जनकपुरधाममा विवाहपञ्चमी महोत्सव आजदेखि सुरु, पुस २ गते विधिवत् समापन हुने

हिमालय टाइम्स
Read Time = 4 mins

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ ।

सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उहाँसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताउनुभयो ।

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पु¥याइन्छ । यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पु¥याइन्छ ।

भगवान् रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहिआएको छ । भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई घुमाएर नगर दर्शन गराइएको छ । यस्तै, दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रङ्गभूमि मैदानमा सीतारामको प्रतिमा निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताउनुभयो । मूर्ति बनाउन अन्नको मात्र प्रयोग गरिने छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?