कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

हिमालय टाइम्स
Read Time = 3 mins

मोरङ । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्‍याइएकोप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

बेलबारी-३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उदघाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले  आरोप लगाउनुभयो  ।

उहाँले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गर्नुभयो । उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले बेलबारी नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति बेलबारी नगरपालिकाले गहिरो खेद प्रकट गरेको छ ।

प्रादेशिक अस्पतालसँग पटक-पटक समन्वय र सहकार्यका लागि आवश्यक छलफल भएको जानकारी गराउँदै बेलबारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको बेलबारी नगरपालिकाका प्रवक्ता राईले बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य तथा बेलबारी नगरपालिकाका पूर्वप्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले चाँडै कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजीसहित सरोकारवालाको बैठक राख्ने बताउनुभएको सुवेदीले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?