सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियोः सचेतक बर्तौला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारप्रतिको निरासा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताउनुभएको छ ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताउनुभएको हो । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उहाँले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताउनुभयो । उहाँले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकीय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवासपना मात्रै हुने बताउनुभयो । उहाँले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरुमा एक प्रकारको निराशा भयो । चरम महंगि छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ । जनताको आक्रोश भयो सरकारप्रति । जनतामा ठुलो निराशा आयो देशमा केही हुँदैन कि भन्ने नैराश्यता जनताको तहमा छ र त्यसले आक्रोश बढायो । निराशा बढायो । निराशा र आक्रोश बढेको जनतामा केही धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरुले सरकारको बिरुद्धमा आक्रोश हो । सरकारसँग निराशा हो । तर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी अभियान र व्यवस्था प्रणालीलाई आघात पार्न विद्यमान शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन सकिन्छ कि भनेर त्यो आग्रह त्यतातिर संगठित गर्न खोजेको हो । त्यो असम्भव छ । त्यो दिवा सपना मात्रै हो ।’

उहाँले सरकारको अर्कमण्यताका कारण कतिपय तत्वले धमिलो पानीमा माछा मार्न खोजेको संज्ञा दिनुभयो । ‘हामी यो व्यवस्थाको विरुद्धमा, संविधानका विरुद्धमा हुने सबै गतिविधिहरुलाई निस्तेज पार्नका लागि एमाले मैदानमा उभिएर त्यस्ता प्रतिक्रियावादी शक्तिहरु, सरकारको नालायकीपन, अर्कमण्यता, कमजोरी, बेइमानीका कारणले शासकिय प्रवन्ध बिरुद्ध हुन खोजेका, धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बिरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ ।’ उहाँले भन्नुभयो ।

व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उहाँको भनाई छ । उहाँले गणतन्त्रको विकल्प नभएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ठूला राजनीतिक दलहरु मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बताउनुभयो । न्युज एजेन्सी नेपालबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?