
अन्ततः जे हुनु थियो त्यही सुरु भएको छ कांग्रेसमा । कोशी प्रदेशको अस्थिरता अन्त्य गर्ने निहुँमा कांग्रेसलाई फुटाउन सफल भएको छ नेपाल कम्युनिष्ट पार्टी एमाले । माओवादीको वैशाखी भएर केन्द्रीय सत्तामा रहेको कांग्रेसको वैशाखी बनेर कोशीमा अकस्मात् प्रकट भएको छ एमाले । तर, सिंगो कांग्रेस होइन चोइटा बनाएर उसले सफल चाणाक्य रणनीति प्रयोग गरेको छ ।
एमाले रणनीतिको व्यूह रचना र त्यसभित्र प्रविष्ट अभिमन्यूहरूको निर्णय नै कांग्रेस विभाजनको बलियो सन्देश हो र यस्तो सन्देश कोशी प्रदेशबाट दिइएको स्पष्ट संकेत पनि हो । यतिखेर नेपाली कांग्रेस एकप्रकारले जरासिन्ध जस्तो प्रतीत भएको छ । एकापट्टिको भाग माओवादीको छत्रछायामा र अर्को भाग एमालेको आशीर्वादको सहारामा शरीर धारण गरेजस्तो हुन पुगेको छ ।
०८४ को मिसन, भिजन र लक्ष्यको नारा एकातिर र अर्कातिर फुटाउ र शक्ति हत्याउको खेल अनुबन्धित हुँदै छ कांग्रेसमा । यसका लागि वर्तमान सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिस्पर्धी डा. शेखर कोइराला र कांग्रेसको भविष्य आफूमा मात्रै रहेको दाबी गर्ने महामन्त्री गगन थापा पूर्ण जिम्मेदार हुनुहुन्छ । निरीह कांग्रेस यी तीनैजनाको अन्तरइच्छाका सामु आत्मसमर्पण गर्न विवश देखिएका छ ।
(क) अभिषप्त दृश्यचित्रः
कोशी प्रदेशमा १० महिनायता मञ्चित खेल संघीय प्रणालीको एक अभिषप्त दृश्य प्रमाणित भएको छ । यसरी नै चल्ने हो भने संघीय प्रणालीको औचित्य कसैले पनि पुष्टि गर्न सक्दैन । कम्तीमा पनि अब तीनपांग्रे प्रणालीको अवशान देख्ने दिन आउने र दुईपांगे्र संघीयता प्रतिस्थापन गर्नुपर्ने समय हुनसक्छ । अन्तिम पटकको खेलमा नेपाली कांग्रेसका आक्रामक, ऊर्जाशील र उदीयमान नेता केदार कार्कीले वाजी मार्नुभएको छ । पार्टीको कुनै पनि ह्वीप नलाग्ने विन्दुमा पुगेको र स्वतन्त्र निर्णय गर्न सदस्यहरू स्वतन्त्र रहेको अवस्थाको फाइदा लिने सोच केदारको प्रशंसनीय छ । एमालेको समर्थन र कांग्रेसका आठजना सदस्यहरूको समर्थनले केदार मुख्यमन्त्री मात्रै हुनुभएन कांग्रेस पार्टीको विवादमा प्रदेश राजनीतिलाई ध्रुवीकरण गराउने र त्यस ध्रुवको नेतामा आफूलाई प्रतिस्थापन गर्नुभएको छ । यसमा केन्द्रीय नेता डा. शेखरको अवस्था भने हाँस न कुखुरा जस्तो हुन पुगेको छ । प्रदेशमा आफ्ना सहयोगीहरूलाई विद्रोहमा उतार्ने र अर्कातिर वर्तमान गठबन्धनप्रति पूर्ण प्रतिबद्धता जनाउँदै वक्तव्यमा हस्ताक्षर गर्ने । अर्थात् विराटनगरमा गरेको विद्रोहको मूल्य उहाँले संघीय गठबन्धनलाई स्थायित्व दिने कागजबाट चुकाउनुभएको छ । गगन थापाका पक्षधर प्रदेश सदस्यहरूसमेत डा. शेखरसँग देखिएनन् । यसै पनि डा. शेखरले गत साल सम्पन्न संसदीय दलको निर्वाचनमा नै गगनजीलाई नेतृत्व समर्पण गरिसक्नु भएको थियो । कहिले देउवाको समर्थन कहिले रूपान्तरण पक्षधरले निर्माण गरेको मञ्चलाई उपयोग त कहिले सरकारको नेतृत्व बदल्ने प्रस्ताव उहाँको राजनीतिक विचलनका उदाहरण हुन् । पछिल्लो प्रदेश विद्रोहले डा. शेखरले आफूलाई निकै कमजोर प्रमाणित गर्नुभएको छ ।
(ख) कसलाई नाफा कसलाई घाटाः
व्यक्तिगत रूपमा केदार कार्की जति फाइदामा रहेको देखिन्छ त्योभन्दा बढी फाइदा नेपाल कम्युनिष्ट पार्टी एमालेको पक्षलाई भएको छ । एमाले रणनीति अत्यन्त सफल भएको छ कोशी खेलमा । कोशी खेलबाट एमालेले पुस १० मा लागेको घाउमा मल्हम लगाएको छ । कांग्रेस र माओवादीका दिग्गज, चतुर खेलाडीहरूलाई थाङ्नामा सुत्नुपर्ने बनाएको छ । बहुमत सिद्ध नहुने अवस्था देख्नासाथ एमालेका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले अत्यन्त बुद्धिमतापूर्वक पदबाट राजीनामा दिएपछि मध्यावधिको संघारमा कोशी प्रदेशसभा पुगेको थियो । तर, कार्कीले बनाएको पदरिक्तताबाट उत्पन्न परिस्थितिलाई एमालेले आफ्नै चतुर रणनीतिमार्फत भर्ने काम गरेको छ । २०७८ असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाको पटकपटक प्रयोग हुने गरी बसेको नजिरकै कारण कोशी प्रदेशमा हिक्मतको पुनःस्थापन भएको थियो । तर, बहुमत पु¥याउन नसक्ने अवस्थामा राजीनामा दिएर एमालेले सम्भावित मध्यावधिको दोषबाट आफूलाई पृथक् तुल्याइसकेको थियो । अहिले त केदार कार्कीलाई समर्थन गरेर उसले प्रदेशसभा जोगाएको छ, कांग्रेस र माओवादीका रणनीतिकारलाई नराम्रो झापड दिएको छ, कांग्रेसभित्र कलहको सलहलाई घना बनाएको छ र वर्तमान गठबन्धनलाई कुनै पनि बेला एमालेको इच्छाअनुसार भत्काउन सक्ने सन्देश पनि दिएको छ । यथार्थमा कांग्रेसलाई नराम्ररी घाइते तुल्याएको छ । अर्थात् एमाले कोशी रणनीतिमा सफल भएको छ ।
(ग) असफलता छोप्ने निरीह प्रयासः
तर, नेपाली कांग्रेस र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो असफलतालाई छोप्न एकसूत्रीय वक्तव्यमा डा. शेखरलाई हस्ताक्षर गराउनुभएको छ । डा. शेखरको अस्थीर, किंकर्तव्य र निरीह अवस्थाको फाइदा लिँदै तयार त्यस वक्तव्यमा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिन प्रतिबद्ध रहेको हस्ताक्षर छ । प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति देउवा र डा.शेखरका बीच भएको त्यो प्रतिबद्धतापत्र कोशीबाट उठेको सुनामीलाई केही निष्क्रिय गराउन र डा. शेखरको राजनीतिक भविष्यको जोगाड गर्न मात्रै उपयोग हुने निश्चित छ । राजधानीमा हस्ताक्षर गरी जिल्ला पुग्नुभएका प्रधानमन्त्री दाहालले ढुक्कसँग कोशी विद्रोहको समेत स्वामित्व लिने जानकारी दिनुभएको छ । उहाँले कोशीमा केदार सरकार पनि वर्तमान गठबन्धनकै हो भनेर मन्तव्य दिनुको अर्थ डा. शेखरको वक्तव्यकै जगमा छ भन्ने बुझ्न कठिन छैन ।
(घ) देशव्यापी कम्पनको झड्काः
यस अवस्थामा केदार सरकारलाई कांग्रेस, माओवादी र गठबन्धनले सहर्ष समर्थन गरेमा कुनै आश्चर्य हुने छैन । तर, एमालेका उम्मेदवार केदारप्रति आफूले कसरी समर्थन जनाउने भनेर पटकपटक आन्तरिक छलफलमा प्रश्न गर्नुहुने सभापति देउवाले समर्थन गर्नुहुनेमा संशय उत्तिकै छ । त्यसमा पनि केदारको मन्त्रिमण्डल कस्तो हुन्छ ? क–कसको सहभागिता हुने हो ? त्यसले पनि कांग्रेसमा डा. शेखरसहित केदारको नियति निर्धारित हुनेछ । यदि एमालेले कार्की मन्त्रिमण्डलमा सहभागिता जनायो र त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन भयो भने कांग्रेस र माओवादी नेतृत्वले शिव शर्माको सातुमा आफूलाई सीमित राख्नुपर्ने हुन्छ । यदि एमालेले राप्रपालाई आफूसँग सहमत गराउन सकेमा नेपाली कांग्रेस भित्रको राजनीतिमा मेचीदेखि महाकालीसम्म नै कम्पन हुने निश्चित छ । यस कम्पनको झड्काबाट माओवादी नेतृत्वको सत्तासमेत अछुतो रहने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच