प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

रासस
Read Time = 2 mins

सुर्खेत । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा  केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताउनुभयो । अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताउनुभयो ।

घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?