कालीकोट । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले बुधबार तेस्रो सन्तानका रूपमा बाटोमै छोरीको जन्म दिनुभयो । योभन्दा पहिले जन्मेका पानसरका दुई सन्तान पनि काम गर्न गएका बेला बाटोमै जन्मिए । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा एक्लै मंगलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाँराले जानकारी दिनुभयो । धर्माले आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उहाँलाई सहयोग गरेको बताउनुभयो ।
‘पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेँ’ धर्माले भन्नुभयो । उनीसँग अरू कोही आफन्त नरहेकाले एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमा बच्चा जन्माएको उहाँको भनाइ छ । उहाँको योभन्दा पहिला एक छोरा र एक छोरी जन्मिएका छन् पानसराले योलगायत अन्य दुईवटा सन्तानलाई पनि बाटोमै जन्म दिनुभएको थियो ।
बाजुरामा पानसरा मात्र होइनन् यस्तै बाटोमा बच्चा जन्माउने हजाराँैका दुःख र व्यथा उस्तै छन् । केही सयमअघि बाजुराकै काँडानिवासी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरालाई जन्म दिनुभएको थियो । बाजुराको गौमुल गाउँपालिका-३ माँझपाली बस्ने २१ वर्षीया भाग्य चदाँराले पनि बाटोमा सन्तान जन्माउनुभएको थियो । त्यस्तै हिमाली गाउँपालिका-१ को बामु बस्ने नानी रोकायाले पनि बाटोमै सन्तानलाई जन्म दिनुभएको थियो । सुत्केरी व्यथा लागेपछि नानी रोकायाले तीन घण्टा टाढा रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माउनुभयो । गत वर्ष स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी ३५ वर्षीया कात्तिका बिकले पनि बाटोमा नै बच्चालाई जन्म दिनुभएको थियो । सुत्केरी व्यथा लाग्नेबित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लग्दै गर्दा ताहाडा खोलानजिकै बाटोमा कात्तिकाले छोरालाई जन्म दिनुभएको थियो ।
यी त केही उदाहरण मात्रै हुन् । बाजुराको दुर्गम गाउँका आमाहरू बाटोमा धेरै र घरमा कम बच्चा जन्माउने संख्या निकै कम रहेको रुगिन स्वास्थ्य चौकीमा कार्यरत विमला पाण्डेले बताउनुभयो । बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम भएको जानकार बताउँछन् ।
स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र सुत्केरीको उद्धार
भौगोलिक विकटता, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव, कच्ची बाटो, यातायातको सहज पहुँच नहुँदा कर्णाली र सुदूरपश्चिम पहाडका महिलाहरू बाटोमै सुत्केरी हुन बाध्य छन् । प्रसव वेदनाले तड्पिएका महिलाहरूले बाटोमा बच्चा जन्माउनुको समस्या झेलिरहेका छन् । उनीहरू सुरक्षित प्रसूति सेवाबाट वञ्चित भएका छन् । सामान्य उपचारसमेत गर्न नसक्ने गाउँका स्वास्थ्य संस्थाहरूमा प्रसूति सेवा उपलब्ध हुनु परको कुरा हो । त्यसैले कर्णाली र सुदूरपश्चिमका कतिपय महिला घरमै सुत्केरी हुने गर्छन् । स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र सुत्केरीको उद्धार गरिन्छ । त्यसमाथि समयमा उपचार नपाउँदा कतिले अकालमै ज्यान गुमाउँछन् ।
गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामै नेपाली सेनाले कर्णालीका नौ र सुदूरपश्चिमका ६ जिल्लाबाट सुत्केरीको उद्धार गरेको तथ्यांक छ । कर्णालीका २६ र सुदूरपश्चिमका १५ गरी ४१ जना सुत्केरीको उद्धार नेपाली सेनाले गरेको थियो । कर्णालीका डोल्पा, मुगु, दैलेख, हुम्ला, रुकुम, जुम्ला, कालीकोट, जाजरकोटलगायत ठाउँबाट सुत्केरीको उद्धार गरिएको थियो । त्यस्तै सुदूरपश्चिमको बैतडी, डोटी, डडेलधुरा, बाजुरा, दार्चुला, अछामबाट बेथाले तड्पिएका महिलाका उद्धार नेपाली सेनाले गरेको थियो ।
सामान्य उपचारसमेत गर्न नसक्ने गाउँका स्वास्थ्य संस्थाहरूमा प्रसूति सेवा उपलब्ध हुनु परको कुरा हो । त्यसैले कर्णाली र सुदूरपश्चिमका कतिपय महिला घरमै सुत्केरी हुने गर्छन् । स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र सुत्केरीको उद्धार गरिन्छ । त्यसमाथि समयमा उपचार नपाउँदा कतिले अकालमै ज्यान गुमाउँछन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली र पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा समस्या देखिई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालित छ । जसअनुसार महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याएर गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।
दुर्गममा छोएन निःशुल्क हवाई उद्धारले
दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार गरिन्छ । त्यसका लागि ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७५’ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । त्यस्तै, हवाई उद्धार कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७७’ फागुन ६ २०७७ को मन्त्रीस्तरीय निणर्यबाट स्वीकृत भएको थियो ।
सडक यातायात नभएको दुर्गम हिमाली र पहाडी जिल्लाका महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य कार्यक्रमअन्तर्गत हवाई उद्धारको व्यवस्था भए पनि अहिले दुर्गम गाउँका महिलाहरूले ती सुविधा उपभोग गर्न पाएका छैनन् ।
त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने उल्लेख छ । प्रसूति हुँदा आवश्यक परामर्श, प्रसूति सेवा, आकस्मिक प्रसूति सेवा, आधारभूत आकस्मिक प्रसूति सेवा, नवजात शिशुको लागि अत्यावश्यकीय सेवा र नवजात शिशुको आकस्मिक सेवा पाउने अधिकार हुने ऐनमा छ ।
कानुनले हरेक नेपाली महिलाका लागि सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको व्यवस्था गरे पनि कर्णाली, सुदूरपश्चिमलगायत दुर्गम ठाउँका महिला बाटोमा सुत्केरी हुन बाध्य भएका छन् । समयमा उपचार नपाउँदा कतिपय आमाले ज्यान गुमाउने गरेका छन् भने कति शिशुको गर्भमा वा जन्मिनेबित्तिकै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को रिपोर्टअनुसार गर्भावस्था र प्रसव पीडाका बेला पर्याप्त स्वास्थ्य सुविधा नपाएकाले विश्वभर हरेक दुई मिनेटमा एक महिलाको मृत्यु हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच