शबरी प्रसिद्ध साहित्यकार बलदेव मजगैयाँद्वारा लेखिएको पछिल्लो उपन्यास हो । पौराणिक मिथक पात्र शबरीको चरित्र बिम्बमा समसामयिक जीवनको यथार्थलाई समेटेर तयार गरिएको यो उपन्यास जातीय समस्यालाई मुख्य विषय बनाइएको छ । मुलुकको संविधान र कानुनमा छुवाछुत एवम् जातपातका आधारमा समाजका सदस्यहरूमा भेदभाव हुन नहुने अनि जातीयतालाई आधार बनाएर कुनै पनि व्यवहार गर्न नपाइने व्यवस्था भएर पनि सदियौंदेखि समाजमा विद्यमान छुवाछुतजस्तो कुप्रथाले जरा गाडेर रहेको अवस्थाप्रति उपन्यासले गम्भीर असहमति जनाएको छ । कथित धर्म, संस्कार र प्रचलनका नाममा भोगिँदै आएको जातीय दुव्र्यवहारलाई विषय बनाएर सामाजिक परिवर्तनको नयाँ ढोका उघार्ने काम उपन्यासले गरेको छ ।
वैदिक सनातन परम्परामा वर्णाश्रम व्यवस्थाका कुरा गरिएको छ । मानिसलाई कर्मका आधारमा ब्राहृमण, क्षत्रीय, वैश्य र शूद्र गरी चार वर्णमा विभाजन गरिएको छ । तर यो वर्णविभाजनमा जातीय भेदभाव र उपेक्षाको कुरा उल्लेख छैन । जातिगत विभाजनको आधार भनी व्याख्या गरिएको वेदको मन्त्रको आशय शरीरको कर्ममय विभाजन हो, जातिगत विभाजन होइन । बृहदारण्यक उपनिषद्मा भनिएको छ आत्मा समस्त जीवधारी प्राणीको हृदयमा विद्यमान हुन्छ । माथि ब्रहृमदेखि नर कूलसम्म व्यक्तित्वको भिन्नभिन्न श्रेणी भनेको एउटै परमसत्ताको आंशिक प्रकाश हो । सृष्टि रचनाको यही वैदिक मान्यतालाई नै अनुसरण गर्ने उत्तरवर्ती स्मृति शास्त्रहरूले यसलाई आफ्नो अनुकूल व्याख्या गरेका छन् ।
शबरीको त्यही चरित्र बिम्बलाई समकालीन समयकी एउटी अछूत कन्या शबरीमा रूपान्तरण गराएर उपन्यासमा नयाँ विषयको उपस्थापन गरिएको छ । नेपालको हकमा कानुनतः मुलुकबाट छुवाछूत एवं जातपातको अन्त्य भएको साठी वर्षपछि पनि जातिप्रथाले अहिलेसम्म समाजमा गम्भीर प्रभाव पारिरहेकै छ ।
शबरी उपन्यास यही जातीय समस्यामा परेर सङ्घर्षपूर्ण जीवन बाँच्न परेका व्यक्तिहरूको पीडामा आधारित छ । परम्परागत अन्धविश्वास र प्रचलनलाई सर्वोपरी ठानेर मानिसले मानिसमाथि गर्ने भेदभावको ज्यादै नमिठो, ज्यादै अशोभनीय कर्मको दृष्टान्त दिएर जातीय भेदभावको उन्मूलनको निम्ति सन्देश प्रसारण गरिएको यो उपन्यास मानवीय अस्तित्व संरक्षणको एउटा गहकिलो रचना बन्न पुगेको छ । उपन्यासले पौराणिक पात्र शबरीलाई बिम्ब बनाएको छ । त्रेता युगकी शबरी जसलाई मानवतावादी पात्र मानिएको छ । शबरीलाई भिल्ल नारी मानिन्छ । रामायणमा भगवान् रामचन्द्रकी अनन्य भक्तको रूपमा चिनाइएकी शबरीलाई शूद्र जातकी तर सहृदयी नारी मानिएको छ ।
तिनै नारी जसले पर्यावरणीय सुरक्षा र पशुपक्षी रक्षाको उद्देश्यले आजीवन अविवाहित रहने प्रतिज्ञा गरिन् । तिनै शबरीलाई आफ्नो जातकी आदर्श नारी मानेर तिनकै मन्दिर स्थापना गरी शबरी मातालाई कुलदेवी मान्दै आएको भनी उपन्यासमा एउटा नयाँ सत्यको उद्घाटन गरिएको छ । भिल्लहरूको थातथलो वनजङ्गल भएकाले शबरी पनि वनदेवीको रूपमा परिचित छन् र भगवान् रामलाई शबरीले जङ्गलमै जुठा बयर खान दिएकी थिइन् । मानवीय समवेदना र प्रेमका प्रतिमूर्ति भगवान् रामले शबरीले दिएको जुठो बयर कुनै घीन नमानेर श्रद्धापूर्वक खाएका थिए ।
रामायणमा शबरी र रामको भक्ति प्रसङ्गबाट पनि मानिस, ठूलो हृदयको प्रेमले, आस्थाले र निष्ठाले हुन्छ जातले हुँदैन भन्ने सन्देश प्रसारण गरिएको छ । साथै तत्कालीन कट्टर परम्पराका अनुयायी मर्यादा पुरुषोत्तम रामले त्यो युगमा भिल्लीनी, शूद्र जातकी शबरीलाई जातीयताको प्रश्न नउठाएर सहर्ष उनले दिएको त्यही पनि जुठो बयर खाएर मानवीय भावनाको उच्च सम्मान गरेका छन् । भगवान् रामचन्द्रले समेत आस्थाले हेरेकी तिनै शबरीलाई यस उपन्यासमा कथित जातीय भेदभावको विपक्षमा उभिनको निम्ति प्रेरणापद नारीको बिम्ब बनाएर पौराणिक प्रसङ्गको पुनर्पाठ गरी आजको समाजमा अवतरण गराइएको छ ।
शबरीको त्यही चरित्रबिम्बलाई समकालीन समयकी एउटी अछूत कन्या शबरीमा रूपान्तरण गराएर उपन्यासमा नयाँ विषयको उपस्थापन गरिएको छ । नेपालको हकमा कानुनतः मुलुकबाट छुवाछूत एवं जातपातको अन्त्य भएको साठी वर्षपछि पनि जातिप्रथाले अहिलेसम्म समाजमा गम्भीर प्रभाव पारिरहेकै छ । व्यावहारिक रूपमा मानिसले यसलाई सहज रूपले अँगाल्न सकेको अवस्था छैन । सामाजिक विकृतिको यो भयावह अवस्थाको समाधानको एउटै विकल्प जनचेतना हो । साथै समाजका सम्भ्रान्त वर्गबाट यस प्रकारको भेदभावलाई मलजल हुँदै आएको छ । शान, मान, प्रतिष्ठा र अहङ्कारको सुरक्षाका खातिर समाजमा जातीय कुप्रथालाई विभिन्न पक्षबाट पोस्ने प्रयास भइरहेकै छ ।
कानुनले भेदभाव नगरे पनि समाजमा जातीय वर्गीय विभेद झन् भयावह हुँदै आएको छ । समाजमा विद्यमान् यही विकृतिलाई विषयको आधार बनाएर लेखिएको यो उपन्यासले एउटा गम्भीर विषयलाई पुनः बहसमा ल्याएको छ । यो प्रकृतिका अभियानहरू अरू धेरै भएका छन् तर के समाजबाट यो विकृतिको उन्मूलन भयो त ? निश्चय पनि यो विषय गम्भीर छ । हाम्रा अभियानहरू प्रभावकारी हुन नसकेको परिप्रेक्ष्यमा यो उपन्यास अर्को थप प्रयत्न हो ।
इच्छाविवाह गर्ने शीतल र शबर अनि दुष्यन्त र शबरीको प्रेम प्रसङ्गलाई परिकल्पना गरेर समाजमा जरा गाडेको जातीयताका विभिन्न रूपहरूलाई पात्रचरित्रका माध्यमले बाहिर ल्याउने र तिनै पात्रहरूलाई जातीयताको विभेद ठीक थिएन, छैन र हुनुहुन्न भन्ने सन्देश प्रवाह गर्नु उपन्यासको शिल्पगत सौन्दर्य हो ।
उपन्यासलाई विषयवस्तुको विन्यास र आख्यानको शिल्पनिर्माण यी दुई तहबाट अध्ययन गर्न सकिन्छ । विषयवस्तुको रूपमा समाजमा विद्यमान जाति प्रथाको कुरूप अनुहारलाई सबैका सामु प्रस्तुत गर्ने मुख्य उद्देश्य राखेको पाइन्छ । यो विषयवस्तु, समाजशास्त्रीय, सामाजिक, नीतिशास्त्रीय, धर्मशास्त्रीय, दर्शनशास्त्रीय, संस्कृतिशास्त्रीय आदि कुनै पनि तहबाट उठाउन सकिन्छ । नेपालको कानुनले र संसारको पनि मानवतावादी कानुनले एउटा मान्छेले अर्को मान्छेलाई जातका आधारमा, लिङ्ग, वर्ण, वर्ग वा धर्मका आधारमा पर्गेल्न, अन्यथा व्यवहार गर्न पाउँदैन ।
यस्तो गरेको पाइएमा कानुनी कार्यबाही हुन्छ तर के यसो भनेर संसार कानुनले भनेझैँ चलेको छ त ? निश्चय पनि छैन । आज पनि उपर्युक्त आधारमा मानिसबाट मानिसमाथि भेदभाव भइरहेको छ । त्यो भेदभाव देखालो रूपमा पनि भएको छ, गोप्य रूपमा झन् धेरै भएको छ । अर्थात् यो समस्या पनि संसारको सनातन समस्याजस्तै भएर रहेको छ । नेपालको सन्दर्भमा यो मुलुक बहुजाति र बहुभाषीय र बहुसंस्कृति मिलेर बनेको छ । मुलुकको सौन्दर्यको रूपमा रहेको बहुजातीयता समाजमा विभेद फैलाउने विकृति बनेर रहनु यो मुलुकको दुर्भाग्य हो । आज पनि गाउँ समाज र अशिक्षित वर्गमात्र होइन शहरी र शिक्षित वर्ग समेतमा जातीयताको धारणा विद्यमान छ ।
यद्यपि मानिसको स्वतन्त्रताले ऊ हरेक पक्षमा स्वतन्त्र रहन पाउँछ तर सामाजिक सद्भाव खलबलिने व्यवहार कसैबाट हुनु हुँदैन । तर, हाम्रो समाजमा अहिले पनि वर्गभेद, वर्णभेद र जातिभेदका नाममा राजनीति गर्ने अनौठो परम्परा विद्यमान छ । त्यसैको प्रत्यक्ष परोक्ष प्रभावमा रहेका देशका जनजाति भनिने वर्गहरू अहिले पनि उपेक्षित छन् । उनीहरूमाथि समान व्यवहार छैन । यहाँसम्मकि उनीहरू नै पनि सामाजिक स्वार्थमा जोडिएर कहिले आफैँलाई दलित भनाउन रुचाउँछन् र दलित भएकोमा गर्व गर्न र लाभ लिन अघि सर्छन् । अनि अवसर आउँदा मूलधारको अधिकारमा दाबी गर्छन् ।
जबसम्म हाम्रो मानसिकतामा परिवर्तन आउँदैन । आफूले आफैँलाई दुईथरि परिचय दिन रहर जबसम्म रहिरहन्छ तबसम्म यो विभेदले नैतिक समर्थन पाइरहन्छ । यही सामाजिक विभेदको जड के हो ? के हाम्रा शास्त्र र परम्परामा जातीयता नामको कुनै अकाट्य तर्क छन् त ? भन्ने मौलिक प्रश्नमा यो उपन्यासको विषयवस्तु केन्द्रित भएका छ र भनिएको छ । जातीय भेदभावको त्यस्तो शास्त्रीय आधार छैन जसलाई अनुसरण गर्न सकियोस् । बरू जातीयता नामको स्वार्थले हिजैदेखिको समाजलाई गाँजेको रहेछ ।
आफ्नो हित अनुकूल व्याख्या गर्दा जातीयताले विकृतिको रूप लिएको हो । हिजो रामलाई शबरीको जुठो खाएर जातको बात लागेन बरु रामको आदर्श चम्कियो, बुद्धले शूद्रसँग बसेर उनको बुद्धत्व झन् उचो भएर आयो । यदि जातीयता रहन्थ्यो भने त्यसो हुन सम्भव थिएन । हामीले जातको संस्कार र सौन्दर्यको अपव्याख्या गरेर त्यसलाई भेदभावको रूपमा लियौँ र आफ्नो स्वार्थसँग जोडेर उपयोग गर्दै र हुँदै आयौँ । वास्तवमा जातका आधारमा कोही पनि मानिस सानो, ठूलो वा उचोनिचो छैन । यसलाई जरैदेखि उखेलेर फाल्न हरेक तहबाट पहल हुन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्नु यस उपन्यासको विषयगत वैशिष्ट्य हो ।
त्यसैगरी विषयको आख्यानीकरणको शिल्प यस उपन्यासको अर्को वैशिष्ट्य हो । वर्तमान समयको जातीय भेदभावको विषयलाई पौराणिक सन्दर्भसँग जोडेर पौराणिक पात्र शबरी, शबर र दुष्यन्तसमेतमा चरित्रको रूपान्तरण गराएर जातीयता हिजो पनि छलफलको विषय थियो र भेदभावका घटना हिजो पनि थिए तर तिनमा र आजका पनि जातीयताका कुरामा खास शास्त्रीय आधार देखिँदैन । बरू आपूmलाई जतिखेर जे चाहियो त्यही निर्णय गरिएका मनमौजी दृष्टान्तहरू पाइन्छन् । हिजो पनि र आज पनि भन्ने कुराको बोध गराउन हिजैको जस्तो हो कि झैँ पार्ने परिवेश निर्माण गर्नु र आख्यान विन्यास गर्नु यस उपन्यासको विशिष्ट पक्ष हो ।
इच्छाविवाह गर्ने शीतल र शबर अनि दुष्यन्त र शबरीको प्रेम प्रसङ्गलाई परिकल्पना गरेर समाजमा जरा गाडेको जातीयताका विभिन्न रूपहरूलाई पात्रचरित्रका माध्यमले बाहिर ल्याउने र तिनै पात्रहरूलाई जातीयताको विभेद ठिक थिएन, छैन र हुनुहुन्न भन्ने सन्देश प्रवाह गर्न प्रेरित गर्ने आख्यान विन्यास गरिनु उपन्यासको शिल्पगत सौन्दर्य हो । उपन्यासमा मूल विषयलाई नै बल प्रदान गर्ने गरी आख्यान र उपाख्यान परिकल्पना गरिएको छ । हाम्रो समाज कसरी होहल्लामा, अज्ञानतामै, लोकपरम्परालाई बचाउने नाममा कति धेरै अन्धविश्वास बोकेर बसेको छ ? भन्ने सङ्केत उपन्यासमा भएको छ ।
वर्षौंदेखि जातिगत कट्टरतालाई पालनपोषण गर्दै आएका व्यक्तिहरूसँग कुनै ठोस तर्क पनि छैन, प्रमाण पनि छैन र कुनै शक्ति पनि छैन तर कसरी कसरी परम्पराको भारी बोकेर हिँडेका छन् वर्षौंसम्म । जब त्यो भारी बिसाउँनेछन् फेरि पनि कुनै परिवर्तन छैन, चमत्कार छैन र असर पनि छैन । अर्थात् बित्थैमा रूढिवादको भारी बोकेर युगौंयुगसम्म पनि समाज चलेको छ । यसरी अज्ञानताको अँध्यारोमा हाम्रो समाज युगौंदेखि रुमल्लिइरहेको छ । त्यसलाई अब अनेक बहानामा, नाटकमा सामेल भएरै पनि मेटाउन आवश्यक छ । जसरी यस उपन्यासमा आख्यानको परिकल्पना गरियो, प्रेमको प्रसङ्गले जातीयताको पर्खाल भत्काउन खोजियो र भत्कियो पनि ।
यसरी नै असमानताका अनगिन्ती पर्खालहरू भत्काउँदै जानुपर्छ अनेक प्रयत्न गरेर भन्ने सन्देश प्रवाह गर्नु उपन्यासको शिल्पगत वैशिष्ट्य हो । जातीयताको विषयलाई प्रेमको कलेवरमा उभ्याएर त्यसका दुर्बलपक्षमाथि क्रमशः प्रहार गर्दै गर्दै लगेर एउटा समाज र परिवारमा विद्यमान अज्ञानताको अन्धकारको पर्दा उघारेर सामाजिक सद्भाव र प्रेमको अमोघ शक्तिको प्रदर्शनका माध्यमले सद्भाव, सहबोध, सहसम्बन्धको मौलिक सन्देश प्रवाह गर्नु शबरी उपन्यासको सबल पक्ष बन्न गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच