२७ दिनअघि मात्र इजरायल गएका आनन्दको मृत्युको खवरले शोकमा धनुषाको सपही गाँउ

बिएससी एजी छात्रवृतिमा इजरायल गएका मृतक आनन्दको झार गोड्ने र कागती टिप्ने काम

हिमालय टाइम्स
Read Time = 6 mins

-पुरन साह

जनकपुरधाम । इजरायलमा मारिएका दश नेपालीमा परेका धनुषा सपही ४ का आनन्द साहको मृत्युकाे खवरपछि परिवारबाट आनन्द हराएको छ ।

तीन बहिनी, बुवा आमा र हजुरआमाका मुटुका टुक्रा घरका जेठा सन्तान आनन्दको मृत्युको खवरले सपही यतिबेला शोकमा डुबेको छ ।

धनुषाको लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. ४ सपही गाँउको यो पुरानो घरको आँगनमा सुकेको अम्वाको बोट मुनी गोलवद्व स्थानियका बिच पुत्र वियोगमा व्याकुल व्यक्ति इजरायलमा मारिएका २२ वर्षिय आनन्द साहका बुवा हुनु हो । हिजैदेखि स्थानियहरुको सान्तवनामा चित्त बुझाउन विवस सोमन साहको घरमा पालैपालो रुँदै कराउँदै आउने गरेका आफन्तहरुले ताजा गरिदिएपछि व्याकुल छन् ।

चार सन्तान मध्ये सबै भन्दा जेठो एक मात्र छोरा आनन्द २७ दिन अघि मात्र इजरायल गएका थिए । २७ दिनमै अहिले आफ्ना साहारा गुमाएको खवरले आनन्दकी आमा शिवकली देवी र हजुर आमा बसमतिया देवी साह पनि बेहोस अवस्थामा हुनुहुन्छ । घर छेउको सडक छेउमा एक छिमेकीको घरको बरन्डामा आनन्दकी कान्छी बहिनी आरतीलाई अर्धचेत अवस्थामास्लाइन पानी दिएर राखिएको छ ।

पटक पटक मुर्छित भइरहेकी आरती दाजु जस्तै सपही स्थित सिटिईभिटीमा पूर्ण छात्रवृतिमा भेटनरी पढीरहेकी छिन् । कक्षा पाँचसम्म स्थानिय अक्सफोर्ड अंग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधै प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एलएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले टिकापुरबाट पूर्ण छात्रवृतिमा विएससीएजी पढेका थिए ।

आनन्दको फेसबुकको कभर तस्वीरमै एक पानामा लेखेर उनले संकल्प गरेका रहेछन्, ‘म एक करोड वृक्षारोपण गर्छु, गाँउमा एक अक्सिजन उद्योग र अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन ।’ उनका साथीभाई पनि उनी एकदमै जेहेन्दार र मिलन्सार रहेको भन्दै होनकार साथी गुमाएको दुःख व्यक्त गर्छन् ।

आनन्दका बुवा सोमनका अनुसार विएससीएजीको पढाई पछि आनन्द पाँच महिनाका लागि ईन्टर्नशिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनको इजरायल जाने निधो भयो । टु लर्न टु वर्क भिसामा गएका उनले आफुलाई चौरीमा लेमन (कागती) र त्यसका झारपात टिप्ने काममा लगाइएको बताएका थिए । बस्न प्रति महिना सात सय र कलेजका लागि पाँच हजार ८८ अमेरिकी डलर त्यहाँ पुगेपछि माग गर्न थालेको पनि उनले अभिभावकलाई सुनाएका थिए ।

एक्लै छोरा भएकाले अभिभावकले फर्किन आग्रह गरेको भएपनि तर उनले १० महिना कमाएर पैसाको जोहो गर्ने र त्यसपछि निर्णय लिने भन्दै अभिभावकलाई सम्झाउँदै आएका थिए । शनिवारबाट उनको फोन उठ्न छोडेपछि परिवारजनमा बेचैनी सुरु भइसकेको थियो । आइतबार साँझ आएको समाचारले उनको परिवार क्षतविच्छत भएको छ ।

हत्याको समाचार आइसकेको भएपनि राज्यका कुनैपनि निकाय आनन्दको घरमा अहिलेसम्म सम्पर्क समेत नगरेको र भेटन पनि नआएको भन्दै युवाहरु आक्रोसित छन् । आनन्दका बुवाको अनुसार टिकटमा ८५ हजार, पासपोर्टमा ३५ हजार, मेडिकलमा १० हजार र किनमेलमा ६० हजार गरि करिव अढाई लाख खर्च गरेर आनन्द त्यहाँ पुगेका थिए । आनन्दकी माइली बहिनी पुनिता साहको धनुषाको दिगम्वरपुरमा विवाह भएको छ भने साइली बहिनी सरस्पती साह बिबिए पढिरहकी छन् ।

पराल र माटोको छार्पोमा बसेर पनि बुवालाई सम्झाएर तिजैजना बहिनीलाई समेत उच्च माविको शिक्षासम्म पढाइरहेका घरका समझदार अभिभावक आनन्दको देहवसान पछि परिवार आनन्दित रहने कुनै भएन ।

आनन्द जस्ता नेपालका होनहार युवाहरुलाई गलत प्रलोभनमा पारेर विदेश पठाइएको र हत्या हुँदा पनि सरकार मौन बसेको भन्दै सपहीका स्थानीयले ढल्केवर–जनकपुरधाम राजमार्गमा प्रदर्शन गरेका छन् । एक सप्ताह भित्र आनन्दको शव र उचित राहत तथा क्षतिपुर्तिको व्यवस्थापन नभए कडा आन्दोलन गर्ने उनीहरुले बताएका छन् । उनीहरुले सोमवार एक घण्टा सडक जाम गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?