काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । शनिबार नियुक्त भई आइतबारमात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार–हतार आउँदो बुधबार विश्वासको मत लिन लाग्नुभएको हो ।
कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधबार नै विश्वासको मत लिन लाग्नुभएको हो । कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उहाँले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो । यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जानेछ ।
सरकारका प्रवक्ता तथा मन्त्री शम्शेर राईले विश्वासको मत लिनकै लागि प्रदेशसभा आहृवान गरिएको भए पनि यसको मितिबारे मुख्यमन्त्रीले निर्णय गर्ने बताउनुभयो । ‘सम्भवतः विश्वासको मत लिनकै लागि बैठक बोलाइएको हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यस विषयमा मुख्यमन्त्रीले नै निर्णय लिने कुरा हो । तर, लाक्षणिक हिसाबले भन्नु पर्दा त्यही बुझ्दा हुन्छ ।’
माओवादीले पनि विश्वासको मत दिने
नेकपा (माओवादी केन्द्र) ले पनि कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कार्कीलाई पार्टीले विश्वासको मत दिने जानकारी दिनुभयो । यससँगै गठबन्धनबाट विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभएका कार्कीले राप्रपाबाहेकका सबै दलको विश्वासको मत पाउने सम्भावना बढेको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको सिंगो ३९ सांसद र कांग्रेसका विद्रोही आठ सांसदले समर्थन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीलाई दबाबमा राख्न गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन् । कांग्रेसका सांसद रहे पनि एमालेको योजनामा कोशीका मुख्यमन्त्री बन्नुभएका कार्कीलाई विश्वासको मत दिएर पुनः गठबन्धनतिरै ढल्काउने उद्देश्यअनुसार गठबन्धन दलहरूले विश्वासको मत दिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले लिने विश्वासको मतका लागि कांग्रेसले संस्थागत छलफल सुरु गरिसकेको छ । कार्कीले अन्य दलसँग छलफल र वार्ताका लागि कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई खटाउनुभएको छ । सोही अनुरूप गठबन्धन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासँग आजै औपचारिक छलफल हुने जनाइएको छ । गठबन्धन दलहरूले राप्रपासँग पनि छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने जनाएका छन् ।
सत्ता गठबन्धनको निर्णयविपरीत कार्की आफूसहित कांग्रेसका आठ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले आइतबार शपथ लिनुभएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले दिएको २६ गतेसम्मको समयमा कार्कीले एमालेसहितको समर्थनमा र इन्द्रबहादुर आङ्बोले गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो । दुईजनाको ४७–४७ सांसदको दाबी रहेपछि प्रदेश प्रमुखले शनिबार सांसदहरूको हस्ताक्षर सनाखत गराउनुभएको थियो । जसमा कार्की पक्षका ४७ सांसदले हस्ताक्षर सनाखत गराए । सोही आधारमा उहाँ मुख्यमन्त्री हुनुभयो भने आङ्बो सांसदको हस्ताक्षर सनाखत गराउनै जानुभएन ।
कोशी प्रदेशमा विकसित भएको राजनीतिपछि केन्द्रको सत्ता गठबन्धनमा पनि संकट आउने सम्भावना बढेपछि उक्त सम्भावनालाई निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कोशीमा विद्रोह गर्न लगाएका कांग्रेस नेता शेखर कोइरालाबीच गठबन्धन टिकाइराख्ने सहमति सार्वजनिक भयो । उक्त सहमतिले पुनः एमाले र कोइराला पक्षबीच अविश्वास र आशंका पैदा भयो । कोइरालाले सञ्चारमाध्यामलाई दिएको अन्तर्वार्तामा गठबन्धनसँग पनि मिलेर जान मुख्यमन्त्रीलाई भनेको बताउनुभएको छ । ‘मिलेर जाऔं । अहिले हामीले गठबन्धन तोड्नुहुँदैन भनेर उहाँलाई मैले भनेको छु । तर, के गर्नुहुन्छ । गर्ने त उहाँले हो नि ∕३९ जना एमालेका सांसदले साथ दिनुभएको छ । मैले चाहिँ गठबन्धन नतोड भनेको छु भन्न चाहिँ,’ कोइरालाले एक अन्तर्वार्तामा भन्नुभएको छ ।
कोइरालाले गरेको सहमति र यसखालका अभिव्यक्तिले एमालेलाई शंका जन्माएको छ भने कोइरालाले गरेको विद्रोहले गठबन्धनका नेताहरूलाई शंका जन्माएको छ । शंका र अविश्वास आइतबार मुख्यमन्त्रीले लिएको शपथग्रहण र मन्त्रीमण्डल विस्तारमा पनि देखिएको थियो । एमालेले आफ्ना तीनजनालाई पहिलो चरणमै मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । जसमा रामबहादुर रानासहित एकराज कार्की र सिर्जना राई हुनुहुन्थ्यो । तर, कार्कीले एमालेका तीनजना नियुक्त गर्ने भए कांग्रेसबाट पनि थप्छु भनेपछि उक्त कुरा रोकिएको थियो । देउवा, प्रचण्ड र कोइरालाले गरेको सहमति तथा एमालेले बनाएको मुख्यमन्त्री भएका कारण कार्कीलाई पनि आशंका र अविश्वास कायमै छ । त्यही भएर उहाँ तत्कालै विश्वासको मत लिन लागेको कार्की निकट स्रोत बताउँछ ।
प्रचण्ड, देउवा र शेखरबीच भएको सम्झौताको चिर्कटोप्रति गगन–विश्वको आपत्ति
नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता शेखर कोइरालाले बालुवाटारमा गरेको सम्झौताप्रति प्रश्न उठाउनुभएको छ । धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीसहित सोमबार साँझको बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा शनिबार तीन नेताबीच भएको ‘चिर्कटो सम्झौता’प्रति प्रश्न उठाउनुभएको हो । सभापति देउवाले कोशीमा विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राख्नुभएको थियो ।
उक्त बैठक अधिकांश समय कोशी घटनामै केन्द्रित रहेको थियो । ‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन् ?,’ महामन्त्रीद्वय गगन र विश्वको एकै स्वर थियो, ‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?’ सभापति देउवाले भने गठबन्धन जोगाउन सहमति गर्नुपर्ने अवस्था आइपरेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच