संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छ : सांसद दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको हो । उहाँले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताउनु भयो । उहाँले संसद जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताउनु भयो । सांसद दाहालले संसदलाई कुरा गर्ने थलोको रुपमा नभई काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसद जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो । कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ । हामीले पुरानो सोँच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता हामीले पूरा गर्न सक्दैनौँ । हामीले पुराना नीति, योजना र कार्यक्रम बजेटबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सकिन्न । अहिले देखिएको आर्थिक संकट हामीले पैदा गरेको आर्थिक संकट होइन । केही हाम्रा आन्तरिक कमजोरी, आन्तरिक व्यवस्थापन हामीले ठिक ढंगले गर्न नसक्दा पैदा भएको आर्थिक संकट र कोभिड १९ र रुस, युक्रेन युद्धसँग सम्बन्धित आर्थिक संकट । तर यो आर्थिक संकट, आर्थिक चुनौतीको समस्या समाधान हामी सबैले मिलेर गर्नुपर्छ । हाम्रो बीचमा शंकाको सम्बन्धलाई विश्वासको सम्बन्धमा बदल्नुपर्छ ।’

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिवद्धता गरे अनुरुप नै चलेको बताउनु भयो । उहाँले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उहाँको भनाई छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?