आज बाला चतुर्दशी पर्व मनाइँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व देशभर मनाइँदैछ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।

शत बीज छर्ने चलन

हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो । मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।

शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?

शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ ।

बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

शत बीज छर्ने किंवदन्ती

शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए । बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् । हाम्रो पात्रोबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?