एजेन्सी । इजरायल-हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजिए)को आपत्कालीन बैठकमा पारित भएको छ । १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अष्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे समावेश छन् ।
यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गर्नुभएको थियो । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आहृवानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिण्डा थोमस-ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताउनुभयो । संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताउनुभयो । युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उहाँले प्रस्ताव अस्वीकार गर्नुभयो ।
महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्न युद्धविराम एकमात्र उपाय भएको बताएका छन् । संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्ने बताउनुभएको छ । फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताउनुभयो ।