✍️ रामकृष्ण ढकाल
पिता कमलाकान्त भट्टराई र माता दमयन्तीका ज्येष्ठ सन्तानका रूपमा तनहूँ जिल्लाको केशवटार सुखौरामा केशवराज भट्टराईको जन्म भएको हो । उहाँले माध्यमिक तहको शिक्षा नेपाल मा वि रत्ननगरबाट, त्रिविबाट शिक्षा स्नातक र सम्पूर्णानन्द सं.वि.वि. वाराणसीबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । असाध्यै मृदुभाषी, लगनशील र कर्तव्यपरायण केशवराज भट्टराई साहित्य-सन्दर्भमा ‘आमोदी’ उपनाम प्रयोग गर्न रुचाउनुहुन्छ ।
उहाँका हालसम्म प्रकाशित कृतिहरू हिमाल रुन्छ (उपन्यास, २०४७ सहलेखन), अरण्य रोदन (खण्डकाव्य, २०५४), सत्ता-साधन ( मुक्तकसङ्ग्रह, २०५८), गजल दीपिका (गजलकाव्य, २०६०, सहलेखन), कर्मभूमि (ऐतिहासिक खण्डकाव्य, २०६०), बहर वाटिका (गजलसिद्धान्त र प्रयोग, २०६९), जलतरङ्ग (गजलकाव्य २०६०, दोस्रो संस्क. २०७२, सिद्धान्त र प्रयोगमा आधारित), प्लिज ! म ऐले टेन्सनमा छु (निबन्धसङ्ग्रह, २०७१), उषा अनिरुद्ध (महाकाव्य, २०७४), कल्पना आलोक (कवितासङ्ग्रह, २०७५), अवलोकन र अनुभूति (समालोचना सङ्ग्रह, २०७६) र आँखामा युगबिम्ब (काव्यत्रयी, २०७७), राष्ट्रिय बहरमाला (संयुक्त गजलसङ्ग्रह भाग १, २०७६ र भाग-२, २०७९) उल्लेख्य मानिन्छन् ।
पूर्वी चितवनमा समालोचकीय पद्धतिमा पूर्वीय सैद्धान्तिक दृष्टिकोणबाट दरो लेखनी चलाउनेहरूमा उहाँ निकै अगाडि हुनुहुन्छ । त्यसैले फुर्सद मिलाएर कृतिलाई सर्र हेरेँ, रङ्गीन र चिल्लो पश्चाग्रावरणले सजिएको २४२ पृष्ठको हुनुका साथै प्रकाशकीय शुभकामना, लेखकीय आत्मनिवेदन अनि कृतिकारको वैयक्तिक विवरणले सजिएको रहेछ ।
प्रकाशोन्मुख कृतिहरूमा ‘मत्स्यगन्धा’ महाकाव्य (१०१ वटा छन्दको प्रयोग), ‘गजलसिद्धान्त र समालोचना’, ‘गजल सङ्ग्रह’ (२०० भन्दा बढी बहरको प्रयोग), ‘समालोचना सङ्ग्रह’ र ‘कथा सङ्ग्रह’ रहेका देखिन्छन् । केही दिनअघि नेपाल माविको वरपर अलमलिरहेका बेला चर्चित साहित्यकार आदरणीय गुरु केशवराज आमोदीले आफ्नो अमूल्य समालोचनात्मक कृति मेरो हातमा स्नेहपूर्वक थमाउनुभएको थियो । कृतिको नामले म आकर्षित भएँ । कारण कृतिको नामकरण गर्दा जन्मसमय कृतिका नक्षत्रको पहिलो पाउ मेष राशिअन्तर्गत नौ अक्षरमध्ये ‘अ’ बाट जुरेको रहेछ- ‘अवलोकन र अनुभूति’ । कृतिको थर भनूँ या गोत्र त्यो चाँहि समालोचनासङ्ग्रह र जन्मसमय २०७६ रहेछ ।
पूर्वी चितवनमा समालोचकीय पद्धतिमा पूर्वीय सैद्धान्तिक दृष्टिकोणबाट दरो लेखनी चलाउनेहरूमा उहाँ निकै अगाडि हुनुहुन्छ । त्यसैले फुर्सद मिलाएर कृतिलाई सर्र हेरेँ, रङ्गीन र चिल्लो पश्चाग्रावरणले सजिएको २४२ पृष्ठको हुनुका साथै प्रकाशकीय शुभकामना, लेखकीय आत्मनिवेदन अनि कृतिकारको वैयक्तिक विवरणले सजिएको रहेछ । विषयवस्तुका दृष्टिले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध विधाअन्तर्गत कवितासङ्ग्रह, मुक्तकसङ्ग्रह, गजलसङ्ग्रह, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, खण्डकाव्य र महाकाव्यका २९ जना यशश्वी स्रष्टाहरू र तिनका लेखनीले कृतिमार्फत प्रस्फुटन गरिदिने सन्देश, शैली र भाव आदिका बारेमा कवि एवम् समालोचक आमोदीले निकै परिश्रमपूर्वक अध्ययन र शोध गरी परिस्कृत, परिमार्जित र सुललित शैलीमा विशेष दखल भएका कुनै शल्यचिकित्सकले झैँ समीक्षात्मक चिरफार गर्नुभएकोले समालोचनाका अनुसन्धाता र अध्येताहरूका लागि गुरुग्रन्थ बन्न गएको छ ।
विसं २०१३ साल ज्येष्ठ २० गते तनहूँको सुखौरामा जन्मनुभएका गजलगुरु एवम् महाकाव्यकार आमोदीले आफ्नै जन्म-जिल्लाका नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यबाट श्रीगणेश गरी राष्ट्रकवि माधव घिमिरे, फ्रायडवादी कथाकार बीपी कोइराला, प्रसाद-गुण-माधुर्यका कवि गोविन्दराज विनोदी, प्रगतिवादी कवि इन्द्रप्रसाद रेग्मी, ज्योतिर्विद् तथा समालोचक कपिल अज्ञात, प्रणय-गजलका साधक कमल अर्याल, विद्रोही कवि किसान प्रेमी, बहुप्रतिभाशाली महाकाव्यकार कृष्णादेवी शर्मा श्रेष्ठ, प्रणय-सौन्दर्यचेता गीता सेढाई कँडेल, गजलका अभियन्ता ऋषिप्रसाद लामिछाने उर्फ गोर्खे साइँलो, छान्दस् कवि छविकिरण वली, प्रखर समालोचक डा.धनेश्वर भट्टराई, प्रसिद्ध कवि प्रकाश चापागाई, गजलबाट आगो ओकल्ने गजलकार प्रभाकर पण्डित, प्रगतिवादी चिन्तक महेन्द्रप्रकाश शाही, गजलकार मीरा तिमल्सिना, स्वच्छन्दतावादी कवि रामहरि शर्मा शराह हुँदै सौन्दर्यवादी कवि हुँसैन खाँसम्मका कृतित्व, व्यक्तित्व तथा सिर्जनाका विशेषता, बिम्बप्रयोग, भाव सम्प्रेषणीयताप्रति विस्तारपूर्वक विश्लेषण गर्नुभएको छ ।
ती उन्तीसै जना विशिष्ट साहित्य-साधकका गहन कृतिहरुको गहिरो अध्ययन गरी तयार पारिएको कृतिबाट केही पद्य/अन्तरा/वाक्य/वाक्यांश र श्लोकहरूसहित चुँदीखोलाको सङ्लो र निर्मल जल सेपाबगैंचाको नजिकैबाट कलकल बगेजस्तै ‘अवलोकन र अनुभूति’ मा वैचारिक चिरनूतन-धाराका मोहनीको आकर्षणले पाठकको हृदय खिचिरहनु ग्रन्थको उपलब्धि हो । यो पङ्क्तिकार माध्यमिक तहको शिक्षा आर्जन गर्ने क्रममा आख्यानकार तथा निबन्धकार केशवराज आमोदीको शिष्यको रूपमा रहे पनि विगतका दुईदशक वरपरको समय सान्निध्यविहीन भई हाल पुनः आदरणीय गुरुको स्नेहिल छहारी पाउनु मेरो लागि आत्मसन्तोषमात्र नभई गौरवको विषय पनि हो । मैले कतै चुट्किला पढेको थिएँ ।
एउटा केटोले आफू खितखित हाँस्दै नजिकैको दाजुलाई एकहातले काउकुती लगाउँदै गर्दा दाजुले सोधेछ- ‘खुरुखुरु आफ्नो पाढ नपढेर किन छुसछुस गरिराछस् ?’ भाइले ‘हाँसौँ र हँसाऔँ’ भन्ने एउटा हास्य पत्रिका देखाउँदै भनेछ ‘हेर्नुस् न दाजु ! ‘हाँसौं र हँसाऔँ’ लेखेकोले मैले पनि त्यही गरेको नि !’ भनेझैँ ‘पढौँ र पढाऔँ’ को मीठो अनुभूति दिने कोसिस आमोदीको ‘अवलोकन र अनुभूति’ एक-दुई हरफ पढेपछि पूरै नपढी छाड्न मन नमान्ने रहेछ । त्यसो त म न साहित्यकार न समलोचक नै हुँ । मलाई छन्द, रस अलङ्गार आदिका बारेमा त्यति जानकारी पनि छैन । तैपनि पढेपछि साहित्यको सामान्य पाठकको हैसियतले एक-दुई कुराहरू राख्दैछु ।
केशवराज आमोदीको समीक्षित कृति ‘अवलोकन र अनुभूति’ मा राष्ट्र, राष्ट्रियता, मानवता, स्वाधीनतालगायत राष्ट्रको अमूल्य स्रोतसाधन, प्राकृतिक सम्पदा, सांस्कृतिक वैभवप्रभृतिका विविध विषयमा विधागत सैद्धान्तिक अभिलक्षणाजन्य धारणा अभिव्यक्त गरी रौंचिरा समीक्षा गर्नसक्ने उहाँको समालोचकीय प्रौढत्व राम्ररी परिलक्षित भएको छ ।
एकदर्जनभन्दा बढी गहन सिर्जनाहरू कविता, गजल, उपन्यास, निबन्ध, खण्डकाव्य, महाकाव्य र समालोचनासम्बन्धी कृतिहरू लेखी नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित आमोदीका अन्य कृतिहरूजस्तै समीक्ष्य कृतिको विहङ्गावलोकन गर्दा नेपाली साहित्यका सर्वोत्कृष्ट कृतिहरूका लहरमध्येकै एउटा कृतिभन्दा अत्युक्ति नहोला । उहाँका कृतिमा पाइने अभिव्यक्तिगत काव्यिक लाक्षणिकता, बेजोड दार्शनिकता र सटीक निष्कर्ष कथनका केही हृदयस्पर्शी पङ्क्तिहरू प्रस्तुत गर्दछु–‘गजलमा कल्पनाको रङ्ग भरिँदैन । क्यामराले फोटो खिच्दा कृत्रिमतालाई स्पर्श नगरेझैँ गजलकारले पनि अयथार्थ र कृत्रिमतालाई गजलमा स्थान दिंदैन ।’ अवलोकन र अनुभूति, पृष्ठ-७५ पैलो अनुच्छेदबाट ।
‘उनी सहज खालका बिम्ब, प्रतीक, उपमा र उत्प्रेक्षाका सहज सुभाषित पद्यावलीहरू, अमरसूक्तिहरू, अविस्मरणीय उखानहरू, घोचक रोचक र मर्मस्पर्शी वाग्धाराका माध्यमबाट गहनभाव सम्प्रेषणीयतातिर केन्द्रित भई जनरुचिअनुकूलको भाषिक विन्यासको प्रयुक्तियुक्त प्रखर समालोचकका रूपमा परिचित कपिल अज्ञात साधनातिर उन्मुख प्रगतिगामी काव्यिक यात्री हुन् ।’ ऐ.पृ. ४० (निर्भीक समालोचक कपिल अज्ञातका सन्दर्ममा) । साहित्यकार समाजको सचेतक अगुवा हो, पथ-प्रदर्शक पनि हो । ऊ कहिले मौनता साधेर लेखनीलाई स्थिर राख्न सक्दैन । कविले समाजलाई बिउँझाउँछ, क्रान्तिको शङ्खघोष गर्छ र जनतालाई पराधीनताबाट मुक्त हुने प्रेरणा प्रदान गर्दछ । राष्ट्रिय चेतनाको आलोक छर्दछ र राष्ट्रलाई अपरिजेय गति प्रदान गर्दछ ।’ ऐ., पृ.१८६, च.अ.(छन्दमर्मज्ञ लोकनाथ खराल सन्दर्भमा)
‘अलिकति मायाप्रीति नेपाली जनतामाथि, अलिकति मायाप्रीति राष्ट्र र राष्ट्रियतामाथि, अलिकति मायाप्रीति आफ्नै संस्कार र संस्कृतिमाथि, अलिकति मायाप्रीति लोकतन्त्रमाथि, अलिकति मायाप्रीति जनजीविकामाथि, अलिकति मायाप्रीति हक अधिकारमाथि, अलिकति मायाप्रीति स्वतन्त्रता र मानवमुक्तिमाथि साँच्न सकियो भनेमात्रै मानवचोला सार्थक होला होइन र ?’ ऐ., पृ. १४५ (युसुफदिन मियाँ पाल्पालीका सन्दर्भमा) । यसरी निरूपण गरी हेर्दा गजलगुरु, समालोचक एवम् महाकाव्यकार केशवराज आमोदीको समीक्षित कृति ‘अवलोकन र अनुभूति’ (समालोचना संग्रह-२०७६) मा काव्यिक विश्लेषणसहित राष्ट्र, राष्ट्रियता, मानवता, स्वाधीनतालगायत राष्ट्रको अमूल्य स्रोतसाधन, प्राकृतिक सम्पदा, सांस्कृतिक वैभवप्रभृतिका विविध विषयमा विधागत सैद्धान्तिक अभिलक्षणाजन्य धारणा अभिव्यक्त गरी रौंचिरा समीक्षा गर्नसक्ने केशवराज आमोदीको समालोचकीय प्रौढत्व राम्ररी परिलक्षित भएको छ । उहाँका यस्तै स्तरीय र सुन्दर कृतिहरू फेरिफेरि पनि पढ्न पाइयोस् भन्ने आशा राख्दै बिदा हुन्छु ।
रनपा-२, टाँडी, चितवन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच