पुस्तक : गीता रेग्मीको नियात्रासङ्ग्रह ‘प्रशान्तको तीरैतीर’

सुशीला घिमिरे
Read Time = 9 mins

‘प्रशान्तको तीरैतीर’ गीता रेग्मीको नियात्रा कृति हो । गीता रेग्मी नेपाली साहित्यमा चिनिएको नाम हो । उहाँलाई थप चिनाइरहनु पर्दैन । आधा दर्जन पुस्तककी स्रष्टा रेग्मीको यो पुस्तक ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि.बागबजार काठमाडौंले प्रकाशन गरेको छ । २०७८ सालमा १००० प्रति छापिएको यस पुस्तकको सर्वाधिकार लेखकमै रहेको छ । डिएमआई आकारको यस पुस्तकमा भूमिका खण्डसमेत गरी १६० पृष्ठ रहेका छन् भने पुस्तकको मूल्य ३५० रुपैयाँ र विदेशका लागि ५ डलर रहेको छ ।

पुस्तक आकर्षक छ र छपाइ पनि आकर्षक छ । भाषा प्रभावकारी र सरस छ । कतै कतै अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकमा तौलयुक्त पहेंलो कागज प्रयोग भएको छ । पुस्तकको आवरण सुन्दर बस्नेतले तयार पार्नुभएको छ भने सेटिङको काम सन्जिमा श्रेष्ठको रहेको छ । पुस्तक किशोर अपसेट प्रेस प्रा.लि गल्कोपाखा, काठमाडौंमा मुद्रण भएको छ ।

आवरण आकर्षक छ । पुस्तकको शीर्षकअनुसारको बीचमा महासागर जस्तो लाग्ने नीलो जलराशि देखाइएको छ । माथि आकाश, बादल र उडिरहेका जोडी पक्षी देखाइएको छ । माथिको पहेंलो भागमा लेखिकाको नाम मध्यम आकारका काला अक्षरमा ‘गीता रेग्मी’ भनेर राखिएको छ । तल खैरो रङको पृष्ठभूमिमा ठूला पहेंला अक्षरमा पुस्तकको शीर्षक ‘प्रशान्तको तीरैतीर’ भनिएको छ ।

आजका दिनसम्म आइपुग्दा नियात्रा लेख्नेहरूको सङ्ख्या धेरै छ र कृतिहरू पनि अनगिन्ति आइसकेका छन् । त्यहीमध्येमा गीता रेग्मी पनि पर्नुहुन्छ । यस कृतिका लागि गीता रेग्मीलाई बधाई छ र कृतिको सफलताको कामना । 

पृष्ठ आवरणमा लेखिकाको फोटोसहितको सामान्य परिचय दिइएको छ । जसअनुसार समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी रेग्मीले परिचय (कथासङ्ग्रह-२०६५), पुस्तान्तर (संयुक्त कथासङ्ग्रह–२०६६), ज्योतिका युगीन स्वरहरू (संयुक्त कवितासङ्ग्रह-२०६७), पश्चिमाहरूको देशमा (नियात्रासङ्ग्रह-२०६९) र पत्थरै पत्थर (नियात्रासङ्ग्रह २०७४) यसपहिले प्रकाशित भएका पाइन्छन् । यसरी हेर्दा नेपालका प्राय जिल्लाहरू तथा नौवटा पश्चिमा तथा एशियाका राष्ट्रहरू घुमिसक्नुभएकी रेग्मीको कलम प्रायः नियात्रातर्फ नै बढी चलेको पाइन्छ । यही पृष्ठमा गीताको लेखनी बारे प्रतीक ढकाल तथा अनुपमा रेग्मीले भन्नुभएका केही शब्दहरू पनि समेटिएका छन् ।

बायाँ छेउमा शताब्दी पुरुष सत्यमोहन जोशीले भन्नुभएका रेग्मी र उहाँको पुस्तकसम्बन्धी शब्दहरू पनि समेटिएका छन् । यहाँ उहाँले ‘एउटी नेपाली साहित्यकारले विदेशको माटोमा बसेर सङ्घर्ष गर्ने नेपाली जनका कथा व्यथासमेत नियात्रामा उतारेर नेपाली साहित्यवागमा फुलाएको देखेर म एकदमै आल्हादित भएको छु । नियात्राकार गीता रेगमीको यो दर्बिलो कलम कहिल्यै नरोकियोस् । हार्दिक शुभेच्छा र शुभकामना’ भन्नुभएको छ । तल प्रकाशक संस्था ओरियन्टल पब्लिकेसनको लोगो र नाम दिइएको छ ।

यस पुस्तकको भूमिका खण्डमा अरू कसैको विचार समेटिएको छैन । लेखिका स्वयंको विचार भने अलिक लामै आएको छ । पहिले कवितात्मक र पछि वर्णनात्मक रूपमा अनुच्छेदहरूमा उहाँको विचार आएपछि विषयसूची दिइएको छ । यहाँ ३३ वटा नियात्रात्मक लेखहरू सङ्गृहित भएका छन् । गीता रेग्मीले आफ्ना नियात्राका शीर्षक आकर्षक र छोटाछोटा राख्नुभएको छ । एक शब्दका दुई, दुई शब्दका १६, तीन शब्दका नौ, चार शब्दका पाँच र पाँच शब्दका शीर्षक भएका एक वटा नियात्राहरू रहेका छन् । यसबाट उहाँका बहुसङ्ख्यक नियात्राका शीर्षकहरू दुई वा तीन शब्दमा रहेको पाइन्छन् ।

रेग्मीका नियात्राहरूको फैलावट हेर्दा एक पृष्ठको १, दुई पृष्ठको १, तीन पृष्ठका १२, चार पृष्ठका ६, पाँच पृष्ठका चार, छ पृष्ठका ६, सात पृष्ठका एक र आठ पृष्ठको फैलावटका दुईवटा नियात्राहरू छन् । यसबाट नियात्राकार गीता रेग्मी मझौला आयाममा नियात्राहरू लेख्न चाहनुहुन्छ भन्ने देखिन्छ । उहाँका ३३ वटा नियात्रामध्ये सबैभन्दा धेरै १२ वटा नियात्रा तीन पृठका रहनुले यस भनाइलाई पुष्टि गर्छ ।
रेग्मीका कुनै-कुनै नियात्राहरू संस्मरणात्मक शैलीमा लेखिएका छन् । विदेशको भूमिमा उभिएर लेखिएका यी नियात्राहरूले पाठकलाई समेत ती ठाउँहरूका पुर्‍याउँछन्, घुमाउँछन् र त्यहाँको यात्रा गराउँछन् । यो नै नियात्राकार रेग्मीको सफलता हो । नियात्राकारले पाठकलाई ती ठाउँहरूमा पुर्‍याउन सकेन, त्यहाँको सामाजिक, भौगोलिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवेशमा आपूmसँगसँगै हिँडाउन सकेन भने नियात्राकार सफल भएको मान्न सकिँदैन । नियात्राकार रेग्मीले पाठकहरूलाई आफू सँगसँगै डुलाउन सक्नुभएका कारण उहाँलाई सफल नियात्राकार मान्न सकिन्छ ।

नियात्रा लेखनको परम्परा नेपालमा निकै पहिलेदेखि नै चल्दैआएको भए तापनि त्यस बेलाका ती लेखनहरू निश्चित मापदण्ड अपनाएर लेखिएका थिएनन् । राजा गगनीराजको यात्रादेखि जंगबहादुरको बेलायत यात्रासम्मका लेखनलाई हेर्दा ती नियात्राका रूपमा भन्दा पनि यात्रा संस्मरणका रूपमा चिनिएका थिए । पछिसम्म पनि यात्राका कुरा समेटेर लेखिएको लेखनलाई यात्रा संस्मरण भन्ने गरिन्थ्यो र यात्रा निबन्ध भनेर पनि लेख्ने गरियो । धेरैपछि डा.तारानाथ शर्मा, बालकृष्ण पोखरेलहरूले यस प्रकारको लेखनलाई नियात्रा नामकरण गर्नुभयो ।
तारानाथ शर्माका ‘बेलायततिर बरालिँदा’ र ‘पाताल प्रबास’ शीर्षकका नियात्रा कृतिहरू पनि आए र ‘बेलायततिर बरालिँदा’ ले प्रतिष्ठित मदन पुरस्कार पनि पायो । आजका दिनसम्म आइपुग्दा नियात्रा लेख्नेहरूको सङ्ख्या धेरै छ र कृतिहरू पनि अनगिन्ति आइसकेका छन् । त्यहीमध्येमा गीता रेग्मी पनि पर्नुहुन्छ । यस कृतिका लागि गीता रेग्मीलाई बधाई छ र कृतिको सफलताको कामना । यसका साथै उहाँबाट यस्तै थप कृतिहरू पनि आइरहून् अपेक्षाका साथै अग्रीम रूपमा हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?