गण्डकीमा सुन्तला खेती विस्तार

फाइल तस्बिर

रासस
Read Time = 7 mins

गण्डकी । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले फल दिने सुन्तलाका बोट पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो । “सुन्तला खेतीको क्षेत्रफल बर्सेनि विस्तार भइरहेको छ । उत्पादन भने घटबढ भइरहन्छ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।”

गत वर्ष अघिल्लो वर्षको तुलनामा दश प्रतिशतले सुन्तलाको उत्पादन बढेको थियो । यस वर्ष असिना, रोग किरालगायतका कारणले सुन्तला कम फलेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेशमा ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको थियो ।

किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा गत वर्ष रु दुई अर्ब ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । यस वर्ष उत्पादन घटेपछि किसानको आम्दानी पनि गुम्ने भएको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका सबै जिल्लामा सुन्तला खेती हुँदै आएको छ ।

गत वर्षसम्ममा स्याङ्जामा दुई हजार ६७, तनहुँमा १७ सय १२, गोरखामा एक हजार ८२, कास्कीमा आठ सय ९४, पर्वतमा आठ सय ७२, म्याग्दीमा सात सय ८०, बागलुङमा छ सय २२, लमजुङमा एक सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती भएको थियो । जिल्लागत रुपमा यस वर्ष सुन्तला खेती विस्तारको आँकडा प्राप्त भइनसकेको निर्देशनालयले जनाएको छ ।

सुन्तला खेती विस्तार र व्यावसायिकीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको निर्देशनालयले जनाएको छ । कार्यक्रम सुरु हुँदा उक्त क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती रहेकामा अहिले क्षेत्र विस्तार भएर एक हजारभन्दा बढी हेक्टर पुगेको जनाइएको छ ।

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायत गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम सञ्चालित छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारी, तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुने गरेको छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्‍याउँछन् ।

यस वर्ष सुन्तला याम सुरु भएसँगै बजारमा किनबेच हुन थालेको छ । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

सुन्तला खेती विस्तारसँगै किसानलाई भने बजारको चिन्ता थपिने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । उहाँले सुन्तलामा आधारित उद्योग खोल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार रोगकिराको सङ्क्रमण, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावलगायत कारणले सुन्तला खेतीमा चुनौती थपिएका हुन् ।

बोट सुकेर मर्ने रोग, औँसे किरा लगायतले पनि सुन्तला खेतीमा क्षति पु¥याउँदै आएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार निर्देशनालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र लगायतले सुन्तला खेती प्रवद्र्धनमा अनुदान, सीप र प्रविधि सहयोग गर्दै आएका छन् ।

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका-८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताउनुभयो । “सिँचाइ, मल्खाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ”, उहाँले भन्नुभयो, “नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?