अविनाशी पञ्चतत्त्वमध्येको एक वायु हो । जसलाई हावा, पवन, वात, समीर आदि नामले पनि जान्न सकिन्छ । पृथ्वी (माटो), जल (पानी), तेज (आगो), वायु (हावा) र आकाश (शून्य) यी पाँचतत्व नै यो सांसरमा विद्यमान छन् । पौरस्त्य वाङ्मयमा पञ्चतत्वको विशद् विवेचना गरिएको छ । संसारमा जति पनि वस्तु छन् ती सबै यी पाँच तत्त्वभित्र समेटिएका छन् । यी पाँचकुरा अविनाशी छन् । अवस्था एवं प्रकृतिनुसार भिन्न रूपमा बदलिए पनि मूलतः यी तत्व कहिल्यै नाशिएर जँदैनन् ।
जसरी पानी सर्वत्र घुलित हुन्छ । हरेक स्वरूपमा मिलेर हरेक प्रकारका कार्य सम्पादन गर्दछ, प्राणीलाई जीवन दिन्छ त्यसैगरी हावाले पनि हाम्रो प्राण बचाएको हुन्छ । जसरी पानी कहिल्यै नाशिएर जाँदैन, तताएपछि वाफ बनेर माथि जान्छ पुनः वर्षा भएर वर्षिन्छ । जमिनमुनि छानिदै जान्छ र निश्चित तहमा अडिएर रहन्छ त्यही पानी हामीमाथि तान्छौँ र हाम्रो काममा प्रयोग गर्दछौँ । यसैगरी वायु अर्थात् हावा पनि अविनाशी तत्त्व हो । जुन हाम्रो जीवन पनि हो । वायुमा गति हुन्छ । यसैले शब्दशास्त्रमा पनि गत्यर्थक वा धातुमा युक् प्रत्यय लाएर वायु शब्द निर्माण गरिएको छ । वेदमा ‘मरुतो देवता...’ (यजुर्वेद) भनी वायुलाई देवताको संज्ञा दिइएको छ । अष्ट दिक्पालमध्ये वायव्यकोणको अधिष्ठाता देवता वायु हुन् । वायुलाई वात पनि भनिन्छ । यही वातजन्य विकृति रहँदा शरीरमा रोग उत्पन्न हुने र तद् रोग निदानका उपाय आयुर्वेदका ग्रन्थमा उल्लेख पाइन्छ ।
जो अमर भइसकेका थिए तर इन्द्रले सात मरुद्गणलाई सातटुक्रा पार्दा ४९ वायु हुन पुगेका हुन् । सात मरुद्गणमा वायुवेग, वायुवल, वायुहा, वायुमण्डल, वायुज्वाल, वायुरेता र वायुचक्र पर्दछन् । मङ्कण मुनिको वीर्यबाट सात मरुद्गण उत्पन्न भए । यिनै मरुद्गण कल्पान्तमा दितिको गर्भमा इन्द्रको वज्रले काटिएर ४९ भएका हुन् भनी महाभारतको शल्यपर्वमा उल्लेख छ ।
आयुर्वेदका अनुसार हाम्रो शरीरमा मुख्य दश वायु छन् । जसमध्ये पाँच मुख्य र पाँच गौण मानिन्छन् । पाँच मुख्य वायुमध्ये हृदयमा प्राण, गुदद्वारमा अपान वायु, नाइटोमा समान वायु, कण्ठमा उदान वायु, सम्पूर्ण शरीरमा व्यान विद्यमान रहने गर्दछन् । यसैगरी पाँच गौण वायुमा डकार आउँदा नाग वायु, आँखा चिम्लँदा र हेर्दा कूर्म वायुु, छयूँ गर्दा कृकल वायु, हाई गर्दा देवदत्त र मरेपछि पनि शरीरमा रहिरहने– ‘धनञ्जय’ हुन् :
‘हृदि प्राणो वहेन्नित्यमपानो गुदमण्डले ।
समानो नाभिदेशे तु उदानः कण्ठमध्यगः ।।
व्यानो व्याप्तः शरीरे तु प्रधानाः पञ्चवायवः ।
प्राणाद्याः पञ्च विख्याता नागाद्याः पञ्चवायवः ।।
तेषामपि च पञ्चानां स्थानान्यपि वदाम्यहम् ।
उद्गारे नाग आख्यातः कूर्म उन्मीलने स्मृतः ।।
कृकलः क्षुत्कृते ज्ञेयो देवदत्तो विजृम्भणे ।
न जहाति मृतं वापि सर्वव्यापी धनञ्जयः ।।’
(घेरण्डसंहिता) यी वायुको सन्तुलन नै स्वस्थ शरीरका निम्ति आवश्यक रहने गर्दछ । वायुमा विकार रहँदा वातजन्य रोग लाग्नसक्छ । यसरी एक वायुतत्त्वले नै अनेक रूप ग्रहण गरेका हुन् मूलतः वायु मूल वायु नै हो जो अविनाशी तत्वका रूसमा नित्य रहिरहन्छ ।
पुराणका अनुसार सात मरुद्गण र ४९ वायु रहेका छन् । सात मरुद्गणलाई इन्द्रले सात टुक्रा पारी ४९ मरुद्गण भएको कथा श्रीमद्भागवतमा बताइएको छ । जो अमर भइसकेका थिए तर इन्द्रले सात मरुद्गणलाई सातटुक्रा पार्दा ४९ वायु हुन पुगेका हुन् । सात मरुद्गणमा वायुवेग, वायुवल, वायुहा, वायुमण्डल, वायुज्वाल, वायुरेता र वायुचक्र पर्दछन् । मङ्कण मुनिको वीर्यबाट सात मरुद्गण उत्पन्न भए । यिनै मरुद्गण कल्पान्तमा दितिको गर्भमा इन्द्रको वज्रले काटिएर ४९ भएका हुन् भनी महाभारतको शल्यपर्वमा उल्लेख छ । वायुपुराणका अनुसार पनि मरुत्को संख्या ४९ छ जसमा : सत्वज्योति, आदित्य, सत्यज्योति, तिर्यक्ज्योति, सज्योति, ज्योतिष्मान्, हरित, ऋतजित्, सत्यजित्, सुषेण, सेनजित्, सत्यमित्र, अभिमित्र, हरिमित्र, कृत, सत्य, ध्रुव, धर्ता, विधर्ता, विधारय, ध्वन्त, धुनि, उग्र, भीम, अभियु, साक्षिप, ईदृक्, अन्यदृक्, यादृक्, प्रतिकृत्, ऋक्, समिति, संरम्भ, ईदृक्ष, पुरुष, अन्यादृक्ष, चेतस, समिता, समदृक्ष, प्रतिदृक्ष, मरुति, सरत, देव, दिश, यजुः, अनुदृक्, साम, मानुष र विश् पर्दछन् । मरुत्पति भनी इन्द्रलाई चिनिन्छ ।
अन्तरिक्षमा रहने वायुका वारेका पनि पौरस्त्य शास्त्रमा चर्चा रहेको पाइन्छ । प्रवह नामको वायुले ग्रहचक्रलाई पश्चाभिमुखी बनाई नित्य घुमाएको कुरा ज्योतिषका ग्रन्थमा उल्लेख छ । यसैगरी पृथ्वीलोकभन्दा माथि वायुका सात तह रहेको कुरा यसरी उल्लेख गरिएको पाइन्छ :
‘भूवायुरावह इह प्रवहस्तदूध्र्वः स्यादुद्वहस्तदनु संवहसंज्ञकश्च ।
अन्यस्ततोद्रपि सुवहः परिपूर्वकोद्रस्याद्वाहृयः परावह इमे पवनाः प्रसिद्धाः ।।’ (सिद्धान्तशिरोमणि, मध्यमगतिवासना, श्लो. १)
अर्थात् पृथ्वीमाथि सात प्रकारका वायु विद्यमान छन् । पृथ्वीमा हुने वायुलाई भूवायु भनिन्छ । सोभन्दा माथि आवह, आवहभन्दा माथि प्रवह, प्रवहभन्दा माथि उद्वह, उद्वहभन्दा माथि संवह, संवहभन्दा माथि सुवह र सुवहभन्दा पनि माथि परावह नामको वायु विद्यमान रहेका छन् । पृथ्वीको १२ योजन दूरीसम्म भूवायु विद्यमान रहने गर्दछ । त्यो भन्दा माथि प्रवह नामक वायु विद्यमान रहने गर्दछ । जुन पश्चिमाभिमुखी (घडीको विपरीत दिशा) भई सम्पूर्ण ग्रहनक्षत्र चक्रलाई भ्रमण गराउने गर्दछन् भनी बताइएको छ (सूर्यसिद्धान्त) । यसरी हेर्दा ग्रह नक्षत्रलाई परिभ्रमण गराउने विशेष तत्त्व पनि वायु रहेको पाइन्छ । वायुको व्याप्ति सार्वत्रिक रहेको पाइन्छ । स्वरूप भिन्न भए पनि वायु सार्वत्रिक रहेको कुरा पौरस्तय शास्त्रमा उल्लेख पाइन्छ ।
स्वच्छ वायुका निम्ति पृथ्वी विकाररहित हुनुपर्दछ । यही वायुमा विकार भएकै कारण आज अनेक प्रकारका रोग लाग्नेगरेको तथ्य वैज्ञानिकले सार्वजनिक गरेका छन् । आयुर्वेदमा पनि वात विकृतिरहित हुनुपर्दछ भनी बताइएको छ । दिनानुदिन बढ्दै गएको वायुविकारले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । वायु शुद्ध भएमात्र हामी निरोगी रहन सक्छौँ ।
