खोटाङ । खोटाङको दिक्तेल बजारस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा ऋणीविरुद्ध ठगी कसुरमा अभियोगपत्र दर्ता भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम बुधबार खोटाङ जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गराएको हो ।
सहकारीका तत्कालीन अध्यक्ष मृतक अनिल जोशीसहित उहाँका पाँचजना परिवार, दुईजना कर्मचारी, सहकारी सञ्चालक समितिका आठजना नयाँ सदस्य, पुरानो कार्यसमितिका छजना सदस्य र १४ जना ऋणीसहित ३५ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दर्ता भएको छ ।
बचतकर्ता पदमकुमारी सैंजूसमेत दुई सय ६५ जनाको जाहेरीमा सहकारी सञ्चालक समिति र ठूला ऋणी गरी ३५ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये हिरासतमा रहेका नौजनाको बिहीबारबाट वयान सुरु भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले जानकारी दिनुभयो ।
नौजनाको वयान सकेपछि सरकारी वकिल र प्रतिवादीका वकिलबीच बहस हुनेछ । त्यसपछि उनीहरूलाई थुनामा राख्ने, तारिखमा छोड्ने अथवा धरौटी लिने भन्नेमा निर्णय हुनेछ । अन्य २६ जना फरार सूचीमा रहेका र उनीहरू आफैँ अदालतमा हाजिर नभएमा पक्राउ गरी ल्याइने श्रेस्तेदार खड्काले बताउनुभयो ।
दिक्तेलमा २०७२ सालमा स्थापना भएको सहकारीका अध्यक्ष अनिल जोशीको कोरोनाका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो ।
तत्कालीन अध्यक्षको निधनपछि बचतकर्ताले बचत फिर्ता माग्न थालेपछि सहकारीको बचत तत्कालीन अध्यक्ष जोशी र प्रबन्धक निर्देशक रुकु जोशीले अपचलन गरेको बाहिर आएको थियो । बचत अपचलन भएको थाहा भएपछि बचतकर्ताले दिक्तेल बजारमा दुर्ईपटक विरोध र्याली निकालेका थिए ।
कसले कति ऋण तिर्न बाँकी
सहकारीका तत्कालीन अध्यक्ष मृतक जोशी र प्रबन्धक निर्देशक रुकु जोशीको हस्ताक्षर गर्दै सहकारी ऐन २०७४ को दफा १२५ खण्ड(घ) विपरीत विभिन्न व्यक्तिलाई कर्जा लगानी गरेको अभियोगपत्रमा देखिन्छ ।
कर्जा लगेका तर नतिर्नेमा सहकारीकै तत्कालीन अध्यक्ष जोशी पनि रहेका छन् । जोशीले एक करोड ११ लाख ६७ हजार दुई सय चार, राम श्रेष्ठ र सहकारी अध्यक्ष मृतक जोशी संयुक्तमा ५६ लाख ४७ हजार नौ सय ८३, लोकेन्द्रप्रकाश राजभण्डारी ९८ लाख ९५ हजार दुई सय ६०, गगनबहादुर खत्रीले तीन लाख ६२ हजार एक सय रुपैयाँ ऋण तिर्न बाँकी देखिन्छ ।
त्यस्तै रवीन्द्रकुमार वजिमय छ लाख १५ हजार चार सय ३६, हरिप्रसाद जोशी दुई लाख १७ हजार पाँच सय ६९, सरोज÷चित्रकला श्रेष्ठ तीन लाख तीन हजार एक सय ७८, लक्ष्मण बञ्जारा पाँच लाख ४४ हजार पाँच सय ६६, ईश्वर श्रेष्ठ २६ लाख ५६ हजार तीन सय ६३, नवीन गिरी तीन लाख ९२ हजार दुई सय ९३, जसुदा पौडेल ३९ लाख ३२ हजार एक सय ९३ र सुनिल जोशीले नौ लाख ९१ हजार आठ सय ७४ रुपैयाँ ऋण तिर्न बाँकी छ । ऋणीले २५ हजारदेखि ९९ लाखसम्म ऋण लगेको पाइएको छ ।
सहकारीले १४ ठूला ऋणीलाई चार करोड ८७ लाख २१ हजार तीन सय ६२ रुपैयाँ ऋण लगानी गरेकोमा एक करोड सात लाख १० हजार तीन सय ३६ रुपैयाँ ऋण उठेको र अब तीन करोड ८० लाख ११ हजार २६ रुपैयाँ उठ्न बाँकी देखिन्छ । सहकारीसँग निक्षेप चार करोड ४७ लाख ५७ हजार दुई सय २१, जगेडा कोष १९ लाख ५८ हजार चार सय ९२ र २४ लाख ८६ हजार पाँच सय ६४ रुपैयाँ संस्थागत कोष रहेको छ ।
कारागारमा रहेको १६ रोपनी जमिन सहकारीको स्वामित्वमा छ । सहकारीले नै हलेसीमा ४८ लाखमा खरिद गरेको छ रोपनी तीन आना एक पैसा एक दाम जग्गा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सुनिल जोशीको नाममा छ । उक्त जग्गा सहकारीले आफ्नो नाममा ल्याउन कानुनी बाटो खोजिरहेको छ ।
सहकारीविरुद्ध दुई सय ६५ बचतकर्ताले चार करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो मागदाबी गरेका छन् । बचतकर्ताले सहकारीमा आठ सयदेखि ५५ लाखसम्म बचत गरेका छन् । सहकारीको सम्पूर्ण कारोबार चेकमार्फत् सहकारी अध्यक्ष मृतक जोशी र प्रबन्धक रुकुकोे हस्ताक्षरबाट भएको देखिन्छ । अध्यक्ष र प्रबन्धकले बचत अपचलन गर्दा त्यसबारेमा किन जानकारी नलिएको र अनुगमन नगरेको भन्ने सञ्चालक समितिलाई आरोप छ ।
बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु जोशी, सहकारी उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरेको थियो ।
सहकारीबाट लगेको ऋण तीन दिनभित्र तिर्न प्रहरीले सूचनासमेत जारी गरेको थियो । सूचनापछि इन्द्र कसजूले ३१ हजार, कमल गिरीले १० लाख, नवराज थापाले एक लाख ५० हजार, राजन सैंजूले एक लाख ३५ हजार र निकिता राईले दुई लाख ऋण तिरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच