काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी-२० शृंखला खेल्दैछ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो ।
नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्यो । सो अवसरमा पत्रकारसँगको कुुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्ना लागि समेत अवसरका रूपमा लिएको यस शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभएको हो ।
११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आउनुभएकी रुविनालाई हटाउँदै क्यानले यसै हप्तामात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको थियो । त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ । कप्तान इन्दुले पनि यसलाई चुनौतीका रूपमा लिएको बताउनुभएको छ । पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो । कप्तान इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताउनुभएको छ ।
नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो । पारस खड्का निकट मानिनुभएका झापाका मनोज कटवालले महिला क्रिकेट टोलीको प्रशिक्षणको जिम्मेवारी पाउनुभएको छ । नवनियुक्त प्रशिक्षक कटवालले पनि छ/सात दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गर्नुभएको छ ।
शनिबार क्यानले मूलपानीस्थित मुख्यालयमा टोलीको बिदाइ गरेको हो । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाइ गर्नुभएको थियो । क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिनुभयो । साथै उहाँले पुरुष टोलीले झैँ शानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गर्नुभयोे । क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ । नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवी पोदार पर्नुभएको छ । कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले शृंखलाको पहिलो खेलमा तान्जानियाको सामना गर्ने भएको छ । नेपाल र तान्जानियाबीचको खेल कात्तिक २९ मा हुनेछ । नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । तान्जानिया र जापान नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच