गुल्मीका रामबहादुरको बुटवलमा शंकास्पद मृत्यू , हत्या भएको परिवारको आशंका

अनुसन्धानमा प्रहरीले चासो नदेखाएको परिवारको गुनासो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । आठ महिनाअघि शंकास्पद रुपले मृत अवस्थामा फेला परेका गुल्मीका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको भन्दै परिवारले गुनासो गरेका छन् । गत फागुन २४ गते राती बुटवल-६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रुपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पिडित परिवारले गुनासो गरेका हुन् ।

होटेल तथा रेष्टुरेन्ट ब्यबसायी रामबहादुरको बुटवल-६ पुरानो बुटवल चलचित्र हलको पछाडी तिरबाट दिपनगर डेरातर्फ जाने क्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रुपमा मृत फेला परेको भए पनि प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले चिन्ता ब्यक्त गर्नु भएको छ। मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरुसँग कुरा गर्दै घटना घटेको आठ महिना बिति सक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताउनु भयो ।

पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घर भई बिगत ६ बर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ बर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए ।

रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगए पछि अर्को दिन बिहानै खोज तलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडीको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।

एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठुलो बिपत्ती परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै उनले आपत्ती जनाएकी जनाउनु भयो । उहाँले भन्नुभयाे -'सिसिटीभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लादै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरि फालेको जस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।'

पीडित श्रीमती रानाले अगाडी भनिन्-हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हाे स्थानियले थाहा पाउनु पर्ने हो, प्रहरीले पनि थाहा पाउनु पर्ने हो, अनुसन्धानका लागि केहीआधार र प्रमाणहरु हुँदाहुँदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ, अव त हामीले न्याय पाउदैनौ कि जस्तो लाग्न थालेको छ । आफुहरु गरिब र असहाय भएका कारण बोलीदिने मान्छे कोही नभएका कारण अन्यायमा परेको उहाँको भनाई छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपि दानबहादुर थापाले भने घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । डिएसपी थापाका अनुसार प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने बताउनु भयाे। अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने दावीगर्दै शंकाश्पद मान्छेहरुलाई सोधपुछ गरिसकेको बताउनु भयो ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी खगेन्द्र पौडेलले व्यवसायीमाथि अन्याय, अपराध र आक्रमण हुँदा राज्यपक्ष गम्भिर नहुनु दुखःद कुरा भएको बताउनु भयो । यथासिघ्र अनुसन्धानलाई तिब्र पार्न प्रहरीलाई आग्रह गर्दै पीडित परिवारलाई राहतको ब्यवस्था गर्न पनि सरकारसँग उहाँले आग्रह गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?