चाडपर्व सकिएपछि सुनसान बन्न थाले गाउँघर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । अध्ययन, रोजगार तथा विभिन्न कामले बजारमा बस्दै आएकाहरु दसैँमा गाउँ आएका थिए । दसैँ तिहार सकिएपछि बजार फर्किनको संख्या निकै ठूलो छ । तिहार सकिए लगत्तै धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका छन् । बागलुङको ग्रामीण क्षेत्रका अधिकांश स्थानीय बुटवल, चितवन, पोखरा, काठमाडौं, बागलुङलगायतका देशका मुख्य ठूला सहरमा पुग्ने गर्दछन् । हिजोआज गाउँमा बस्नेको संख्या निकै न्यून छ ।

यो खेतीपातिको सिजन भएको हुँदा दसैँ तिहार मनाउन गाउँ आएकाहरुले गर्दा बाली स्यार्न सहज भने भयो । चाडपर्वले वर्षौँदेखि टाढा आफन्तलाई नजिक बनाउने गर्छ । दसैँ सुरु हुँदा गाउँ आएका आफन्तले केही दिन निकै रमाइलो भए पनि उनीहरु अहिले बजार फर्किन थालेपछि सुनसान बन्न थालेको निसीखोला गाउँपालिका-४ मा प्रितम क्षेत्रीले बताउनुभयो । उहाँले सेवा सुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बुढापाका र बालबालिका मात्रै रहेको बताउनुहुन्छ ।

“तिहारको दिनसम्म गाउँ घरमा जता गए पनि आफन्त भेटिन्थे, तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दसैँ तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरु पनि फर्किए, गाउँमा बस्ने त उही गरिब मात्रै भयो” क्षेत्रीले भन्नुभयो-“दसैँले गाउँमा धेरै उत्साह लिएको थियो, सबैलाई भेट गराएको थियो, तिहारको भोली पल्टदेखिनै सबै आ-आफ्नो गन्तव्य तिर लागेपछि गाउँ उराठलाग्दो बनेको छ, यसपाली चाडपर्व अलि ढिला आएको हुँदा गाउँ आएकाहरुले खेतबारीको काममा सहयोग गरे ।”

बागलुङका धेरै जसो ठाउँबाट तराई झरेकाको संख्या निकै ठूलो छ । उनीहरुको आफन्तजन भने गाउँमा छन् । बसाइँसराइ गरेर तराई झरेकाहरु दसैँ तिहार र कुल पूजाका लागि गाउँ उक्लिने गर्छन् । दसैँ तिहार भरी गाउँमा चहलपहल भए पनि अहिले घरहरु खाली हुँदै गएको स्थानीय धनबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो गाउँमा दसैँ तिहार मनाउनका लागि बजार तथा तराईबाट झण्डै ५०० जना आएको सुनाउँदै अहिले सबै फर्किएको बताउनुभयो ।

गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने घर्ती मगरको भनाइ छ । एक दशक अगाडिसम्म निसीखोलाका अधिकांश गाउँमा मान्छेले खेतीपाती गरेरै जीवन निर्वाह गरे पनि अचेल हुने खानेहरु सबै बजार झरेको बताउनुहुन्छ । धेरैको रोजाई सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँ भन्नुहुन्छ- “हामी सानोसानो हुँदा गाउँबाट एक/दुई जना विदेश जाने गर्थे, तर अहिलेको जस्तो बसाइँसराइ गरेर बजार झर्ने चलन थिएन, चाडपर्वको बेला लाहुरे मात्रै गाउँ आउँथे, अहिले त बजार झरेकाहरु पनि आउँछन्, विदेश र बजारबाट गाउँ फर्कनेहरुले एक महिना जति गाउँ रमाइलो भयो, जतागयो उतै आफन्त भेटिन्थे, अहिले त सबै फर्किन थार्ले, गाउँमा उही बजार झर्न नसक्ने अवस्था भएका मात्रै बस्छन्, पहिले मान्छे घुम्नका लागि बजार जान्थे, अहिले बजारबाट गाउँ आउँछन् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?