हाम्रो मुख्य राजनीतिक साथै आर्थिक समस्याको कारक भनेको नै पार्टीहरूका भ्रष्ट नेताहरूको व्यक्तिगत लाभमा मात्र लिप्त नीतिगत साथै आर्थिक भ्रष्टाचारबाट थिलथिलिएको राजनीति हो । सबै पार्टीहरूका भ्रष्ट नेतृत्वले व्यक्तिगत लाभका लागि गठबन्धन अर्थात् मिलीजुली तन्त्रका माध्यमले देशको प्रशासनिक र आर्थिक संयन्त्रहरूलाई भ्रष्टाचारको भुँमरीमा फनफनी घुमाएका छन् । सबै पार्टीका नेताहरू सार्वजनिक रूपमा भ्रष्टाचारविरोधी अभिव्यक्ति दिने र निर्लज्जताका साथ भित्रभित्रै भ्रष्टाचार कहाँ, कसरी गर्ने भन्ने अनुसन्धान गर्ने प्रवृत्ति र संस्कृति नै देशलाई अधोगतितिर लैजाने मुख्य कारण हुन् । भ्रष्टाचार र कुशासन तथा बेरोजगारीको दुष्चक्रबाट अहिले नेपाल र नेपाली जनता इतिहासमै सबैभन्दा धेरै प्रताडित भएको अवस्था हो भन्दा अन्यथा हुँदैन ।
भ्रष्टाचारको नकारात्मक प्रभाव विशेषतः निर्वाचनको टिकट वितरणमा निर्वाचनको परिणाममा मुखरित हुन्छ । नेतृत्वको भ्रष्ट आचरणका कारण पार्टीको निर्णायक तहमा हुने नेतृत्व निर्वाचनको टिकट वितरणमा आर्थिक लेनदेनमा लिप्त हुन्छन् । गणतन्त्रअघिको परिस्थितिमा यस्ता काम गोप्य हुन्थे, गणतन्त्रपछि टिकट वितरणमा, समानुपातिक नामको मनोमानी मनोनयन र संवैधानिक अंगहरूलगायत तमाम नियुक्ति नेताहरूले आर्थिक लेनदेन, नातावाद, कृपावादको आधारमा मात्रै गर्छन् भने नागरिक समानताको दुहाइ दिने वर्तमान प्रजातान्त्रिक पद्धतिको अर्थ के ? यो गम्भीर प्रश्नको उत्तर नेतृत्वले दिनसक्ने नैतिकता छ ?
हाम्रो निर्वाचन पद्धतिले अनैतिक नेतृत्वलाई विस्थापित गर्नेे अहिले सम्भावनै छैन । अब निर्वाचनरूपी नाटकको के अर्थ ? भ्रष्ट नेता परिवर्तन गर्न निर्वाचन अक्षम प्रमाणित भयो । अब नेतृत्व परिवर्तन कसरी हुन्छ ? नेतृत्व परिवर्तन भ्रष्टको सञ्जालले हुनै दिँदैन ।
जनताको विरोधको प्रवाह नै नगरिकन यहाँ टिकट वितरण, समानुपातिकमा मनोनयन, संवैधानिक अंगहरूको नियुक्तिमा मात्रै होइन सरुवा र बढुवाजस्ता तमाम विषयमा आर्थिक लेनदेन खुलम्खुला हुनेगर्छ । आवधिक निर्वाचन प्रजातान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष हो । त्यसका मूल्य र मान्यतालाई जहाँ भत्काइन्छ त्यस्तो परिस्थितिमा आवधिक निर्वाचनले भ्रष्ट र अनैतिकलाई शासन गर्ने अधिकारलाई नवीकरण गर्ने काम गर्छ । निर्वाचनले परिवर्तन ल्याउँछ भन्ने विश्वास नै जनतामा टुटेको अवस्थाको निर्वाचनमात्रै भ्रष्टबीचको प्रतिस्पर्धा हँुदो रहेछ । निर्वाचनले एउटा भ्रष्टलाई विस्थापित गरेर अर्को भ्रष्टलाई स्थापित गर्ने परम्पराको निरन्तरताका कारण अब जनतामा निर्वाचनप्रति न उत्साह छ न निर्वाचनले परिवर्तन ल्याउँछ भन्ने विश्वास नै ।
विगत पन्ध्र-बीस वर्षयता हाम्रो राजनीति भ्रष्टहरूको एकलौटी कृडास्थल भएको छ । भ्रष्टाचारविरुद्धको आवाज निरीह बनेको छ । एउटा भ्रष्टलाई विस्थापित गरेर अर्को भ्रष्टलाई स्थापित गर्ने कामबाहेक शासकीय सुधारमा, परिवर्तनमा, विकास र समृद्धिको क्षेत्रमा निर्वाचन परिणामले सिन्को भाँच्न सकेको छैन । अब निर्वाचन र निर्वाचन खर्चको उपादेयता के ? यो प्रश्न गम्भीर हुँदाहुँदै यसमा प्रवेश गर्ने आँट र साहस सबै पार्टीका कार्यकर्तामा नआउँदासम्म परिवर्तनको लाभ जनताले किमार्थ पाउँदैनन् ।
एउटा भ्रष्टको ठाउँमा अर्को भ्रष्टबाहेक स्वच्छ, निष्पक्ष र नैतिकवान व्यक्ति निर्वाचित हुनै नसक्ने अवस्थाको निर्वाचनको अब के अर्थ र के औचित्य भन्ने प्रश्नको उत्तर वर्तमान शासक र सत्ताले दिने नैतिकता गुमाएको छ । निर्वाचनमा पार्टीका नेताहरूले टिकट वितरणमा गर्ने अनियमितता कारण अब विकास, समृद्धि र सुशासन जस्ता शब्दहरूको उच्चारणसम्म गर्ने नैतिकता गुमाएका शासकबाट जनताले आशा गर्ने ठाउँ नै छैन । निमुखालाई न्याय भन्नेले निमुखाहरूलाई बारम्बार अन्याय गर्छ । गरिबलाई आय भन्नेले गरिबी निवारणको बजेट र सिर्जित लाभका पदहरूमा सधैं आँखा गाड्छ भने अब जनताले यस्ता स्वार्थी र ढाँटहरूलाई के आधारमा विश्वास गर्ने ? अहिले सत्तामा जो जान्छ उसले जनताबाट विश्वास गुमाएको छ ।
निर्वाचनको नाटक हुन्छ । स्वच्छ, नैतिकवान र सदाचारी उम्मेदवारले रिश्वत दिन चाहँदैन र सक्तैन । प्रायः योग्य उम्मेदवारसँग टिकटका लागि नेताहरूलाई चढाउने महँगो दक्षिणा हुँदैन । इमानदार, नैतिकवान र सदाचारी उम्मेदवारलाई उम्मेदवार बन्ने अवसर नै कुनै पनि पार्टीमा छैन । पार्टीले योग्य उम्मेदवार दिँदैन जनताले कसरी योग्य उम्मेदवार छान्ने ? पार्टी राजनीतिमा पार्टीको निर्णायक तहमा अनैतिकहरूको कब्जा भएपछि प्रजातान्त्रिक शासन व्यवहारमा कसरी रूपान्तरण हुन्छ । झुक्किएर केही सीमित नैतिक र चारित्रिक साथै शैक्षिक योग्यता भएका व्यक्तिहरूले टिकट पाए पनि पार्टीभित्रैको भ्रष्टहरूको सञ्जालले उनीहरूलाई पराजित गर्न लगानी गर्छन् । पहिला टिकट नै पाउँदैनन् । पाइहाले पनि भ्रष्टहरूको संगठनात्मक सञ्जालले असल मानिसलाई प्रवेश नै गर्न नदिने अवस्था छ ।
हाम्रो निर्वाचन पद्धतिले अनैतिक नेतृत्वलाई विस्थापित गर्नेे अहिले सम्भावनै छैन । अब निर्वाचनरूपी नाटकको के अर्थ ? भ्रष्ट नेता परिवर्तन गर्न निर्वाचन अक्षम प्रमाणित भयो । अब नेतृत्व परिवर्तन कसरी हुन्छ ? हामी नेतृत्व परिवर्तनका कुरा गर्छौं । त्यो भ्रष्टहरूको सञ्जालले हुनै दिँदैन । त्यसैको परिणाम हो सबै ठूला र सरकार बनाउने हैसियत भएका पार्टीहरूमा नेतृत्व गर्ने फेरिँदैनन् । उनीहरू वंशानुगत शासक जस्तै तीन-चार दशकसम्म पार्टीको नेतृत्व गर्दै आएका छन् । संसदीय व्यवस्थामा सरकार गठनमा प्रमुख भूमिका पार्टी नेतृत्वको हुन्छ । त्यसैले सबै पुराना भ्रष्टहरूको रजगज पार्टीमा भइरहेको वर्तमान अवस्थामा विकास र समृद्धि जस्ता विषय जनता झुक्याउने अस्त्र भएका छन् ।
अब निर्वाचनबाट नयाँ चरित्रवान नेतृत्व आउँदैन । निर्वाचनले शासन संयन्त्रमा सकारात्मक परिवर्तन दिन सक्दैन । यो दुर्भाग्यपूर्ण परिस्थितिको सिकार नेपाली राजनीति कहिलेसम्म हुने ? यहाँ पार्टीरूपी संयन्त्र भ्रष्टहरूको कबच बनेको छ । पार्टीको निर्णायक तहमा सबै भ्रष्ट छन् । प्रायः सबै निर्णय भ्रष्टहरूका लागि अनुकूल हुन्छन् किनकि निर्णायक तहमा सबै पार्टीहरूमा भ्रष्टहरूकै हैकम छ । सबै पार्टीहरूमा निर्वाचनको टिकट भ्रष्टले नै वितरण गर्ने भएकोले भ्रष्टले मात्रै टिकट पाउँछन् । त्यसैले निर्वाचित हुने अवसर पनि भ्रष्टहरूले मात्रै पाउँछन् किनकि भ्रष्टहरूको संरक्षण भ्रष्टले नगरिकन भ्रष्टाचारको वातावरण बन्न सक्दैन । भ्रष्टहरू सबै जनताको नाममा, निर्वाचनको नाममा, स्वतन्त्रताको नाममा भ्रष्टाचारको वातावरण बनाउन तल्लीन भएको अवस्थामा जनताका चाहाना र आकांक्षा अलपत्र हुने विषय खासै अनौठो हुँदैन ।
यसरी भ्रष्टहरूको उपस्थिति निर्वाचनबाट हुने भएकाले यत्रतत्र सर्वत्र निर्वाचित र मनोनित सबै भ्रष्ट नै हुने विषय अनौठो तर यथार्थ विषय हो । भ्रष्ट नेताहरूको इसारा र आदेशमा देशको प्रशासन चल्छ । निर्णय कार्यान्वयनमा सबै भ्रष्टको हालिमुहाली हुने हुँदा वर्तमान संरचनाभित्र भ्रष्टाचार नियन्त्रणको विषयसम्म उच्चारण गर्ने नैतिकता कुनै पार्टीका नेताहरूमा छैन् । अहिल भ्रष्टाचार नियन्त्रण होइन विस्तारको योजनामा सरकार छ भन्दा कुनै अत्युक्ति हुँदैन । भ्रष्टहरूको फलिफापको समय भएकाले जताततै भ्रष्टाचार र अनियमितताको बिगबिगीले देश र नागरिक पिल्सिएका छन् ।
सबै भ्रष्टाचारका नियामक संयन्त्रलाई भ्रष्टहरूले बेकम्मा बनाएका छन् । तिनका प्रमुखहरू, नेताहरूका, चौकीदारबाहेक अरू नियुक्त हुने सम्भावना छैन । अझ असुलीका आधारमा समेत उच्च स्तरमा नियुक्ति हुने भएकाले ती सबै उच्च पदमा नियुक्ति पाउने भाग्यमानी नियुक्तिलगत्तै नेताहरूलाई बुझाएको रकमको असुलीमा लाग्छन् । यस्तो अवस्थामा जनता भ्रष्टहरूको विपक्षमा एकताबद्ध नहुने परिस्थिति निर्माण गर्न पार्टीका भ्रष्ट सफल हुने अवस्था नै देश र देशवासीको दुर्भाग्यको कारण हो । जहाँको राजनीतिमा भ्रष्टहरू नेतृत्वमा हुन्छन् त्यहाँ भ्रष्टाचार नियन्त्रणका विषय निरर्थक प्रमाणित हुन्छन् । भ्रष्टहरूबाट भ्रष्टाचार नियन्त्रण भएको प्रमाण संसारको इतिहासमा कतै पाइँदैन ।
तर, हामी भने भ्रष्टबाट भ्रष्टाचार अन्त्य हुन्छ भन्ने विश्वास गर्दागर्दै थाकिसक्यौं । यहाँ कुनै पार्टीको कुनै नेता भ्रष्टाचार अन्त्य गर्ने जबर्जस्त नाराका साथ सत्तामा आउँछ । कतै यसले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन दिन्छ कि भन्ने झिने आशा, विश्वास हामीमा हुन्छ तर भ्रष्टाचार नियन्त्रणको जबर्जस्त नाराको नाइके नै भित्रभित्रै भ्रष्टाचारको नयाँ शैली, तरिका अपनाउँदै अघिल्लोभन्दा अझ भ्रष्ट र अनैतिक भएको प्रमाणित गर्दै सत्ताबाट बाहिरिन्छ । फेरि अर्कोले भ्रष्टाचार नियन्त्रणको नयाँ नारा घन्काउँदै सत्तामा आउँछ र फेरि त्यस्तै भ्रष्टाचारको आहालमा भासिन्छ । यो क्रम हामीले शताब्दीकै हाराहारीमा भोग्दै आएका छौं ।
अहिले शासन सबै भ्रष्टले एकलौटी गरेका कारण भ्रष्टाचार र शासनबीच सधैं सुमधुरसम्बन्ध हुन्छ भन्ने निष्कर्षमा जनता पुगेका कारण भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नेमा कसैको विश्वास छैन । यसो हुनुभनेको भ्रष्ट र भ्रष्टाचारको शासनमा बिगबिगी हुन्छ भन्ने निश्चित हुनु हो ।
भ्रष्टबीच आलोपालो शासन गर्ने र भ्रष्टलाई शासनबाट सधैं भ्रष्टले नै विस्थापित गर्ने नाटक हाम्रो आवधिक निर्वाचनको परिणाम हो । यहाँ व्यक्ति फेरिन्छ, पार्टी फेरिन्छ, पद्धति बारम्बार फेरिन्छ तर भ्रष्टाचार गर्ने शासकलाई विस्थापित गरेर भ्रष्टाचार नगर्ने शासक अहिलेसम्म जन्मेन । भ्रष्टाचारीलाई विस्थापित गर्ने सदाचारी कहिल्यै भेटिएन । अब त हामीह केमा विश्वस्त भएका छौं भने शासक सबै भ्रष्ट हुन्छन् । शासकीय योग्यता र विशेषता भनेको नै भ्रष्टाचार गर्ने योग्यता हो ।
सधैं निर्वाचनमा भ्रष्टबीच प्रतिस्पर्धा हुन्छ । एउटा भ्रष्टलाई अर्को भ्रष्टले निर्वाचनमा पराजित गर्छ । निर्वाचनमा विजयी हुने भ्रष्टले निर्वाध भ्रष्टाचार गर्छ । त्यसैले नेतृत्व र भ्रष्टाचार हाम्रा लागि पर्यायवाची शब्द भएको छ । अब त भ्रष्टाचार नियन्त्रण गर्छु भनेर कसैले भन्छ भने ऊ भ्रष्टाचारको नयाँ योजना र कार्यक्रमका साथ आएको छ भन्ने आमबुझाइ भएकाले भ्रष्टाचार नियन्त्रण हुन्छ र देशमा सुशासन कायम हुन्छ भन्ने विश्वास आकाश भएको छ । विकास, समृद्धि, सुशासनविरोधी तत्व भनेको नै भ्रष्ट र भ्रष्टाचार हो ।
अहिले शासन सबै भ्रष्टहरूले गरेका कारण भ्रष्टाचार र शासनबीच सधैं सुमधुरसम्बन्ध हुन्छ भन्ने निष्कर्षमा जनता पुगेकाले भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नेमा कसैको विश्वास छैन । भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने विश्वास नहुनु भनेको भ्रष्ट र भ्रष्टाचारको शासनमा बिगबिगी हुनु हो । नेपालको राजनीतिमा दशकौंदेखि दुई–चार पार्टीहरूका दुईचार नेताहरूले सत्ताको आलोपालो गर्छन् । सत्ताको आलोपालो गर्नेहरूले आलोपालो भ्रष्टाचार गर्नमै नेताहरू अभ्यस्त छन् । सबै भ्रष्टबीच सत्ता आलोपालो हुने भएकाले भ्रष्टाचार नियन्त्रणका निकायमा नियुक्त हुने पदाधिकारी सबै तिनै भ्रष्टद्वारा नियुक्त हुने हँुदा उनीहरूमा भ्रष्टलाई कारबाही गर्ने हिम्मत हुँदैन ।
तसर्थ अहिले भ्रष्टाचार चुलिएको छ । देश गरिबी, अभाव, बेरोजगारी र कुशासनले थिल्थिलिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा सरकारका अधिकारी र संवैधानिक अंगको हो । तिनीहरूको नियुक्ति भ्रष्टबाट हुने भएकाले आफैंलाई नियुक्ति दिने भ्रष्टलाई कारबाही गर्ने अवस्था नभएको हुँदा अहिले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई भ्रष्ट नेतृत्वले पंगु बनाएका छन् । जहाँ नियन्त्रण गर्ने निकाय पंगु हुन्छन् त्यहाँ भ्रष्टाचार नियन्त्रणका विषय निरर्थक प्रमाणित हुन्छन् भन्ने राम्रो उदाहरण नेपाल बनेको छ । नैतिकता र भ्रष्टाचारको विपरीतार्थक सम्बन्ध हुन्छ । नैतिकहरू भ्रष्ट हुँदैनन् र नैतिकता नहुनेलाई भ्रष्टाचार नगरिकन हुँदन ।
नेपालको राजनीतिक नेतृत्व अनैतिक र भ्रष्ट भएकाले विविध शैलीमा भ्रष्टाचार हुनेगरेको जगजाहेर छ । भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण विषय बनेको छ भन्नुभन्दा राजनीतिमा भ्रष्टको हालिमुहाली नेपाली राजनीतिको चुनौती हो भन्दा पक्कै अत्युक्ति हुनेछैन । भ्रष्टाचारको विरुद्धमा बोल्ने नैतिकतासम्म नभएको राजनीतिक नेतृत्वबाट भ्रष्टाचार नियन्त्रण हुन्छ । विकास र समृद्धि हुन्छ भन्ने भ्रमबाट हामी कहिले मुक्त हुने विषय नै भ्रष्टाचार नियन्त्रणभन्दा मुख्य भएको छ । (अग्रहरी निवास, कोटिया बजार, उत्तरप्रदेश, भारत)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच