युएईलाई पराजित गरेर नेपालले विश्वकप खेल्नका लागि ढोका उघारेको छ । शुक्रबार मूलपानी रंगशालामा आयोजना भएको खेलमा नेपालले राम्ररी खेलेर नतिजा आफ्नो पोल्टामा पारेको हो । नेपाल क्रिकेट खेलमा विश्वकपमा पुग्ने भएको यो दोस्रो पटक हो । दश वर्ष पहिले पाएको एउटा अवसरको हाल पुनस्मरण हुनपुगेको छ । नेपालको गौरवका रूपमा यसलाई लिनुपर्ने हुन्छ । रोहित पौडेलको कप्तानीमा खेलेको खेलबाट नेपालले यो मौका पाएको हो । १० वर्ष पहिले नेपाल विश्वकपमा पुगेका बेला पारस खड्का नेपालको राष्ट्रिय टिमको कप्तान हुनुहुन्थ्यो । त्यसबेला क्रिकेट खेल रुचिका साथ हेरेर बस्ने सानो ११/१२ वर्षको बालक रोहित पौडेलले हाल नेपालको तर्फबाट कप्तानी गर्नुभएको थियो ।
अहिले पनि उहाँको उमेर त्यति धेरै परिपक्व भइसकेको छैन तर उहाँले परिपक्व ढंगले कप्तानी सम्हाली रहनुभएको छ र उहाँले कप्तानी सम्हालेकै समयमा नेपाल विश्वकपमा पुग्न सफल भएको छ । २२ वर्षको उमेरका पौडेलको नेतृत्व सबल र सफल भएको यस परिणामले देखाएको छ र यसले बढेको आत्मविश्वास भोलिका दिनमा समेत देखिनु पर्दछ । उहाँको कप्तानीमा नेपाल विश्वकपमा पुगेको छ र विश्वकपमा पनि नेपालले उत्कृष्टता हासिल गर्न सक्छ भन्ने अपेक्षा रहनुपर्छ र त्यसका लागि आवश्यक प्रशिक्षण, अभ्यास अहिलेदिखि नै सुरु गर्नुपर्ने हुन्छ । सन् २०२२ मा युएईसँग पराजित भई विश्वकप खेल्नबाट वञ्चित भएको नेपाल हाल युएईलाई नै पराजित गरी विश्वकपमा पुगेको छ ।
आगामी वर्ष अथवा २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा सहभागी हुने अवसार पाएको नेपालले विश्वकपमा समेत कुनै न कुनै प्रतिस्पर्धामा सफलता पाउने अपेक्षा गर्नु स्वाभाविक मान्न सकिन्छ । किनभने, यसका केही सम्भावना छन् । क्रिकेटमा नेपालले दिनप्रतिदिन सफलता हासिल गर्दै आइरहेको छ । यसले विश्वकपमा पनि केही न केही सफलता प्राप्त होला भन्ने अपेक्षा गर्नु अन्यथा हुनेछैन । अर्कातिर खेलमा प्रतिस्पर्धा गर्नु भनेकै विजयको अपेक्षाले हो । खेलमा सधैं पराजयमात्र व्यहोनुपर्छ भन्ने छैन विजय हुन नै खेलिने हो । नेपालले पनि यही उच्च मनोबलले खोल्यो भने कुनै न कुनै सकारात्मक परिणाम हात पर्न सक्छ ।
नेपाल सरकराले पनि आफूले सकेको केही न केही गर्दै आएको छ । पहिले एशियाली खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जित्नुका साथै विभिन्न रेकर्ड कायम गरेका कारण सरकारले सहभागी खेलाडीहरूका लागि पुरस्कारको घोषणासमेत गरेको थियो । सरकारका तर्फबाट हाल उक्त पुरस्कार पनि प्रदान गरिएको छ । खेलकुदमा अझै राम्रो गर्नका लागि सरकारले खेलकुदमा गर्ने बजेट अझै बढाउँदै लगेर खोलाडीहरूलाई प्रोेत्साहन गर्दै लानुपर्छ । खेलकुदको क्षेत्रमा लागेर जीवन त्यसैमा समर्पित गरिरहेका खेलाडीहरूले खेलेरै बाँच्न सक्ने अवस्था सरकारका तर्फबाट सिर्जना हुनसक्ने हो भने नेपाली खेलाडीहरूले यस क्षेत्रमा अझै राम्रो गर्न सक्छन् ।
यस पटकको यो विश्वकप क्वालिफाई गेममा कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ललगायत खेलाडीहरूको मुख्य भूमिका रहेको थियो । सोमपाल कामी र विनोद भण्डारी यसपूर्व नेपालले खेलेको विश्वकप खेलिसकेको खेलाडीहरू हुनुहुन्छ । यस पटकको विश्वकप क्वालिफाई गेममा नेपाली खेलाडीहरूलाई आफ्नै होम ग्राउण्डमा खेल्न पाएका कारणले पनि सहज भएको हुनसक्छ । नेपाली दर्शकहरूको ठूलो हौसला उहाँहरूले प्राप्त गर्नुभयो । सानो परिसर भएका कारण सीमित संख्यामा प्रवेशका लागि टिकट बिक्री गरिएको भए पनि खेल हेर्नका लागि धेरै ठूलो संख्यामा दर्शकहरू वरिपरिका ठाउँहरूमा जम्मा भएका थिए । मैदान वरिपरिका घरहरूमा छत छतबाट दर्शकहरूले खेल हेरेका थिए ।
यसका साथै रुख चढेर र मैदान माथिको अग्लो भागमा उभिएर हेर्नेहरूको संख्या पनि निकै ठूलो थियो । यसले गर्दा खेलाडीहरूमा हौसला मिलेको थियो । खेलाडीहरूमा भएको उत्साह पनि अद्वितीय थियो । यो उत्साह विश्वकपमा पनि कायम रहिरहनुपर्छ । फुटबललगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले त्यति धेरै उन्नति गर्न नसकिरहेको अवस्थामा जुन खेलमा बढी सम्भावना देखिएका छन् तिनमै बढी जोड दिनु उचित हुन्छ । पौडी, जुडो, कराँते, बक्सिङ तथा क्रिकेटमै बढी सम्भावना देखिँदै आएका कारण यी खेलहरू सरकारको प्राथमिकतामा पर्नुपर्छ । खेल र खेलाडीले प्रोत्साहन पाए भने मात्र तत्-तत् खेलमा सफलता हात पर्न सक्छ । त्यसैले सम्भावनाका यस्ता खेलहरू छनौट गरी तिनमै जोड दिनु आवश्यक छ । यसो भयो भने परिणाम निश्चय अझै राम्रो निस्कन सक्छ । विजेता खेलाडीहरूलाई हार्दिक बधाई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच