स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । जुटपानी नवलपुर मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–८, जुटपानीमा आज (मंगलबार) अपरान्ह स्कुल बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

लालबन्दी १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका ८ घरभई लालबन्दी नगरपालिका २ मा बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।

आज अपरान्ह साँढे ४ बजेतिर जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको दुर्घटनामा गम्भीर घाइते भएका बालक आदित्यलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ । घाइते बालकलाई दुर्घटना लगत्तै विद्यालयकै बसमा राखेर बर्दिवास लगिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार बालकलाई ओरालेर अगाडि बढ्ने क्रममा बसले किचेको हो । दुर्घटनापछि स्थानीय वासिन्दाले अहिले जुटपानीमा नवलपुर–मलङ्गवा सडक अवरुद्ध पारेका छन् ।

स्थानीयलाई सम्झाइबुझाइ गरी सडक खुलाउने प्रयास भइरहेको इप्रका हरिपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?