सहकारीको डेढ अर्ब हिनामिना गरेर फरार ढोरपाटनका मेयर ६ महिनापछि सम्पर्कमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बचत कर्ताको डेढ अर्ब रकम हिनामिना गरेर छ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सम्पर्कमा आएका छन् ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्षसमेत रहनु भएका नेपाली बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार हुनु भएको थियो । यो सहकारीले निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको छ ।

सरकारले पनि उहाँलाई गत जेठ ८ गते अध्यागमन विभागको निगरानी सूचीमा राखेको थियो । त्यसको तीन दिन अगाडिदेखि नै उनी सम्पर्कविहीन भएका थिए । तर, एक भिडियो जारी गर्दै उहाँले आफू र परिवारमाथि आएको धम्कीको कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । “बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो,” उहाँले भिडियोमा भन्नु भएको छ ।

तर, केही व्यक्ति घरमा हतियारसहित आई आफूसहित श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले पाँच करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दबाब दिएको कारण आफू केही समय घरबाहिर बस्न बाध्य भएको उनले बताए । यो समस्या इमेज सहकारीको मात्र नभई देशभरिकै समस्या रहेको उनको भनाइ छ ।

उनले भने – “मैले सबै बचतकर्ताहरुलाई अनुरोध गर्दछु कि, इमेज बचत सहकारीको समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या हो ।” बचतकर्तालाई रकम फिर्ता गर्न ढिला भएकोमा संस्थाको तर्फबाट क्षमा माग्दै उनले सबै मिलेर जानुपर्ने बताएका छन् । उनले भने – “म त्यहाँ नभएका कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरु इमेज सहकारीको समस्या व्यावहारिक तरिकाले समाधान गर्नेतर्फ जानुपर्छ र जान खोजेका पनि छौँ ।”

व्यक्तिगत सम्पत्ति बेचेरै भए पनि सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । “कतिपय सहकारी १६ अर्बका पनि समस्या परेका छन्, मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा र सम्पत्ति नभएको मान्छे होइनौँ । हामीले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहीँ नै राखेका छौँ, लिएर हिँडेका छैनौँ । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ,” उनले भने ।

सहकारी समस्याग्रस्त हुनुमा कर्मचारीको पनि हात रहेको आरोप उनले लगाए । नगरप्रमुख भएपछि सहकारीमा आफूले समय दिन नपाएको र बचतकर्ताले एकैपटक बचत फिर्ता माग्दा यो अवस्था आएको उहाँको भनाइ छ । राजनीतिक रुपमा पनि आफूमाथि प्रहार भएको आरोप उनले लगाएका छन् ।

“एकैपटक बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ । यो पनि सबैले बुझेकै हो,” उनले भने, “मलाई असफल पार्नका निम्ति राजनीतिक कुरा पनि जोडिएको छ । तर, अहिले यो विषयमा म बोल्न चाहन्नँ ।”

सहकारीबाट बचत फिर्ता गर्नको लागि संघर्ष समिति पनि गठन भएको छ । उक्त समितिलाई पनि वास्तविकता बुझ्न नेपालीले आग्रह गरेका छन् । इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहेका व्यक्तिहरुलाई उनले धन्यवाद दिएका छन् ।

उनले समितिका व्यक्तिहरुलाई खातामा १० हजार हुनेले १० लाख माग निवेदन गरेको, ५० लाख मुद्दतीमा राख्नेले ९० प्रतिशत कब्जा लगेको तर दाबी चाहिँ ५० लाखकै गरेको बताएका छन् । यसै कारणले इमेज सहकारीमा दुई अर्ब डिपोजिटको हल्ला चलेको छ । यो कुरा बुझ्न उनले समितिलाई आग्रह गरेका छन् ।

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?