हामीलाई चाहिने वायु जति शुद्ध हुन्छ त्यति नै स्वस्थ शरीरका निम्ति लाभदायक हुन्छ । वायुमा विकार आयो भने शरीरमा अनेक प्रकारका रोग व्याधि लाग्न सक्छन् । यसैले वायुमा शुद्धता सार्वत्रिक अपरिहार्य रहन्छ । छयानब्बे अङ्गुल बराबरको यो शरीर कर्मरूप मानिन्छ । सामान्य सास फेर्दा शरीरबाट बाहिर निस्केको वायु-बाह्र अङ्गुलको, गीत गाउँदा सोह्र अङ्गुलको, भोजन गर्दा-बीस अंङ्गुलको, बाटो हिंड्दा–चौबीस अङ्गुलको, निदाउँदा-तीस अंङ्गुलको, मैथुन गर्दा छत्तीस अंङ्गुलको र कुनै बलको काम गर्दा अझ धेरै लामो हुने गर्दछ ः ‘षण्णवत्यङ्गलीमानं शरीरं कर्मरूपकम् । देहाद् बहिर्गतो वायुः स्वभावो द्वादशाङ्गुलिः ।। गायने षोडशाङ्गुल्या भोजने विंशतिस्तथा । चतुर्विंशाङ्गुलिः प्रस्थो निद्रायां त्रिंशदङ्गुलिः ।। मैथुने षट्त्रिंशदुक्तं व्यायामे च ततोद्रधिकम् ।।’ (घेरण्डसंहिता) यसरी वायुको अवस्थाका वारेमा पनि पौरस्त्य वाङ्मयमा चिन्तन गरेको पाइन्छ ।
जब हामी सास फेर्छौं, भित्र जाने हावा पाँच भागमा विभाजित हुन्छ र पाँच स्थानमा स्थिर हुन्छ जसलाई व्यान, सामन, अपान, उदान र प्राण वायु भनिन्छ । यी सबै मिलाएर मात्र चेतना जागृत हुन्छ, सम्झनाहरू सुरक्षित रहन्छन्, मनले काम जारी राख्छ र शरीर सुरक्षित रहन्छ । यदि यीमध्ये कुनै एक वायु स्थानमा समस्या भयो भने अन्य सबै स्थानहरू त्यसबाट प्रभावित हुन्छन् र शरीर, मन र चेतनालाई पनि रोग लाग्ने गर्दछ भनी आयुर्वेदका ग्रन्थमा उल्लेख पाइन्छ । यसरी शरीरमा वायु सञ्चरणका प्रक्रियालाई स्वस्थ राख्न प्राणायम एवं अष्टाङ्ग योग आदि आवश्यक हुने गर्दछ । मस्तिष्कमा पनि सूक्ष्म वायुले काम गर्ने गर्दछ भनी आयुर्वेदमा बताइएको छ ।
वायु सर्वत्र व्यापक छ । रूप अनेक हुनसक्छन् । अविनाशी तत्वका रूपमा पौरस्त्य वाङ्मयमा वायुको उल्लेख गरिएको छ । गत्यर्थक भएकाले ‘वायुवेगी’ भन्ने त लोक चलन नै रहेको छ । वर्तमानमा वायुविकार बढ्दै गएको छ । आजका खोज अनुसन्धानले पनि यही कुरा बताएका छन् । स्वच्छ वायुका निम्ति पृथ्वी विकाररहित हुनुपर्दछ । यही वायुमा विकार भएकै कारण आज अनेक प्रकारका रोग लाग्नेगरेको तथ्य वैज्ञानिकले सार्वजनिक गरेका छन् । आयुर्वेदमा पनि वात विकृतिरहित हुनुपर्दछ भनी बताइएको छ । दिनानुदिन बढ्दै गएको वायुविकारले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । वायु शुद्ध भए मात्र हामी निरोगी रहन सक्छौँ । वेदले वातो देवता भनी वायुलाई पनि देवता समान पूजा गर्न निर्देश गरेको पाइन्छ । यसरी पूजा गर्नु भनेको वातावरणलाई स्वच्छ र सफा राख्नु पनि हो । आज वायुका सूचकाङ्क नकारात्मक देखिरहेका छन् । जसको मूल कारण फोहोर मैला, सवारीसाधनबाट निष्कने धुवाँ धुलो, कल कारखानाबाट निस्कने धुवाँ आदि मुख्य रहेका छन् । वायुको पूजा गर्नु भनेको हाम्रो वातावरणलाई स्वच्छ राख्नु हो । वातावरणलाई स्वच्छ राख्नु हाम्रो जीवनलाई स्वस्थ तुल्याउनु हो । अतः वातावरण संरक्षणमा हामी सबै लाग्नुपर्ने समय आएको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच