झिनियाँ रोटी बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । तिहारमा झिनियाँको खपत अत्याधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमीहरु झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनिसहितका विभिन्न रोटीका परिकारहरु बनाएरै महिला उद्यमीहरुले मनग्य आम्दानी गर्दै आएका छन् ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारहरु समेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमीहरु व्यस्त भएका छन् । बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकारहरु बिक्रिबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

बागलुङमा तिहार नजिकिएसंगै झिनियाँ, चिनि, फिनी, भेली लगायतका रोटीका परिकारहरुको बनाउन व्यस्त भएको १० वर्षदेखि बागलुङ नगरपालिका–१ रामरेखामा झिनियाँ उत्पादन गर्दै आउनुभएको शर्मीला श्रेष्ठले बताउनुभयो । ‘तिहार नजिकिदै आएसंगै झिनियाँको कारोबार उच्च छ अहिले म जस्ता दर्जनौं महिलाहरु झिनियाँ सहितका रोटीका परिकारहरु निर्माण गरेर विक्रि गरेर मनग्य आम्दानी गरेका छन्’ श्रेष्ठले भन्नुभयो ‘तिहारमा मात्रै चार÷पाँच लाखको झिनियाँ सहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।’

यस्तै, १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आउनुभएका मिरा श्रेष्ठले झिनियाँसहित अन्य रोटीका परिकारको समेत विक्रि भइरहेको बताउनुभयो । उहाँले यसपटक सेतो झिनियाँको उत्पादन बढाएको जानकारी दिनुभयो ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ मात्रै छैन सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरुको भनाई छ । श्रेष्ठले विगत १२ वर्ष देखि झिनियाँ, चिनि रोटी, फिनि रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

‘तिहारमा भिनियाँको व्यापार बढी हुन्छ, तिहार नआउदैबाटर झिनियाँ बनाउदै सुकाउन निकै व्यस्त भइन्छ, पहिला जस्तो झिनियाँमा नाफा त छैन, चामालको मुल्य बढेपछि नाफा थोरै भएको हो’ श्रेष्ठले भन्नुभयो ‘पछिल्लो समय झिनियाँसंगै चिनि तथा फिनि र तयारी सेल रोटीको माग उच्च छ, यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन, झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।’

मीरासँगै उनका श्रीमान र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँ, चिनी, फिनि, भेली र नमकिन लगायतका तयारी परिकारहरु बनाइराखेका छन् । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । तर, बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमीहरुले धान्दै आएका छन् ।

मिरा श्रेष्ठले मात्रै तिहारको सिजनमा झिनियासहित अन्य तयारी परिकार विक्रिबाट रु. सात लाख आम्दानी गर्ने लक्ष्य सहित झिनियाँ बनाउन व्यस्त हुनुहुन्छ । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पुजाआजा र चाडपर्वमा समेत झिनियाँ सहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो ।

रङ्ग मिसाइएको झिनियाँरोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीहरुले सेतो झिनियाँ उत्पादन बढाएका छन् । रङ्ग मिसाइएको झिनियाँका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकाले समेत अनुरोध गरेको छ । तर उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीहरुको भनाई छ ।

उद्यमीहरुले खाद्य रङ्ग मिसाएपनि तेलमा तार्दा रङ्ले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ । बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा २५० र सानोमा १४० मा विक्रि हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुई थरी मुल्य कायम गरेर झिनियाँ विक्रि भइरहेको छ । यतै चिनी रोटी रु ८०, फिनी रोटी ७०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?