शिक्षकलाई मोबाइल एप्लिकेसन सम्बन्धि तालिम

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा शिक्षकलाई मोबाइल एप्लिकेसन सम्बन्धि तालिम दिइएको छ । तम्घासमा प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा दुई दिनसम्म शिक्षकलाई सो तालिम दिइएको हो ।

जिल्लास्तरमा प्रशिक्षक निर्माण गर्ने उद्देश्यले कात्तिक १९ र २० गते दुई दिन सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई मोबाइलको प्रयोगबाट श्रव्य दृश्य शैक्षिक सामग्री निर्माण गर्नुका साथै शुभकामना कार्ड, विद्यालयको लोगो तथा विद्यार्थीहरुका पासपोर्ट साइजका फोटोहरू तयार गर्न प्रशिक्षण गरिएको बताइएको छ ।

त्यस अवसरमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले शिक्षकहरु अब प्रविधिमैत्री हुन जरुरी रहेको बताउनुभयो । आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन गर्न सकेमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने उहाँले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी र शिक्षा विकास तथा समन्वय इकाईका अमर केसीले परम्परागत ढाँचालाई छोडी समय सन्दर्भ अनुसार परविर्तन हुँदै शिक्षणसँग प्रविधि जोड्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । प्रविधिको प्रयोगसँगै यसको दुरुप्रयोग समेत हुन सक्ने भएकोले सचेत रहनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशिक्षक एवम् प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष भुपति बस्यालले मोबाइल फोन गर्ने र उठाउने भाँडो मात्र होइन कि यो शिक्षण सिकाइमा उच्चतम प्रयोग गर्न सकिने एक असल साधन भएको बताउनुभयो । यसको प्रयोगबाट श्रव्य, दृश्य, तथा श्रव्य–दृश्य शैक्षिक सामग्री समेत निर्माण गर्न भन्दै उहाँले ल्यापटप, कम्प्युटर छैन भनेर शिक्षकहरू हात खुम्चाएर बस्नु पर्ने अवस्था नभएको बताउनुभयो । एन्ड्रोइड वा स्मार्ट फोनको सहायताले ल्यापटप र कम्प्युटरमा गर्न सकिने सबै कार्य गर्न सकिने उहाँको भनाइ छ ।

तालिममा रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाबाट २२ जना शिक्षकहरूको सहभागिता थियो । तालिम अत्यन्तै उपयोगी भएको सहभागिता शिक्षकहरुले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?