-राजकुमार कार्की
ओखढुंगा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गरेमात्र देशको विकास संभव भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले निर्माण गरेको बी.पी स्मृति भवन उद्घाटन गर्न मंगलबार ओखलढुंगा आइपुग्नुभएका देउवाले यस्तो बताउनु भएको हो ।
बी.पी स्मृति भवन तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न हेलिकप्टर मार्फत ओखलढुंगा आईपुग्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले देश संघीयतामा गईसकेको र यसलाई लामो समयसम्म टिकाई राख्न सकेमात्र देशको विकास संभव हुने बताउनु भयो । देशको विकास गर्नका लागि संघीयतालाई लामो समयसम्म टिकाइराख्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सबै जाति, धर्म, लिङ्ग, वर्ग, सबै नेपालीलाई समेट्ने संविधान भएकाले नेपालको संविधान, उत्कृष्ट संविधान भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधान र संघीयतालाई कार्यान्वयन गर्दै समग्र देशको विकास गर्न सबै लाग्नु पर्छ, संविधानको सफल कार्यान्वयन र सबै नागरिकलाई अपनत्व अनुभव गराउने गरी विकास गर्नलाई नेपाली कांग्रेसको एकल सरकार बन्नु पर्छ ।’ उहाँले भन्नु भयो; ‘पार्टीलाई एकीकरण गरेर कांग्रेसको एकल सरकार बनायाैँ भने सबै नागरिकलाई अपनत्व हुने गरी विकास गर्न सक्छौ ।’ अहिलेको आवश्यक्ता विकासलाई सबैको अपनत्व हुने गरी अनुभव गराउनु पर्ने हो ।
ओखलढुंगा शहिदको जिल्ला, ऐतिहासिक जिल्ला भएको बताउँदै उहाँले यहाँका योद्धाहरुले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन आहुति समेत दिएको बताउनु भयो । ओखलढुंगा जिल्ला विकासका हिसाबले पनि अगाडि बढिरहेको जिल्ला भएको उहाँले भनाइ थियो ।
साे कार्यक्रममा सम्बाेधन गर्दै महामन्त्री गगनकुमार थापाले माओबादीले चाहेजस्तो, मधेसी पार्टीले चाहेजस्तो संविधान नभई नेपाली कांग्रेसले चाहेर बनाएको संविधान भएकाले यसलाई जोगाउने जिम्मेवारी पनि नेपाली कांग्रेसको भएको बताउनु भयो ।
संविधान कार्यान्वयन गर्न केही समस्या आएका भएपनि यस्तो समस्या नेपालमा मात्र नभएर सन्सार भरी आउने गरेको उहाँले बताउनु भयो ।
निर्वाचन प्रणालीको उदेश्य सबै वर्गको सहभागीता संसदमा होस् भनेर बनाएको तर यहाँ त्यस्तो नभई यसको दूरुपयोग गरि इष्टमित्र, नातागोता आफन्त पैसा भएका मानिसले टिकट लिएर गएको बताउँदए उहाँले यसलाई रोक्नु पर्ने बताउनु भयो । प्रदेशलाई दिनुपर्ने अधिकार केन्द्रले मुठी कसेर बसेको छ काम गर्नेलाई काम गर्न दिएको छैन यसले संविधान कार्यान्वयनमा समस्या भएकोे उहाँले भनाइ थियो ।
नेपाली कांग्रेसका नेता डा. शेखलर कोईरालाले, ओखलढुंगा जिल्ला शहिदको जिल्ला भएपनि जति विकास हुनुपर्ने हो, त्यति विकास नभएको बताउनु भयो । देशमा बेरोजगारीको समस्या छ, बेरोजगारीका कारण युवाहरु विदेसिनु पर्ने अवस्था रहेको छ । कृषिलाई आत्मनिर्भर बनाई कृषि उद्योगहरुको विकास गरेर देशभित्रै रोजगारीको सिर्जना गर्न सकिने बताउनु भयो ।
कांग्रेस जिल्ला सभापति एवं सिद्धिचरण नगर प्रमुख तेजेन्द्र खनालले संघ र प्रदेशले स्थानिय तहलाई विकास निर्माणमा असहयोग गरेको बताउनु भयो । उहाँले संघ र प्रदेशले स्थानिय तहको विकास गर्न कन्जुस्याँई नगर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति देउवा, महामन्त्री थापा, सहमहामन्त्री भिष्मराज आङदम्बे, नेता शेखर कोइराला, मीन विश्कर्मा कोशी प्रदेशका सभापति उद्धब थापा लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित अतिथीलाई ६० केजीको माला सबैलाई एकै पटक लगाएर स्वागत गरिएको थियो । जसले कांग्रेस पार्टीमा एकताको सन्देश ओखलढुंगाबाट दिन चाहेको जिल्ला सभापति खनालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच