दोहा । इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले आइतबार बताउनुभएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले दोहा फोरममा भन्नुभयो, ‘कतार राज्यको रूपमा हाम्रा साझेदारहरूसँग हाम्रो प्रयास जारी छ । हामी हार मान्दैनौं ।’ उहाँले प्रसंगलाई थप्दै भन्नुभयोे, ‘बमबारीको निरन्तरताले हाम्रो वार्ता प्रयासमा जटिलता भने ल्याएको छ ।’
गत अक्टोबर ७ मा भएको आक्रमणमा हमासले एक हजार २०० व्यक्तिको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनाएपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको इजरायली तथ्यांकले जनाएको छ । इजरायली आक्रमणका कारण गाजामा कम्तीमा १७ हजार ७०० व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतार वार्तामा एक प्रमुख मध्यस्थकर्ता हो । कतारको निरन्तरको वार्ता र शान्तिको प्रयासको परिणामस्वरूप सात दिनको युद्धविराम भएको थियो । उक्त अवधिमा धेरै इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदी र मानवीय सहायताको आदान-प्रदान भएको छ ।
कतारका प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी प्रयास जारी राख्नेछौं, हामी बन्धकहरूलाई रिहा गर्न र युद्ध रोक्न पनि प्रतिबद्ध छौं,’ उहाँले भन्नुभयो, ‘हामीले दुवै पक्षबाट समान इच्छा प्रकट भएको देख्दैनौं ।’
यसअघि दोहा फोरमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल-हमास द्वन्द्वको समाधानलाई कमजोर पार्ने भू-रणनीतिक विभाजनका कारण सुरक्षा परिषद् पंगु भएको बताउनुभएको थियो ।
गाजायुद्ध विरामको आहृवान गर्ने प्रस्तावलाई अमेरिकी भिटोले रोकेको दुई दिनपछि उहाँले युद्धमा ढिलाइ हुँदा उक्त निकायको ‘अधिकार र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पारिएको’ बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मानवीय युद्धविरामको घोषणाका लागि मैले आफ्नो अपिल दोहोर्याएको छु । दुःखको कुरा, सुरक्षा परिषद्ले त्यसो गर्न सकेन । म प्रतिबद्धता व्यक्त गर्न सक्छु हार मान्दिनँ ।’
गुटेर्रेसले गाजामा दुई महिना लामो संघर्षपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउनुभएको थियो । उहाँले संयुक्त राष्ट्रसंघको बडापत्रको विरलै प्रयोग हुने धारा ९९ लाई प्रयोग गर्दै राष्ट्रसंघको महासचिवको हैसियतमा ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न खतरा हुनसक्ने कुनै पनि विषय’प्रति सुरक्षा परिषद्को ध्यानाकर्षण गराउनुभएको छ । दशकौंदेखि संयुक्त राष्ट्रसंघका प्रमुखले यो धारालाई विरलै प्रयोग गरेका थिए ।
गुटेर्रेसले दोहा फोरममा भन्नुभयो, ‘हामी मानवीय प्रणाली ध्वस्त हुने गम्भीर जोखिमको सामना गरिरहेका छौं । स्थिति तीव्र गतिमा विपत्तिमा परिणत भइरहेको छ र यसले समग्र प्यालेस्टिनी र यस क्षेत्रको शान्ति र सुरक्षामा सम्भावित अपरिवर्तनीय प्रभाव पार्नेछ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच