हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनुपर्छ : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने बताउनुभएको हो । उहाँले हुलाक सेवामा प्रविधियुक्त संगठनात्मक संरचना बनाउनुपर्ने बताउनु भयो ।

त्यस्तै हुलाक सेवामा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नुपर्ने पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो । मन्त्री शर्माले सरकारले प्रविधि र भौतिक पूर्वाधार सुधारसहित हुलाक सेवामा व्यापक सुधार ल्याउन पहल गरिरहेको बताउनु भयो । उहाँले सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउन सरकारले नीतिगत निर्णय गरिसकेको पनि जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘परम्परागत रुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन सकिने अवस्था छैन । यसमा व्यापक सुधार ल्याउन, सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउन सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त संगठनात्मक संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने उत्तिकै आवश्यक छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधारसहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहान्छु । विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो देखिन्छ । संसारका अन्य देशहरुले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अंग नै बनाइसकेका छन् । तर हाम्रोमा भने अझैपनि सरकारी निकाय नै ऐच्छिक सेवाको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । यो अवस्थालाई बदल्ने गरी सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि केही दिन अघि मात्रै सरकारले नीतिगत निर्णय गरिपनि सकेको छ । हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा हुलाक सेवा विभाग र केही नीजि क्षेत्रका अनलाइन कम्पनी बिच सामानको ढुवानी सम्बन्धी सम्झौतापनि भएको छ । जिल्ला प्रशासन कार्यालयसम्म राहदानीको हुलाकमार्फत् ढुवानी गर्ने कार्य सुरु भएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सुचना प्रविधिको अत्याधिक विकास भएका देशमा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणजस्ता नागरिकका आधारभुत सेवा वितरण हुलाकबाट अनिवार्य गर्ने गरिएको छ । सुचना, प्रविधिको विकासले आधारभुत पत्राचारलाई डिजिटाइजेशन गरेको यथार्थ हो । तर हुलाक सेवाको औचित्य नै समाप्त भएको होइन । अब समय र प्रविधिको विकाससँगै हामीले हुलाक सेवाको दायरा फराकिलो बनाउनुपर्छ । नेपालभित्र हवाइ सेवा पुगेका जिल्लाहरुमा द्रुत डाक सेवा र विभिन्न देशसँग वैदेशिक द्रुत डाक सेवा सञ्चालनमा छ । यि सेवालाई अझै प्रभावकारी बनाउँदै हुलाक सेवाको पुनःसंरचनामार्फत मौजुदा साधन, स्रोतको पूर्ण क्षमतामा परिचालन गरेर नयाँ व्यवसायिक ढाँचामा लैजाने तयारी थाल्न अब ढिलाइ गर्नु हुँदैन भन्ने हाम्रो विश्वास छ ।’

उहाँले हुलाक सेवाको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्मार्ट हुलाक बनाउनेगरी लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?