हङकङको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट शृंखलाअन्तर्गत पहिलो टी-२० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो ।

बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो । बागमतीका लागि विन्दा कट्वाल र खुशी डंगोलले सबभन्दा बढी १८-१८ रन बनाउनुभयो । यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिनुभयो ।

हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिनुभयो । घरेलु टिमका पाँच ब्याटर रनआउट हुनुभएको थियो । यसअघि हङकङका पालिमा लेमन छुङ्गेले ३१ बलमा छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट हुनुभयो । लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको उपयोगी पाली खेल्नुभयो । प्रारम्भिक ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गर्नुभयो । सो पालीमा बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई-दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक-एक विकेट हात पार्नुभयो ।

यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी-२० शृंखलामा हङकङले अग्रता बनाएको छ । दोस्रो खेल बिहीबार हुनेछ । यसअघि बागमतीले ४० ओभरका दुई खेल २-० ले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?