काठमाडौं । त्रिभुवन आर्मी क्लब राष्ट्रिय बास्केटबल लिग (एनबिएल) अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बुढानीलकण्ठ बास्केटबल क्लबलाई सोमबार १०४-७७ ले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लेको हो । अन्तिम दुई खेल बाँकी रहँदा आर्मीको नौ अंक पुगेको छ । १० अंकसहित टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आर्मीले खेलको सुरुवातबाट अग्रता बनाएको थियो ।
पहिलो क्वाटरमा २५-२१ को अग्रता लिएको आर्मीले त्यसपछि दोस्रोको समाप्तिमा ५६-३० र तेस्रोको अन्त्यमा ८१-५२ ले अन्तर बढाएको थियो । २५ स्कोर गर्नुभएका आर्मीका निश्चल महर्जनले २५ स्कोर गर्नुभयो ।
अर्को खेलमा हाउड्स एकेडेमीले विशाल मिलन केन्द्रलाई ९२-७० ले हरायो । पहिलो क्वाटरमा २१-२४ ले पछि परेको हड्सनले दोस्रो क्वाटरको समाप्तिमा ३५-३३ को अग्रता बनायो । त्यसलाई निरन्तरता दिने क्रममा तेस्रो क्वाटरको समाप्तिमा पुग्दा हाउड्सले ६१-४५ को अग्रता कायम गर्यो । १८ स्कोर गनुभएका हाउड्सका भाग्यान्स गुलाटी म्यान अफ दी म्याच बन्नुभयो ।
समान ६ अंक रहेको हाउड्स छैटौँ, गोल्डेनगेट इन्टरनेसनल कलेज सातौँ र विशाल मिलन केन्द्र आठौँ स्थानमा छ । समान आठ अंक जोडेको कीर्तिपुर बास्केटबल तेस्रो, रोयल स्पोर्ट्स सेन्टर चौथो र सात अंकसहित बुढानीलकण्ठ बास्केटबल क्लब पाँचौँ स्थानमा छ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउण्ड रोबिनको एनबिएलमा आठ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख र दोस्रो हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।