एक रातको पानीले काठमाडौं उपत्यका अस्तव्यस्त

सडक, घर, विद्यालय क्षेत्र जलमग्न, अधिकांश राजमार्ग अवरुद्ध

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । एक रातको अविरल वर्षाले काठमाडौं उपत्यका अस्तव्यस्त बनाएको छ । सोमबार रातिदेखि लगातार परेको वर्षाले उपत्यकाका तीन जिल्ला बाढी र डुबानले तहसनहस पारेको हो । मंगलबार बिहानसम्म परेको भारी वर्षाले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँ डुबानमा परेका हुन् । उपत्यकाका विभिन्न नदी र खोलामा आएको बाढीले तीन जिल्लामा डुबान भएको हो । नदी तटीय क्षेत्रका घरहरू बाढी र डुबानले प्रभावित भएका हुन् । विशेषगरी बागमती नदी किनारका सुकुम्बासी बस्ती बाढीको चपेटामा परेका हुन् । बागमतीमा आएको बाढी उनीहरूका घरभित्र पसेको थियो । भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न भएका थिए । भारी वर्षाका कारण काठमाडौं उपत्यकाका गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगर, ढुंगेधारा, बल्खुलगायत क्षेत्र डुबानमा परेका हुन् । त्यस्तै सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । बल्खुको तरकारी बजार, टेकु पुल आसपास पनि डुबानमा परेको थियो ।

यस्तै, भारी वर्षाका कारण भक्तपुरका विभिन्न ठाउँहरू डुबानमा परेका थिए । हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्र डुबानमा परेको हो । भक्तपुरको सिद्धि स्मृति अस्पतालसमेत जलमग्न बनेको थियो । बाराही स्थानलगायत क्षेत्र र धान खेतहरू पनि डुबानमा परेका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका-१ मा वीरबहादुर केसीको चारकोठे घर भत्किएको हो । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाब अति बढेको थियो । विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह खतरा तह पार गरेको थियो ।

बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती आदि खोलामा पानीको बहाव बढ्दा खोला छेउका बस्ती डुबानमा परेका थिए । बागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी बस्ती डुबानमा परेको थियो । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको थियो । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरू जलमग्न बनेका थिए । काठमाडौं उपत्यका मात्रै होइन देशका विभिन्न क्षेत्रमा मंगलबार भारी वर्षा भएको थियो । मंगलबार धनुषालगायत सुदूरपश्चिममा समेत ठूलो पानी परेको थियो ।

बाढी-पहिरोबाट दुई महिनामा ५८ जनाको मृत्यु, २८ जना बेपत्ता
अविरल वर्षापछिको बाढी र पहिरोबाट पछिल्लो करिब दुई महिनामा देशभर ५८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत जेठ ३१ गतेदेखि हालसम्म बाढी-पहिरोमा परेर देशभर ५८ जनाले ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार ज्यान गुमाउनेमा ३२ पुरुष, १० महिला, १६ बालबालिका रहेका छन् । यही अवधिमा बाढी-पहिरोबाट देशभर ९४ जना घाइते भएका छन् । घाइते हुनेमा ५७ पुरुष, २६ महिला र ११ बालबालिका रहेका छन् । बाढीपहिरोमा परेर २८ जना हराइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनुसार बेपत्ता हुनेमा २२ पुरुष, पाँच महिला, एक बालक छन् ।

बाढीपहिरोमा परेर ३७४ पशुचौपाया मरेका छन् । बाढीपहिरोले करिब दुई महिनामा १२५ घरहरूमा क्षति गरेको छ भने १२५ घरपरिवार विस्थापित बनेका छन् । बाढीपहिरोबाट करिब दुई महनिामा ६ वटा उद्योग, ६ वटा सरकारी विद्यालय र तीन सरकारी कार्यालयमा क्षति भएको छ । बाढीपहिरोले ४५ वटा पुल भत्किएको, ३५ वटा जलविद्युत् आयोजनामा क्षति भएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा उद्धार गरिएकी महिलाको मृत्यु, पाँचजना बेपत्ता
मकवानपुरको बागमती गाउँपालिका-५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ । पहिरोमा परेर उद्धार गरिएकी एक जनाको मृत्यु भएको हो र पहिरोमा परेर पाँचजना अझै बेपत्ता छन् । एकजनाको भने जीवितै उद्धार गरिएको छ । अविरल वर्षाका कारण आएको पहिरोले मंगलबार बिहान करिब चार बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने पाँचजना बेपत्ता भएका हुन् । पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर बागमती-५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षीया शिला पहरी, पहरीका श्रीमान् अन्दाजी २५ वर्षीय जीवन पहरी, पहरीका छोरा अन्दाजी चार वर्षीय मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका-१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा एक महिलाको मृत्यु, पाँच जना वेपत्ता
सिन्धुलीमा पहिरोले एक घर पुरिँदा मंगलबार एक महिलाको मृत्यु भएको छ । पाँच जना वेपत्ता छन् । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा हरिहरपुरगढी गाउँपालिका-१ मा बस्ने सन्तमाया स्याङ्तानको मृत्यु भएको हो । एकै घरमा बसेका सन्तमायाको श्रीमान अक्कलबहादुर स्याङ्तान, जिवन पहरी, शिला स्याङ्तान, देव पहरी र सात महिनाका दिव्या पहरी वेपत्ता हुनुभएको हो । उहाँहरूको खोजी कार्य जारी रहेको गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीपहिरोका कारण वेपत्ता हुनुभएका हरिहरपुरगढी गाउँपालिका-१ का १९ वर्षीय पासाङ घिसिङलाई बगेरीबाट सकुशल उद्धार गरिएको छ ।

धनुषामा एकजनाको मृत्यु, एक दम्पती बेपत्ता
बाढीमा बगेर धनुषामा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपता भएका छन् । मंगलबार दिउँसो खोला तर्न खोज्दा एकजनाको मृत्यु भएको र बाढीमा आएको दाउरा संकलन गर्न गएका श्रीमान-श्रीमती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कार्यालयका अनुसार बसही खोलामा आएको बाढीमा बगेर मिथिला नगरपालिका-१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । उहाँलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कमलानदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट श्रीमान-श्रीमती बेपता भएका छन् । गणेशमान चारनाथ नगरपालिका-७ का ३५ वर्षीय साजन परियार र श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कैलालीका साढे चार सय घरमा क्षति
कैलालीमा बाढीका कारण ६ पालिकाका ४६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका ४६३ घरमा बाढीले क्षति गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् । सबैभन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका-७ को सिराधानी शिविरमा १५० घरमा क्षति भएको छ । सोमबार रातिको वर्षाले जिल्लाका घरहरूमा क्षति गरेको हो ।

जिल्ला प्रशासनको तथ्याँकअनुसार कैलारी गाउँपालिका-७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ । भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा पाँच घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ । कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ । यस्तै, जिल्लाको चुरे गाँउपालिका स्थित बुढीतोलामा पहिरोले भीमदत्त राजमार्ग भाँसिएको छ । राजमार्ग भाँसिदा सुदूरपश्चिमका सात पहाडी जिल्लासगँका यातायात सेवा बन्द भएको छ । सडक भासिएका क्षेत्रमा हजारौँ यात्रु अलपत्र परेका छन् । जिल्लामा अन्य सडक सञ्जाल सुचारु छ । मानविय क्षति भने भएको छैन ।

नेपाल-भारत सीमा स्तम्भ बगायो
बाढीले कैलालीको नेपाल-भारत सीमा स्तम्भ बगाएको छ । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-९ स्थित भैँसीघाटमा रहेको एकवटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो । नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

भीमदत्त राजमार्ग अवरुद्ध
सोमबार रातिको अविरण वर्षापछि पहिरोका कारण पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सोमबार रातिको अविरल वर्षाका कारण भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका-५ बुढीतोला खानीडाँडा खण्ड बीचमा करिब दुई सय मिटर भासिएको छ । भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने राजमार्ग हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बुढीतोलास्थित गोदावरी नगरपालिका-४, खानीडाँडालगायत चार÷ पाँच ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध भएपछि अहिले दर्जनौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको प्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?