तिहार लगत्तै कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले तिहार लगत्तै कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी थाल्नुभएको छ ।
सत्तारुढ दलहरुका बीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएपछि अब मन्त्रिपरिषदमा पनि दलीय भागबण्डा मिलेको छ ।

मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रबार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईसँग छलफल गर्नुभएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति भएको छ ।

प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिने गरी सहमति जुटेको स्रोतले बतायो ।

एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त हुनुभएको कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री हुनु हुन्छ।

पूर्वसहमति बेगर मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई सरकारमा सामेल गराएपछि एमाले भने सरकारबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?