✍️ चन्द्र रानाहँछा
सपनामा-
भीर-पहराको फेदमा रोइरहेको हुन्छु ।
छाबुक्लाहरूमा दिवंगत नानीहरूको हाडखोरसँगै
रुङरी खोजिरहेको हुन्छु
पहिरोको धारमा भयभीत एकलै उभिरहेको हुन्छु ।
इन्द्रेणीको धनुकाँड भिरेर
खोलाको जंघारमा बाढी पर्खिरहेको छु सपनामा-
म आँधी बोलाइरहेको हुन्छु ।
हुन्छन् कति-
डाँडा, हिमचुली र अग्ला- अग्ला पर्वतमाला...
जहिल्यै म-
आकाशको नीलो शून्यता च्यातेर
गहिरोमा हराइरहेको हुन्छु ।
खरुकि जुनि-
एकलास पखेरुमा
डढेलोले निहत्था सल्किरहेको हुन्छु ।
चित्कार घोलिएर निस्लोट धुँवा म
आकाश थुरिरहेको हुन्छु ।
सपनामा-
निर्जन चिहानघारीमा
छाती पिट्दै घोप्टिरहेको हुन्छु ।
औंला काटेर रगतले
चौतारमा तिम्रो चित्र कोरिरहेको हुन्छु ।
प्रत्येक ऋृतुभरिका रंग बटुलेर
यादको बेदाग क्यानभासमा
आफ्नो आँसु पोखिरहेको हुन्छ ।
सपनामा-
जुलुस बीचमा आकाशतर्फ
मुठ्ठी उजाइरहेको हुन्छु
हातमा मसाल समातेर चर्का नारा लाउँदै
तुफान दौडिरहेको हुन्छु
सहिद पार्कमा एक अज्ञात प्रतिमा सोधिरहेको हुन्छु ।
प्रतिमामा
नलेखिएको एउटा अन्तिम नाम खोजिरहेको हुन्छु ।
सपनामा-
म भागिरहेको हुन्छु
म हारिरहेको हुन्छु
सपनामा-
एउटा वियोगान्त अतित जलाइरहेको हुन्छु ।
मुटु खाने यादहरू काट्न
आफ्नै हात अर्जापिरहेको हुन्छु ।
मलाई मात्रै किन यस्तो हुन्छ सपनामा ?
अब म सपनाको विरुद्धमा उभिन्छु !
विपनामा-
रक्सिले नुहाइदिन्छु म प्रत्येक वृद्ध साँझलाई
मातेपछि घाइते साँझ-
बेपर्वाह कुल्चदै मेरो संवेदनालाई
सरापिरहेका हुन्छन् मेरा शुभेच्छुकहरूले
निर्बाध थुक्दै मेरो निरीहतालाई
चिथोरिरहेका हुन्छन् बैरीहरूले ।
सम्झाएर उठाउँछु
भुइँमा लम्पसार आफूलाई
आफ्नै मन दुश्मनी मलेर दागा धर्दै मलाई
पर-पर भागिरहेको हुन्छ ।
गुम्बा वरपर
बतासमा नृत्यरत लुङ्दरहरूले
आँखा छोप्न नसकेर
पहेंलिँदो घामको अस्ताउँदो अनुहारमा
आफ्नो मलिन छायाँ टाँग्न नसकेर
अब म ठीक यतिबेला
यो विद्रुप परिवेश च्यातेर निस्किएको छु बाहिर
यद्यपि-
यात्रा आफ्नै भएर के गर्नु
गन्तव्य जब अर्कैको भइदिन्छ
आँखा आफ्नै भएर के गर्नु
आँसु जब अर्कैको जमिदिन्छ
घाउ आफ्नै भएर के गर्नु
जब पटकपटक अरू नै बल्झिदिन्छ ।
मेरै मात्र किन यस्तो भइदिन्छ बिपना ?
म अब विपनाको विरुद्धमा छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच