एजेन्सी । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘इजरायल सरकार सबै बन्धकलाई घर फर्काउन प्रतिबद्ध छ । सरकारले आज यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको छ, जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।’
बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बिबिसीले जनाएको छ । बैठकअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकको रिहाइपछि पनि गाजामा युद्ध जारी रहने बताउनुभएको थियो । हमासले पनि टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै ‘मानवीय आधारमा युद्धविराम’मा सहमति भएको जनाएको छ । यो सम्झौताको मध्यस्थता गरेकामा हमासले कतार र इजिप्टलाई धन्यवाद पनि दिएको छ ।
गएको अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलको आक्रमणमा गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा पाँच हजारभन्दा बढी बालबालिका थिए ।
यता, हमासले आफ्नो नियन्त्रणमा रहेका ५० इजरायली बन्धकलाई छाड्ने र बदलामा इजरायलले उसका जेलमा रहेका ५० प्यालेस्टिनी रिहा गर्ने सम्झौता भएको जनाएको छ । इजरायलले हमासको हिरासतमा रहेका बन्धकलाई रिहा गर्ने र त्यसका लागि आफूले चार दिन युद्धविराम गर्ने सम्झौता भएको बताएलगत्तै हमासका तर्फबाट पनि विज्ञप्ति जारी गरिएको हो ।
हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने सम्झौता भएको छ । बिबिसीका अनुसार यस सम्झौताअन्तर्गत, मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौँ ट्रक गाजामा प्रवेश पाउनेछन् ।
हमासको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इजरायलले चारदिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने वा कसैलाई पनि गिरफ्तार गर्ने छैन ।’ तर, यो कहिलेबाट सुरु हुने भन्ने कुरा अहिलेसम्म दुवै पक्षले उल्लेख गरेका छैनन् । चार दिनको अस्थायी युद्धविरामको अवधिमा दक्षिणी गाजामा हवाई यातायात पूर्णरूपमा बन्द हुनेछ र उत्तरी गाजामा प्रत्येक दिन ६ घण्टा स्थानीय समयानुसार बिहान १०ः०० देखि बेलुका १६ः०० सम्म यो बन्द गरिनेछ । गाजाको हवाई क्षेत्र इजरायलले नियन्त्रण गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच