गण्डकी विश्वविद्यालयको टोलीलाई स्याङ्जाको गलेम होमस्टेमा भव्य स्वागत

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । जिल्लाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेममा रहेको राम्चेदवी सिल्लो सामुदायिक होमस्टेमा शुक्रबार गण्डकी विश्वविद्यालयका कुलपति तथा पूर्व सङ्घीय सांसद प्रा.डा.गणेशमान गुरुङसहितको टोली पुग्यो । टोलीलाई होमस्टेका दिदीबहिनीहरुले भव्य स्वागत गरे ।

गण्डकी विश्वविद्यालयको रिसर्च सेन्टरको आयोजनामा सञ्चालित अनुसन्धान लेखन सम्बन्धी तालिमका क्रममा विश्वविद्यालयका प्राध्यापकहरुसहितको टोली गलेमको होमस्टेमा पुगेको हो ।

विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले स्थापित हुन सङ्घर्ष गरिरहेका होमस्टेहरु राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । गलेम गाउँका दिदीबहिनीहरुको मिहिनेत र एकता प्रशंसनीय रहेको भन्दै सडकको स्तरोन्नतिपछि होमस्टेसम्म आउन अझै सहज हुने र पर्यटकहरु पनि अझै बढ्ने बताउनुभयो ।

विश्वविद्यालयको टोलीलाई स्वागत गर्न पुग्नुभएका फेदीखोला वडा नं ४ का वडाध्यक्ष ख्यामनारायण पौडेलले वडाले यहाँको गोरेटो बाटो र खानेपानी लगायतका विकास निर्माणमा सहयोग गरिरहेको बताउनुभयो ।

विश्वविद्यालयका करिब ५० जना प्राध्यापक र कर्मचारीहरुको टोलीलाई स्वागत गर्न पोखराबाट सर्केटारी गलेम गाउँको सडक निर्माण समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङसहितका पोखराबासी गलेमेहरु गाउँ पुगेका थिए ।

उक्त अवसरमा वडाध्यक्ष पौडेलले फेदीखोला गाउँपालिकाद्वारा निर्मित स्थानीय पाठ्यपुस्तक विश्वविद्यालयका कुलपति लगायतलाई हस्तान्तरण गर्नुभएको थियो ।

सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क–गलेमको २ हजार ६०० मिटरको कडा भीरखण्डको ट्रयाक खुलेपछि गलेमको होमस्टेमा पोखरा काठमाडौ स्याङ्जा लगायतका विभिन्न ठाउँहरुबाट पर्यटकहरु पुग्ने क्रम बढेको छ ।
बाँदर पनि अडिन मुस्किल पर्ने भीरखण्डबाट सडक ट्रयाक खुलेपछि यातायातको सहजतासँगै होमस्टे सञ्चालन गरिरहेका दिदीबहिनी पनि खुसी देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?