भवन कार्यालयको ठेक्कामा चलखेल, ठेक्का सूचना गोप्य राखेको निर्माण व्यवसायीको आरोप

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की

ओखलढुंगा । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले सूचना लुकाई मिलेमतोमा ठेक्का निकालेको आरोप लागेको छ ।

ओखलढुंगा जिल्ला र सोलुखुम्बु जिल्लाका लागी निकालिएको ठेक्कामा सूचना गोप्य राखी प्रतिपर्धामा सीमित गरेको आरोप लागेको हो ।

ओखलढुंगा निर्माण व्यवसायी संघले नागरिकको मौलिक हकको रुपमा रहेको सुचनाको हकलाई समेत कुन्ठीत पारेर भवन कार्यालयले मिलेमतोमा ठेक्का वितरण गरेको आरोप लगाएको छ । आफ्नो मुठीभित्रका निर्माण व्यावसायीलाई ठेक्का वितरण गर्ने मनसायले निकालेको ठेक्काको सूचनालाई बद्धर गर्न निवेदन समेत दर्ता गरिएको व्यावसायीले बताएका छन् । यदि निवेदनको आधारमा ठेक्का रद्ध नभए अदालतसम्म जाने तयारी भईरहेको उनीहरुले बताएका छन् ।

भवन कार्यालयले कार्तिक १२ गतेको मितिमा एक स्थानिय पत्रिकामा सिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएको पत्रिका बजारमा कुनै पनि ठाउँमा नपाएको, कार्यालयको सूचना पार्टीमा समेत नटाँसिएको र दिनु पर्ने कार्यालयमा समेत सूचना नपठाई गोप्य राखिनुले आर्थीक चलखेल र प्रलोभनमा परी ठेक्का वितरण गरेको हुनसक्ने आरोप उनीहरुले लगाएका छन् ।

गैरकानुनी तवरबाट गरिएको हार्डकपी दरभाउपत्र खरिद गर्ने प्रकृयालाई रोक्नको लागि संघले निबेदन दिइएको थियो । उक्त निवेदन माथि छलफलमा कार्यालय प्रमुखले सबै निर्माण व्यावसायी मिलेर आउन र आगामी दिनमा हुने काम सबै मिलेर गर्न प्रस्ताव गर्नुभएको थियो ।

गैरकानुनी तवरले भएको काममा मिलेर जाने सोच नभएकाले बैठकमा कुनै निष्कर्ष ननिस्किएको निर्माण व्यावसायी तथा संघका सचिव युवराज गजमेरले बताउनु भयो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८० साल असार २१ गते सरकारी कोषबाट खरिद हुने अनिवार्य विद्युतीय खरिद प्रणालीबाट गर्न निर्णय गरी निर्देशिका समेत जारी गरेको छ । विद्युतीय प्रणालीबाट अनिवार्य खरिद बिक्री गरिनुपर्ने ब्यवस्थालाई बेवास्ता गर्दै कार्यालयले हार्डकपी बोलपत्र बिक्री गरेर ठेक्का प्रकृया अगाडि बढाएको हो ।

ओखलढुंगा जिल्लाका लागि ७ वटा र सोलुखुम्बु जिल्लाका लागि १ वटा ठेक्का हार्डकपी बोलपत्र आव्हान गरिएको थियो । करिब १ करोड १५ लाख बराबरको ठेक्का हार्डकपी बोलपत्र मार्फत आव्हान गरिएको थियो ।

कार्यालय प्रमुख अनुज श्रेष्ठले भने पत्रिकामा सूचना प्रकाशन गर्न दिने हो तर सूचना कसले पायो कसले पाएन भनेर पत्रिका बोकेर हिड्ने आफ्नो काम नभएको बताउनु भयाे । विद्युतीय प्रणालीबाट ठेक्का वितरण गरिनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले आफ्नो कार्यालयमा कुनै पनि परिपत्र र जानकारी नपठाएकाले हार्डकपी बोल पत्रको सूचना प्रकाशन गरेको प्रमुख श्रेष्ठले बताउनु भयो ।

निर्माण व्यावसायीले भने सूचना प्रकाशन भएको पत्रिका सबैको मिलेमतोमा लुकाई कसैलाई पनि पत्रिका वितरण नगरेको आरोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?