म्याग्दी । एक-डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर,अहिले समय फेरियो गाउँ गाउँमा विकासको पूर्वाधारहरुको पहुँच पुगेपछि दुर्गम गाउँको मुहार पनि उज्जेलिएको छ ।
गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभूति गरिएको छ । गाउँका वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । खरबारीको घाँस ट्याक्टर वा मोटरसाइकलमा गोठमै पुग्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल पसलमा पु-याउन सकिन्छ ।
अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति,विकास र अवसरलाई सदुपयोग गर्ने युवा । “युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्” मंगला गाउँपालिका २ का ७४ वर्षिय हरिकृष्ण पौडेलले भन्नुभयो “मुलुकमा आएको ठुलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि शहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरु प्रति त कसैको आँखै लाग्दैन ।”
म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको संख्या बढ्दै गएपनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् ।
“स्कुले बालबालिकाहरुदेखि लिएर ४५ वर्षिय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ” के वि एकेडेमी दरबाङका शिक्षक मिनबहादुर सुनारले भन्नुभयो “कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।”
“युवाहरु आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन वाध्य भएका हुन्” शिक्षक सुनार भन्नुहुन्छ “फलानोको छोरो विदेश गएर यो गर्यो, त्यो गर्यो, तँ गाउँमै हल्लिएको छस्, खाएको छस्, बूढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ, वातावरण नै यस्तो भैदिए पछि एक्लै युवाले मात्रै के के पो गरोस् ।”
युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुन- नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेका यहाँका जानकारहरुको भनाइरहेको छ ।
रोजगारीका लागि विदेश पसेका युवाहरुबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको बैंक तथा वित्तिय संस्थाहरुको तथ्याङ्क छ ।
रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोरा छोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यती सजिलै बिर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै बाँकी रहेको बेनी नगरपालिका २ बगरफाँटका ६८ वर्षिय पदमपाणी शर्माले बताउनु हुन्छ ।
पैसा भयो, खाद्यान्न भएन
म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको छ बगरफाँट गाउँ । राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसहरु भएको यो गाउँ बेनी नगरपालिका वडा नं २ मा पर्छ ।
यहाँका अधिकांश युवाहरु विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवाहरु पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुक यहाँका युवाहरुको गन्तव्य हुने गरेको छ ।
गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधारहरु यहाँ उपलव्ध छन् । गाउँको शिरानमा जंगल,पुछारमा म्याग्दी नदी र बिचमा समथर उर्वर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाण्डौ,पोखरा जस्ता सहरमा घर घडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने,उत्पादन र विक्री गर्नेतर्फ ध्यान नजाँदा आयातित खाद्यान्नको भरमा यहाँका मानिसहरुको दैनिकी चल्छ ।
गाउँमा जति जति विदेशी आम्दानी भित्रिदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँहरुको यही अवस्था रहेको छ ।
बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाँझिदै गएकोमा चिन्तित हुनुहुन्छ । डेढ दशक अघिसम्म स्थानीय कृषि उत्पादनले नै खान पुग्ने यो गाउँमा अहिले बोराका बोरा खाद्यान्न बजारबाट ल्याएर खानु पर्ने अवस्थालाई उहाँले गाउँको सह गएको भनेर बुझ्नुभएको छ ।
उपाध्यायका अनुसार केही वर्षयता गाउँहरु परनिर्भर बन्दै गएका छन् । न गाउँमा खेतीपातीका लागि मल पाइन्छ, न दुध,दही र घिउ नै । पशुपालन गर्ने चलन हट्दै जाँदा खाद्यान्न उत्पादनमा पनि कमी आउँदै गएको छ ।
“गाउँ अब गाउँ जस्ता रहेनन्” उपाध्यायले भन्नुभयो “गाउँको सह गयो, उत्पादन हरायो । रैथाने सीप र परम्परा पाखा लागे । स्थानीय उत्पादनका परिकारहरु नमीठा हुन थाले । खाजामा मकै,भटमास,रोटी होइन चाउचाउ,मम र केके जाती आउन थाले ।गाउँमा आएको पैसा खाद्यान्न र अनुत्पादक क्षेत्रमा खर्च हुन थाल्यो ।”
म्याग्दीमा दुई दशक अघिसम्म कोदो,मकै,धान,भाँगो,गहुँ लगाएतका बाली राम्रो हुने गर्दथे । अहिले स्थनीय जातका रैथाने बालीहरु हराएर गएका छन् । जिल्लाको उत्पादनले मुस्किलले पनि छ महिना खान नपुग्ने अवस्था छ । ६ महिना बढीका लागि आयातित खाद्यान्नको भर पर्नुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
पशुपालन घट्दै गएको छ । व्यवसायिक रुपमा केही युवाहरुले गरेको कृषि पेसा रहर लाग्दो देखिए पनि उत्पादित कृषि उपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यवसायिक कृषकहरुले बताउन थालेका छन् ।
वार्षिक करोडौं रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा कृषकहरु निरास बनेका म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
“बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ । तर,यहाँको अर्गानिक उत्पादन व्यपारीहरुले सस्तोमा खोज्छन्” उहाँले भन्नुभयो ।
जिल्लामा भेडापालन व्यवसाय पनि घट्दै गएको छ । मासुका लागि बाहिरबाट ल्याइएका खसी बोका नै खपत हुने गरेका छन् । भेडाको ऊनबाट कपडा बुन्ने चलन पनि हराएको छ । खाने नुनदेखि लगाउने सुनसम्म सबै कुरामा परनिर्भरता बढ्दै गएको स्थानीय कृषकहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच