मंसिर ११ गते स्पोर्टिङ डी इलामसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?