मंसिर ९ र १० गतेको काँग्रेस गुल्मीको सम्मेलनमा केन्द्रीय नेता सहभागी हुने

हिमालय टाइम्स
Read Time = 4 mins

गुल्मी । नेपाली काँग्रेस गुल्मीले यहि मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन तम्घासमा हुने भएको छ । सोमबार जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मंसिर ९ र १० गर्ने जिल्ला सम्मेलन सम्मेलनको तयारी तीव्र पारिएको बताइएको छ ।

दुई दिनसम्म तम्घासमा हुने सो सम्मेलनको पहिलो दिन चिदिचौर तम्घासमा दशौं हजारलाई उतार्ने नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो । दोस्रो जिल्ला सम्मेलनको तयारीलाई तीव्र पारिएको बताउँदै सभापति पन्थीले भन्नुभयो, ‘यो जिल्ला सम्मेलनलाई फरक बनाउन खोजिरहेका छौं । कर्मकाण्डी भन्दा पनि सार्थक ढंगले सञ्चालन गर्न खोजिएको छ ।’ सभापति पन्थीले दोश्रो सम्मेलनमा पार्टीको गम्भीर समीक्षा र आगामी कार्ययोजना चुस्त रुपमा बनाउने दाबी गर्नुभयो ।

‘काँग्रेसलाई सशक्त, चुस्तदुरूस्त बनाउने विषयमा केन्द्रीत हुन्छौं ।गुल्मी घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ ।’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय केही तत्वले राजनैतिक पार्टी र नेतृत्वप्रति केही गरेन भन्ने भाष्य र मनोविज्ञान जबर्जस्त रूपमा विकास गर्न खोजेका छन् ।’ जसका कारणले जनतामा निराशा पलाएको भन्दै अब मुख्य राजनीतिक दलहरूले तौरतरिकाहरू बदल्नुपर्छ । संस्कार सहितको राजनीतिक विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

नकारात्मक टिकाटिप्पणी गर्ने प्रवृत्ति बढेको भन्दै आशा जगाउने क्रियाकलापतर्फ सम्पूर्ण रुपले तल्लोतहसम्म पार्टी पंक्ति केन्द्रीत हुने भगत सिंह खड्काले बताउनुभयो । यो सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सुक्ष्म रुपमा अगाडि बढाउने गतितर्फ नेतृत्व केन्द्रित हुने समेत उल्लेख गर्नुभयो ।

मंसिर ९ गते पहिलो दिनको खुल्ला सभा तम्घास चिदिचौरमा आयोजना गरिनेछ । चिदिचौरमा हुने खुल्ला सभालाई नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य डा।चन्द्र भण्डारी, चन्द्र के.सी., लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्ने प्रचारप्रसार समिति संयोजक तथा सहसचिव छवि पाण्डेले बताउनुभयो ।

दोस्रो दिन मंसिर १० गते इन्द्रेणी पार्टी प्यालेसमा हुने बन्दसत्रमा गुल्मीका काँग्रेसका १ हजार ७४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुने अर्का सहसचिव धर्मराज पाण्डेले बताउनुभयो । सम्मेलनका माध्यमबाट नेपालका पुराना राजनैतिक दलहरुप्रति सामाजिक सञ्जाल मार्फत केहि अभियान्ता भनिएका व्यक्तिहरुले जनमानसमा फैलाएका वितृष्णालाई चिर्ने गरी अगाडी बढ्ने नेताहरुको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?