आजदेखि चाडपर्व लक्षित सहुलियत पसल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ८३ बिक्रीस्थल रहने बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार काठमाडौं उपत्यकामा आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थान, राजधानीबाहिर ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यकाका साथै मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगरमा सहुलियत पसल सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट प्रदान गरेको छ भने साल्ट ट्रेडिङमार्फत् बिक्री हुने सामानमा सहुलियत दिन एक करोड छुट्याएको छ ।

साल्ट ट्रेडिङले चिनी प्रतिकेजी ९७ रुपैयाँमा उपलब्ध गराउनेछ भने नुनमा प्रतिकेजी दुई र तेल तथा चिउरामा प्रतिकेजी सात रुपैयाँ सहुलियत दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकेजी २० र पनिर प्रति दुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ । तर, सरकारले सञ्चालन गर्ने सहुलियत पसलभन्दा निजीमै सस्तो हुने गरेको देखिएको छ । सरकारी निकाय साल्ट टे«डिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अधिकांश वस्तुमा बढी मुनाफा लिने गरेको उपभोक्ता अधिकारकर्मीहरूको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?