२०४६ पछिको प्रजातान्त्रिक अवधिमा राजनीतिले सही बाटो लिन नसक्दाको प्रत्यक्ष उदारहण नेपाली अर्थतन्त्र र समाज छ । प्रजातान्त्रिक पद्धतिमा राजतन्त्रात्मकबाट गणतन्त्रमा आउनासाथै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा समाहित गराउन जसरी पचासको पूरै दशक र साठी पनि विनाकाम जस्तै सकियो । मूलधारका राजनीतिक दल, तिनका नजिक भएर सत्ता र स्रोतसाधनको स्वाद पाएकाहरू यो कुरा कुनै हालतमा स्वीकार गर्ने पक्षमा देखिँदैनन् । विगत तीन दशकदेखिको वास्तविकता यही हो । प्रत्येक समाजको विकासमा गुणात्मकताले व्यापकता पाउनुपर्नेमा थोरै संख्यात्मक उपलब्धि तर नकारात्मक उडन्ते कुरामा गुरिरहेका छौं ।
समाज आर्थिक रूपमा पछि पर्यो, सामजिक रूपमा ध्वस्त भयो, सांस्कृतिक रूपमा यता न उताको हुँदो छ । मुलुकको राजनीति मियो नभएको दाइँजस्तो हुँदै गएको छ । विद्यमान शासन पद्धति बहुदलीय राजनीतिक प्रणालीमा आधारितजस्तो देखिन छोडेको छ । राजनीतिक दलका शीर्षस्थ नेताहरूको कार्टेलिङ छताछुल्ल देख्न सकिन्छ । कार्यकर्ता कसरी हुन्छ नेतृत्वको पुच्छर समाउनमै व्यस्त छन् । शीर्षस्थ नेताहरूको राजनीतिक कठालो विवेचनात्मक रूपमा जबसम्म सचेत कार्यकर्ताले समाउन सक्दैनन् तबसम्म राजनीतिले सही बाटो समाउन सक्दैन । आन्तरिक आर्थिक क्षेत्रमात्र नभएर आजको भूमण्डलीकरणको समयमा हाम्रो विदेशी कूटनीतिले आफ्नो स्थान लिनसकेको छैन । दलीय भागबण्डा र अस्तव्यस्तताको असर स्पष्टै छ । मुलुकको शासन व्यवस्था आन्तरिक राजनीतिक समीकरण कमजोर छ तर कुनै मुलुकको बाहृय मुलुकसँगको कूटनीति बिग्रिन गयो भने अवस्था सम्हाली नसक्नु हुन्छ ।
नेपाली राजनीतिले दिशानिर्देश गर्न नसकेको पक्ष भ्रष्टाचारको भयावह हो । नीतिगत रूपमा झाँगिँदै गएको भ्रष्टाचार कम हुनुको साटो दिनानुदिन सबै तह र तप्कामा संस्थागत हुँदै गएको पाइन्छ ।
नेपालजस्तो आर्थिक रूपमा कमजोर, अल्पविकसित तर भूराजनीतिक रूपमा भारत र चीनबाट घेरिएको शंवेदनशील अवस्थिति भएको मुलुकका लागि अन्य क्षेत्रका मुद्दाहरू चाहिँदैन । आन्तरिक राजनीतिक समीकरणमा जो कोही आउने सम्भावनालाई नकार्न सकिएन तर विदेशीको मामिलामा थोरै शंवेदनशील हुनसकेको भए भलो हुने थियो । जस्तो कि माओको फोटो जलाउने मान्छे राष्ट्रपति बनाएर चीनको औपचारिक भ्रमणमा पठाउँदा नेपालप्रतिको चिनियाँ प्रभाव कस्तो हुनजाला भन्ने कुरा सरकार चलाउनेले बुझ्नुपर्ने होइन र ? चीन तथा भारततिर लम्पसार हुनु सफलताको कडी कुनै हालतमा होइन । सत्ता केही समयका लागि लम्बिएला तर मुलुकको हितमा काम गर्ने एवं सुधार ल्याउने सम्भावना देखिँदैन ।
बाहृयमात्र नभएर आन्तरिक राजनीतिले पनि स्थायित्व प्राप्त गर्न सकेको छैन । नेपाली राजनीतिका प्रमुख हस्ती व्यक्ति तथा दलहरू स्वयं बहुदलीय विधि, प्रक्रिया, पद्धति र संविधानभन्दा माथि उक्लेर हास्यास्पद निर्णयसँगै दूरगामी असर पर्ने भाषणबाजी गर्दै हिँडेका छन् । पछिल्ला केही घट्नाक्रमले मूलधारका दलले जातीयता नाराको सहायताले सस्तो प्रचारबाजीसगै सत्तामा पुग्ने काम गरिरहेका हुन् कि भन्ने आभाष देखिन्छ । आफ्नो समयमा मधेससहित समग्र पूर्वी पहाडमा जातीय रंगलाई राजनीतिक हतियार बनाएर सत्तामा पुगेका नेता, कार्यकर्ता स्वयं सरकारमा लामो समय बस्दा समस्या जहाँको त्यही छ । न जरो समाउन सकिएको छ, न त टुप्पो पत्ता लगाउन । यस्ता घट्ना निरन्तर दोहोरिरहने हो भने राजनीति सुध्रिएर जान सक्दैन । आर्थिक पक्षले सही बाटो समाउन सक्दैन ।
नेपाली राजनीतिले दिशानिर्देश गर्न नसकेको पक्ष भ्रष्टाचारको भयावह हो । नीतिगत रूपमा झाँगिँदै गएको भ्रष्टाचार कम हुनुको साटो दिनानुदिन सबै तह र तप्कामा संस्थागत हुँदै गएको पाइन्छ । अवस्था कस्तोसम्म भइसेकेको छ भने भ्रष्टाचार नगर्ने व्यक्ति एवं संस्था कुनै तहमा आउन नसक्ने यदि आइहाले काम गर्नसक्ने अवस्था देखिँदैन । आखिर यसको जरो समाउने हैसियत र क्षमता कसले राख्ला ? आजभन्दा तीन दशकअगाडि सामान्य जीवनस्तर जीउन हम्मेहम्मे पर्ने प्रमुख दलका शीर्षस्थ थुप्रै नेताको एकाएक बदलिएको जीवनशैलीले चकित बनाएको छ ।
यसको फन्डिङ कसले गर्छ ? नेताहरूको आयको स्रोत के ? किनभने आम्दानीविनाको विलासी जीवनशैली कसरी सम्भव हुन्छ ? यदि कोही कसैले सहयोग गरे तापनि विनास्वार्थ आजको चरम पुँजीवादी संस्कार मौलाएको समयका कसले त्यत्रो छाती गर्ला ? लोकतन्त्रमा सार्वजनिक व्यक्तिहरूको जीवनशैलीको धेरै अर्थ हुने गर्छ । सामाजिक व्यक्तिहरूको हरेक क्रियाकलाप सार्वजनिक हुने भएकाले विवाह, भोज, भतेर तथा खर्चको हिसाबकिताब गरेरमात्र गर्नुपर्ने हुन्छ । नितान्त साम्यवादी दर्शन, नीतिहरूमा टेकेर सर्वसाधारणलाई विश्वस्त तुल्याएर क्रान्तिको भ्रम छर्न सफल व्यक्ति तथा समूहहरूको सत्तारोहणपछिको जीवनशैली खर्बौंपतिहरूको जस्तो हुनजाँदा आमसर्वसाधारणले कसरी बुझ्ने ? आमसर्वसाधारणले सकारात्मक परिवर्तन बारेमा कसरी बुझ्ने ? अहिलेको प्रमुख पोलिटिकल डिलिमा हो ।
अन्ततः यस किसिमका गतिविधले समाजको फाइदाजनक सम्भावित लगानीलाई अनुत्पादक तथा सट्टेबाजी जस्तो अर्कै क्षेत्रतर्फ परिणत गर्ने क्षमता राख्ने गर्दछ । व्यवसायीहरूको घाटा व्यापारलाई सुधार गर्न सकिएको छैन । आममानिसमा वस्तुसेवाको मागप्रति उत्साह जाग्न सकेको छैन । व्यवसायी थप लगानीमा उत्साहित हुन सकिरहेका छैनन् । बैंक तथा वित्तीय क्षेत्रले धमाधम ब्याजदर घटाइरहेका भए तापनि लगानी वृद्धिमा ठोस काम हुनसकेको छैन । केन्द्रीय बैंक प्रत्येक १५ दिनमा उल्लेख्य रकमको रूपमा बजारबाट मुद्रा खिचिरहेको छ । बंैकमा थुप्रिँदै गएको निक्षेपले वित्तीय क्षेत्रको टाउको दुखाइको विषय बनेको छ ।
कृषिजन्य उत्पादनमा वर्षेनी कमी हुनुमा सबै विकृतिको जड वैदेशिक रोजगारलाई मात्र दिएर उम्कने अवस्था छैन । विद्यमान उत्पादनको उचित बजारीकरण, भण्डारन, कृषकले किन उचित मूल्य पाइरहेका छैनन् यो विषयको खोजी नितान्त आवश्यक छ ।
मिडियामा आएका समाचारले स्थापित व्यवसायी आफ्नो लगानी सुरक्षाको उपाय सोचिरहेका छन् । कूल गार्हस्थ उत्पादनको ८० प्रतिशत भन्दा बढी हिस्सा निजी क्षेत्रको योगदानमा आधारित भएकाले सरकार निजीक्षेत्रप्रति सचेत हुनैपर्ने देखिन्छ । मुलुकभित्र रोजगारी सिर्जनाका लागि निजी लगानीमा आधारित व्यवसायको संस्थागत विकासमा नीतिगत सहज वातावतरण पहिलो शर्त हो । व्यवसायीहरूको पलायनमा घाटामात्र कारण हो कि समग्र राजनीतिक वातावरणमै समस्या छ, विश्लेषण आवश्यक छ । व्यावसायिक वातावरणको सिर्जनाका लागि वस्तुगत कारणको खोजी गरिएन भने घरमा आगो लागेपछिको इनार खनेको कथाजस्तो हुनेछ । भौगोलिक एवं पूर्वाधारको रूपमा तराईबाहेक हाम्रो भूगोल धेरै व्यवसायीमैत्री भएको पाइँदैन । स्थिर पूर्वाधार जस्तो भूमि, भवन, मेसिनरी, प्रविधिमा सुरुमै ठूलो लगानी गर्नुपर्ने बाध्यता छ । त्यसैगरी नीतिगत व्यवस्थाको साथमा करसम्बन्धी कानुन व्यवसायमैत्री छैनन् भनेर व्यवसायी कुरा गरिरहेका हुन्छन् ।
व्यवसायीप्रतिको समाजिक सोचले लगानीलाई धेरै हदसम्म प्रभाव पारिरहेको छ । एकातिर ठूलो रकम लगानी गरी प्रतिफल आउने समयमम्म छिमेकीका आफन्तहरूले विदेशबाट उल्लेख्य रकम पठाउँदाको सामाजिक मनोविज्ञानले नेपाली भूमिमा लगानी तथा व्यावसायिक क्रियाकलापको निर्धारण हुनेगरेको छ भने विप्रेषणबाट भित्रिएको वार्षिक औसत १५ खर्बभन्दा बढी रकम अन्यत्रै आधारभूत आवश्यकताका वस्तुहरूमा खर्च हुनेगरेको छ । धान, मकै, गहुँ, कोदो, फापर, आलु, दलहन, तेलहन, तरकारी, फलफूललगायत आफैंले उत्पादन गर्न सकिने वस्तुमा पनि आयतमै आश्रित छौं । आखिर यो सब किन भइरहेको छ भन्ने कुराको जवाफ कसैले दिन सक्दैन । युवाको वैदेशिक रोजगार हो वा हाम्रो अल्छी प्रवृत्ति वा परनिर्भरतामा रमाउन थालिसकेका छौं ।
कृषिजन्य उत्पादनमा वर्षेनी कमी हुनुमा सबै विकृतिको जड वैदेशिक रोजगारलाई मात्र दिएर उम्कने अवस्था छैन । विद्यमान उत्पादनको उचित बजारीकरण, भण्डारन, कृषकले किन उचित मूल्य पाइरहेका छैनन् यो विषयको खोजी नितान्त आवश्यक छ । जतिसुकै भाषणबाजी गरे तापनि बिचौलियाको चकचकी हटेको छैन । मल, बिउ, सिँचाइ, औजार, प्राविधिक जस्ता पक्षको व्यवस्थापन एकादेशको कथाजस्तो छ । साथमा माटोको रसायनिक अवस्थामा आएको परिवर्तनले उब्जनी राम्रो हुनसकेको छैन । अनेकौं हन्डर खाएर गरिएको उत्पादनको समयमा समर्थन मूल्य तोकिन्छ, कृषकको अधिकार देखिँदैन । अनि कृषिमा आश्रित युवा नविदेशिएर को विदेशिन्छ त ? गाउँका बेरोजगार युवामात्र विदेशतिर नलागेर गाउँ एवं शहर दुवैतिरका मेधावी युवा विदेशिएका छन् । श्रमको साथमा प्रतिभा र पुँजी विदेशतिर दौडिरहेको छ ।
अन्त्यमा, आमसर्वसाधारणले बुझेको पक्ष भनेको यी सबै नकारात्मकताको मूल जरो निरन्तर भ्रष्टाचारको नेटवर्क कायम रहनु हो । यो जोलोले मात्र नेतृत्वको जीवनशैली रवाफिलो बन्न सकेको हो । व्यवसायी, कर्मचारी तथा राजनीतिक नेतृत्वबीचको अचम्मको अप्राकृतिक गठबन्धन नै निरन्तर रूपमा घट्दो आर्थिक प्रगतिले हाम्रो शाख आन्तरिकमात्र नभएर बाहृय जगत् पनि गिर्दो छ । पहिलो शर्तको रूपमा राजनीतिक नेतृत्व सबल तथा सफा हुन सकेमा स्वतः कर्मचारी तथा व्यवसायी सच्चिँदै जाने छन् । पहिलो दायित्व नेतृत्वकै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच