काठमाडौं । निजी क्षेत्रले आर्थिक विकासका लागि आर्थिक नीतिको स्थायित्वमा जोड दिएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार राजधानीमा आयोजित राष्ट्रिय कर दिवस समारोहमा निजी क्षेत्रका छाता संगठनहरूले आर्थिक नीति छिटो-छिटो परिमार्जन हुँदा निजी क्षेत्र मर्कामा परेको बताए । अस्थिर कर नीतिका कारण राजस्व संकलनमा समेत असर परेको भन्दै वर्तमान आयकर, मूल्य अभिवृद्धि कर ऐनमा केही सुधार गरी राजस्व चुहावट नियन्त्रण गर्नुपर्नेमा उनीहरूले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्वमा कानुनी, प्रक्रियागत र पूर्वाधारका विषयमा रहेका समस्या सरकारले तत्काल सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रका धेरै सूचक सकारात्मक रहेको दाबी गर्दै सरकार र नेपाल राष्ट्र बैंकबाट प्रणालीलाई कमजोर नबनाई सर्वसाधारणको आत्मबल बढाउने काम गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘खराब कर्जा धेरै बढेर जाँदा समस्या आउने हो कि भन्ने चिन्ता छ । पछिल्लो समय बैंकहरूको आम्दानी घटेको छ । बैंकको आम्दानी घटेका कारणबाट बैंकहरूबाट आउने राजस्व छ, त्यो पनि घट्ने देखिएको छ । सरकारको खर्च र आम्दानी जुन बढिरहेको छ । जसमा राजस्व संकलनको तुलनामा साधारण खर्च बढ्दा अझ राजस्वमा कमी आउने चिन्ता रहेको छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राजस्व संकलन कम भएका कारण सरकार दबाबमा रहेको भन्दै राजस्व बढाउन करका दर नभएर दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पनि लगानी विस्तार र औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व आवश्यक रहेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले राजस्व बढाउन करका दर नभएर करको दायरा बढाउनुपर्ने भन्दै करको दायरा बढाएर भन्सार पनि नतिर्ने, कर पनि नतिर्ने ४२ प्रतिशत क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । त्यसलाई राजस्वको दायरामा ल्याउन सके मुलुकको आन्तरिक राजस्व चालु खर्च धान्ने राजस्वको दायरा वृद्धि गर्न सकिने उहाँको भनाइ थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको दाबी गर्नुभयो । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको उहाँको भनाइ थियो । मन्त्री महतले भन्नुभयो, ‘विश्वकै अर्थतन्त्रमा शिथिलता छ, त्यो शिथिलता हामीले पनि भोग्यौँ, आन्तरिक र बाहृय कारणबाट मुलुकको अर्थतन्त्रमा शिथिलता आयो, आर्थिक अवस्थाको मूल्यांकन नगरी लिइएका नीतिका कारण समस्या चुलियो ।’ अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको उहाँको जिकिर थियो ।
कुनै पनि बहानामा करदातालाई दुःख नदिन कर प्रशासनका कर्मचारीलाई निर्देशन दिँदै उहाँले साना र मझौला क्षेत्रका उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभयो । अर्थसचिव कृष्णहरि पुष्करले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनले नेपालको अर्थतन्त्र सही बाटोमा अघि बढिरहेको देखाएको उल्लेख गर्दै सरकारले चालेको सुधारका कार्यक्रमले अर्थतन्त्रलाई थप गति प्रदान गरेको बताउनुभयो । निजी क्षेत्रको समस्या सरकारले गम्भीररूपमा लिएको र समस्या समाधान गर्न लागिपरेको उहाँको भनाइ थियो ।
सर्वाधिक कर तिर्ने करदाता सम्मानित
सरकारले सर्वाधिक कर तिर्ने करदातालाई पनि सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेको हो । सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम बनेको छ भने निर्याततर्फ धेरै कर तिर्ने डाबर नेपाल प्रालि, बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आइएमई बैंक र व्यक्ति आयकर सबैभन्दा बढी तिर्नेमा विजयकुमार शाहलाई सरकारले सम्मान गरेको हो ।
त्यस्तै विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्नेमा एसियन पेन्ट्स रहेको छ । कृषि फर्मतर्फ ओसिबी फुड्स एण्ड फिड्स प्रालि, लघुवित्ततर्फ छिमेक लघुवित्त सहकारी, शिक्षातर्फ सांसद सुनिल शर्माको नोबेल शिक्षण अस्पताल रहेका छन् । त्यस्तै बिमातर्फ एलआइसी नेपाल, पर्यटनतर्फ मनकामना केबलकार, व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), ऊर्जातर्फ भोटेकोशी ऊर्जा कम्पनी, रेमिट्यान्सतर्फ आइएमई रेमिट्यान्स कम्पनी रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच