बागलुङ । “पहिले-पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जंगल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गर्थ्याैं, महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा विक्री हुन्थे, त्यसबाट राम्रो आम्दानी थियो ।” ढोरपाटन नगरपालिका-९ का ८३ वर्षीय लिलबहादुर घर्ती मगरलाई आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किमिका सामग्रीहरु बनाएर विक्री गरेको याद अझै झलझल आइरहन्छ । तर अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थाविपत गरि दिएपछि उहाँ चिन्तित हुनुहुन्छ । अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्ती मगरको भनाइ छ ।
प्रबिधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएको उहाँ बताउनुहुन्छ । आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ता कपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबै आयातित सामान प्रयोग गर्ने गरेको घर्ती मगरको भनाइ छ । अहिले पनि केही बुढापाकाले चोयाबाट सामग्री बनाउने गरे पनि विक्री नहुने उहाँले बताउनुभयो । आफूहरु दसैँ, माघेसक्रान्ति र चैतेदसैँका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा विक्री गर्न जाने र फर्किने बेला घरमा चाहिने सामन लिएर आउने गरेको घर्ती मगरले स्मरण गर्नुभयो ।
स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको सुनाउनुभयो । पहिले एकै सिजनमा डेढ लाखको चोयाका सामग्री बच्ने गरेकोमा अहिले विक्रीनै हुन छोडेको सुनारले बताउनुभयो । बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न किसेको भन्दै नयाँ पुस्ताले यसप्रति चासोनै नदेखाउँदा सिप हस्तान्तरण हुन सकेको गुनासो गर्नुभयो । बुढाबाकाको हातखुट्टा चल्न छोडेपछि स्थानीय स्तरमा भएका कला, सिप र संस्कृति लोप भएर जाने खतरा बढेको सुनारले बताउनुभयो । एक दशकदेखि गाउँ-गाउँसम्म प्लास्टिकका भाँडाकुँडा र डालो नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामानहरु प्रयोग छोडेको उहाँको भनाइ छ ।
चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरुको तुलनामा किनै बलियो हुने गरेको सुनार बताउनुहुन्छ । स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति मान्छेहरुको आकर्षण बढी भएको हुँदा मौसिक सिप र सामानले बजार नपाएको उहाँले गुनासो छ । बजारमा नयाँ-नयाँ प्रबिधिका नापतौलका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको उहाँ बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु विक्रीनै नहुने उहाँको भनाई छ । डालो नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको दुखेसो पोख्नुभयो ।
“अहिले ७० वर्षमा लागे अस्ति भदौबाट, अझै पनि हातमा सिप छ, तर सिपले कमाउन सकेन, दिनभरी लगाएर सामान बुन्ने हो, विक्री नहुँदा दुःख लाग्छ, हाम्रा बाउ बाजेले यही सिकाए, अरु पेसा गर्न जानिएन, पढाई लेखाइ पनि केही थिएन उबेला, पहिले त राम्रै हुन्थ्यो कमाई अहिले त वर्षभरी पचास हजारको समान बेच्न पनि मुस्किल हुन्छ,” सुनारले भन्नुभयो - “हाम्रा पालामा माना पाथी चल्थे, अहिलेको जस्तो एक हिलो, दुई किलो भन्ने थिएन, व्यापारीहरुले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्समा पनि धेरै सामान बिक्थे ।”
बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताउनुभयो । उतिबेला गोठालाहरुले लेकबेसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको बताउनुहुन्छ । सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरे पनि अहिले त्यो प्रचलननै हराएको बताउनुभयो ।
सिंजालीले भन्नुभयो - “१० औँ वर्ष अगाडिका धेरै चालचलन र सिप अहिले हराउँदै गएका छन्, गाउँ र बस्तीमा मोटर गुड्न थाले, मोटर गाडीले सहर बजारका सामान सर्लक्कै गाउँ ल्याउँछ, ति सानमाहरु देख्दा राम्रो भए, पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन्, अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन, अहिले लोक्ताबाट बनेका कपडा कतै देखिन्छ ?”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच