टोड्केबाट फर्कदा पर्यटकलाई मुलाको कोसेली

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । अग्र्यानिक उत्पादन र हिमश्रृङ्खलाको दृश्यावलोकनका लागि प्रशिद्ध ठाउँ हा,े म्याग्दीको पर्यटकीय स्थल टोड्के । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा अवस्थित टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानीयले यहाँ उत्पादित स्वादिष्ट मुलाको कोसेली दिएर पठाउने गरेका छन् ।

समुद्री सतहदेखि दुइहजार चारसय मिटर उचाइमा रहेको सुन्दर पहाडी थुम्को हो टोड्के । सेता हिमालका दृश्य र चिसो हावाको स्पर्षले यहाँ पुग्ने पर्यटकहरु मोहित हुने गर्दछन् । यहाँबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन् । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुन्छ ।

पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला यहाँ पुग्ने पर्यटकहरुका लागि पहिलो रोजाइमा पर्ने गरेको स्थानीय महिला उद्यमी तिजमाया पाइजाले बताउनुभयो । स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो ।

टोड्केका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् ।

टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ । भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको पाइजाले बताउनुभयो । उहाँका अनुसार स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् । यहाँका किसानले परम्परागत खेती प्रणाली अपनाएर मुला लगाउँदै आएका छन् । भैंसी र भेडाको मलको प्रयोग गर्ने गरेका छन् । हिउँद र वर्षामा गरि वर्षमा दुई पटकसम्म मुला खेती गर्न सकिन्छ । तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।

मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलोसम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मलको प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताउनुभयो ।

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेको दृश्यावलोकन गर्न पाइन्छ । यस्तै यहाँ उत्पादित अर्गानिक मुलाले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन समेत गरेको छ । स्थानीयवासीको लगानीमा टोड्केमा सामुदायिक लज सञ्चालनमा आएपछि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेका छन् ।

सामुदायिक लजमा पाहुना भएर बस्न जाने पर्यटकलाई अर्गानिक उत्पादन मुलाको स्वाद चखाउने गरिएको छ । यसका साथै टोड्के क्षेत्रको भ्रमणमा निस्कने पर्यटकहरुमार्फत मुलासहित स्थानीय उत्पादनको पनि प्रवर्द्धन भएको छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने चलन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?