प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १३५ स्थानको मतपरिणाम सार्वजनिक, कांग्रेस सबैभन्दा बढीमा विजयी

समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेको ७५ हजार बढी मत

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रतिनिधिसभाका १६५ सदस्यमध्ये १३५ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । शुक्रबार रातिसम्म नेपाली कांग्रेसले सबभन्दा बढी ४४ स्थानमा जित निकालेको छ उसले १० स्थानमा अग्रता कायम राखेको छ । त्यस्तै नेकपा एमालेले ३७ स्थानमा जित हात पारेको छ भने सात स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले १४ स्थानमा विजय हासिल गर्दा चार स्थानमा अग्रता लिइरहेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ स्थानमा जित हात पार्दा अझै एक स्थानमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थान जितेका छन् । त्यस्तै जनता समाजवादी पार्र्टीले तीन स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ । उता नागरिक उन्मुक्ति पार्टी पनि तीन स्थानमा विजयी बनेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट हासिल गरेका छन् भने स्वतन्त्र पाँच सिटमा विजयी भएका छन् ।

यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाको आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको शुक्रबार राति १० बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले १५ लाख ११ हजार मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसको १४ लाख ३६ हजार सात सय नौ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत ६ लाख ७४ हजार रहेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) को ६ लाख ३८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन लाख ४० हजार र जनता समाजवादीको एक लाख ८० हजार मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले ल्यायो मधेश प्रदेशमा राम्रो नतिजा
पाँच वर्षअघि माओवादीसँग कसिलो गठबन्धन गरेर चुनावमा जाँदासमेत मधेस प्रदेशबाट प्रतिनिधिसभातर्फ दुई सिट मात्र जितेको एमालेले ४ मंसिरको निर्वाचनमा त्यो संख्या तेब्बर बनाएको छ । मधेस प्रदेशका आठमध्ये पाँच जिल्लाबाट एमालेका सात उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । स्थायी कमिटी सदस्य प्रभु साहले उम्मेदवारी होल्ड गरेर स्वतन्त्र मनोनयन गरेपछि मधेसमा एमालेको स्थिति खस्किने अनुमान गरिएको थियो । तर, आम रुपमा अपेक्षा गरिएभन्दा राम्रो नतिजासहित एमाले मधेसको बलियो पार्टीका रुपमा उभिएको छ । प्रतिनिधिसभातर्फ पर्सा ३ मा राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ भने बारा १ बाट अच्युतप्रसाद मैनाली र ३ बाट ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । त्यस्तै, सिराहा १ बाट रामशंकर यादव र ३ बाट लिलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्य चुनिनुभएको छ ।

यसैगरी सर्लाही ३ बाट हरिप्रसाद उप्रेती निर्वाचित हुनुभएको छ भने धनुषा ३ बाट जुलीकुमारी महतो फराकिलो मतान्तरसहित प्रतिनिधिसभा पुग्नुभएको छ । प्रभु साहको प्रभावका कारण रौतहटमा एमाले कमजोर देखिएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ एमाले पहिलो पार्टीका रुपमा उदाएको छ । ६४ प्रत्यक्ष सिटमध्ये ६३ को मतगणना अन्तिम चरणमा पुगेको छ । एमाले ११ सिटमा विजयी भईसकेको छ भने तीन सिटमा जित्नेगरी अग्रता लिइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?