सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपालकै उत्कृष्ट नगरपालिका रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जानेआउने सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको हो ।

सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले अटोरिक्साको साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख खाँणले भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई पनि सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताउनुभयो । नगरपालिका र सेवाग्राही एकै सिक्काका दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवा नगरवासीलाई प्रदान गर्ने बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब एक किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाको सेवा लिन आउँदा धेरै दुःख भएकाले अटोरिक्सा सञ्चालन गरिएको उहाँले बताउनुभयो । महिलाले पनि अवसर पाए जुनसुकै काम गर्न सक्छन् भन्ने कुरालाई पुष्टि गर्न अटो चालक महिला राखिएको उहाँको भनाइ थियो । तत्कालका लागि एउटामात्रै अटो सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार बढाउँदै लगिने नगरप्रमुख खाँणले बताउनुभयो ।

यस्तै, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जानआउन सार्वजनिक यातायात सुविधा नभएकाले निःशुल्क अटो सञ्चालनमा ल्याइएको बताउनुभयो । आफ्नो सवारीसाधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएकोमा अब सहज हुने उहाँको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने र सो कुरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताउनुभयो । अटोरिक्सा सिट फुल वा १५ मिनेटमध्ये जुन पहिला हुन्छ, सोहीअनुसार सञ्चालन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?