चाँद र बिएसके सेमिफाइनल प्रवेश

हिमालय टाइम्स
Read Time = 3 mins

मानेभञ्ज्याङ (भारत) । सातौँ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोस्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्ट्स एकेडेमीलाई हराएको हो ।

पहिलो खेलमा चाँदले चार-दुई गोल अन्तरले अन्तिम चारमा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेस्रो मिनेटमा नै गोल गर्नुभएको थियो । २३औँ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याउनुभयो । खेलको ४८औँ मिनेटमा कुन्जमानले व्यक्तिगत दोस्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाउनुभयो ।

वीरेन प्रधानले ५५ र भाइचुङ राईले ६५औँ मिनेटमा गोल गरेपछि चार-दुई गोल अन्तरको जितका साथ चाँदले सेमिफाइनलमा स्थान बनाउन सफल रहृयो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्ट्स एकेडेमीलाई सडनडेथमा हराउँदै बिएसकेले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट दुई-दुई गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो । मेसुके ओलमाउले १५औँ मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

३०औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा) ले ५४औँ मिनेटमा गोल गरेपछि दलसिङपाडा खेलमा फर्किएको थियो । सडनडेथमा दलसिङपाडा भाग्यमानी साबित भयो । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ ।

सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाडौंलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका थिए । प्रतियोगितामा नेपालका पाँच र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ (पाँच लाख भारु) तथा उपविजेताले चार लाख (दुई लाख ५० हजार भारु) पाउनेछन् । फाइनल खेल अक्टोबर १५ तारिखमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?