प्रा.डा.होमनाथ भट्टराई (२००१) ले लेखेको एउटा पुस्तक गोपाल पराजुली दाइले मलाई दिनुभयो र लौ पढ भन्नुभयो । घरमा ल्याएर पढ्न लागेपछि रमाइलै लाग्यो मलाई । यस पुस्तकको विषय रहेछ यस भूगोलको सिर्जना विकास र यहाँ भएका दार्शनिक चिन्तनको परिचय । दर्शनको परिभाषा मात्रै पनि भिन्नभिन्न ठाउँमा उहाँले दोहोर्याउनुभएको छ । दृश् धातुबाट बनेको यो शब्दको शाब्दिक अर्थ सरल छ देख्नु बुझ्नु र बोध गर्नु नै हो । मुण्डेमुण्डे मतिर्भिन्ना कुण्डेकुण्डे नवं पयः भने झैं एउटै विषयमा पनि अनेकौं प्रकारले व्याख्या गरेका उदाहरण त पूर्वमा नै यथेष्ट छन् । द्वैत, अद्वैत, द्वैताद्वैत, विशिष्टाद्वैत आदि । वेदबाट सुरु गरेर संसारका दर्शनको परिचय होमनाथजीले यसमा प्रस्तुत गरेको भेटिन्छ ।
मूलतः संसारकै दर्शन र पौरस्त्य दर्शनमा आधारभूत भिन्नता भनेको दुईवटा कुरामा रहेको देखिँदोरहेछ । पूर्वमा ईश्वरेच्छाबाट प्रकम्पन भएर जगत् र जीवको सिर्जना भएका अनेकौं बिम्ब प्रस्तुत गरिएका छन् । ब्रहृमाको तप, विष्णुको निद्रा, उनका कानको कानेगुजी (फोहोर ?)बाट मधु र कैटभ राक्षसको उत्पत्ति तिनैसँग विष्णुको लडाइँ हरूवाले पनि वरदान दिएको अनौठो प्रस्तुति । हिरण्यगर्भ आदिका माध्यमले उपनिषदादिले प्रक्षेपण गरेका धारणा अनेकौं भवाटवीलाई सरल शब्दावलीमा भट्टराईले प्रस्तुत गरेका छन् । वेद, ब्राहृमण, आरण्यक र उपनिषत् आदिको परिचय दिँदै पौरस्त्यजगत्मा प्रसिद्ध बनेर विकसित भएका छवटै दर्शन र प्रस्थान त्रयीका सम्बन्धमा टिप्पणी गर्दै २० वटा उपशीर्षकमा उहाँले पौरस्त्य चिन्तनका कुरालाई बिट मारेको देखिन्छ ।
पाश्चात्य दर्शनको प्रारम्भिक उद्गमस्थल ग्रीस एवं त्यसको आसपासको क्षेत्र मानिन्छ । त्यस बेलाको भूमध्यसागरका तटीय क्षेत्रयुरोपको दक्षिणी भाग (ग्रीस, इटली आदि) अफ्रिकाको उत्तरी भाग (अलिक्जान्ड्रिया) एसियाको पश्चिमी भाग (एसियामाइनर) लागायत् यसभित्र पर्ने विभिन्न द्वीपसमूहलाई हेलेनिक जगत् भनिन्थ्यो ।
पौरस्त्य पाण्डित्य परम्परा भएको ब्राहृमणकुलको जन्म र सुरुमा पूर्वमध्यमासम्मको संस्कृत भाषासाहित्यका अध्ययनले पनि पौरस्त्य दर्शनाटवीमा चाहार्न भट्टराईलाई मद्दत पुगेको देखिन्छ । लोकायत (चार्वक) जैन, बौद्ध, न्याय, वैशेषिक, सांख्य, योग, पूर्वमीमांसा र उत्तरमीमांसाका साथै इशाको आठौं शताब्दीदेखि १४औं शताब्दीसम्म विकसित र व्याख्यायित पौरस्त्य दर्शनका नास्तिक आस्तिक अनि पन्थ तथा सम्प्रदायका रूपमा पलाएका चिन्तनका ऐँजेरुको पनि सार संक्षेप नबिराइकन राख्नु नै पहिलो अध्यायको विशेषता हो । आर्य सनातन वैदिक धर्ममा पलाएका (वैष्णव, शाक्त, शैव, प्रत्यभिज्ञा, नकुलीश, पाशुपत, रामेश्वर) आदिजस्ता दर्शन भनेका ऐँजेरु नै हुन् जसले वैदिक सनातन धर्मलाई ढपक्क ढाकेर अनेकौं प्रकारका लहराले जेलेर कुक्रुक्क परेको रूखजस्तो बनाएका छन् ।
हुन पनि यी सबै कुराको उल्लेख गर्दागर्दै १६२ पृष्ट त पौरस्त्य दर्शनले नै खाएको पनि देखिन्छ । महासागर झैं फैलेको त्यत्तिकै चिन्तनको गहिराइ भएको पौरस्त्य दर्शनका हाँगा बिँगा पातपतिंगर चाहार्नु चानचुने कुरो पनि छैन । ५४ वटा त पुराण, उपपुराण, महापुराण छन् भने चारवेद र तिनका छवटा अंग २२३ वटा र अनेकौं कल्पका भनेर गरिएका चिन्तनका चस्काले भरिएका उपनिषत् पनि त महासागरै सरहका छन् पनि । भट्टराई यस अध्यायको टुंग्याउनीमा लेख्छन्...नेपालको अधिकतम जनसंख्या हिन्दु वा बौद्ध धर्मावलम्बी भएकोले भारतीय दर्शन नै परम्परागत रूपमा प्रायः नेपालीका लागि अनुकरणीय हुँदै आएको हो । वास्तवमा दर्शन वा ज्ञानविज्ञान (जस्ता कुरा ?) भारतीय वा पाश्चात्य भन्ने हुँदैनन् । यी सार्वदेशिक एवं सार्वकालिक हुन्छन् (भट्टराई, २०८०, पृ. १६२) ।
पाश्चात्य दर्शनको प्रारम्भिक उद्गमस्थल ग्रीस एवं त्यसको आसपासको क्षेत्र मानिन्छ । त्यस बेलाको भूमध्यसागरका तटीय क्षेत्रयुरोपको दक्षिणी भाग (ग्रीस, इटली आदि) अफ्रिकाको उत्तरी भाग (अलिक्जान्ड्रिया) एसियाको पश्चिमी भाग (एसियामाइनर) लागायत् यसभित्र पर्ने विभिन्न द्वीपसमूहलाई हेलेनिक जगत् भनिन्थ्यो (ऐ पृ१६३) । यसरी प्रारम्भ गर्दै उनले यस दोस्रा अध्यायलाई भौगोलिक, कालक्रमिक र वैषयिक दृष्टिले चिनाउने प्रयत्न गरेका छन् । पश्चिमतिरका दर्शनमा संसारलाई हेरेर यसका विष्मायक कुरामा दिल, दिमागका साथ अवलोकन र विश्लेषण, शंकाउपशंका आदिका माध्यमले एउटा परिणाम कतै निक्लेको र कतै ननिक्लेको अवस्थालाई समेत ससाना उपशीर्षकमा राखेर विश्लेषण गरिएको देखिन्छ ।
यो दर्शनका कुरा पढ्दै गर्दा मैले एउटा भनाइ सम्झें ‘काठका चुलामा, काठबाटै बालेको आगाले काठकै भाँडामा भात पकाउनु’ जस्तै हो भाषाका माध्यमले भाषाकै बारेमा वताउनु भनेको । दर्शन पनि अस्तिदेखि मान्छेका मनमा उत्पन्न हुँदै आएका कुरा जो यो जगत् र जीवनका सम्बन्धमा आआफ्नै मति र बुद्धिका साथ लागेका थिए तिनलाई व्याख्या गर्नु दुरुह र संकट मोल्नु नै हो । दोस्रो अध्यायमा पहिला आयोनियाका भौतिक शास्त्री जसले प्रकृतिका गतिविधिको अध्ययन गरे । मिथक र मानकलाई मानेन् । प्रकृतिमा नै केन्द्रित भएथे जस्तो कि पाइथागोरस ।
यिनले एउटा चिन्तन परम्परा नै चलाएथे । जसलाई भट्टराईले पाइथागोरसको स्कुल भन्ने नाम दिएर हेराक्लिटस, एलियाटिक स्कुल, एम्पोडोक्लिज, अनाक्सागोरस परमाणुवाद, सोफिष्टआदि दर्शनको प्रस्तुतिपछि सुकरात, प्लेटो, अरस्तु, एपिक्युरस, स्टोइकवाद, संशय एवं सारसंग्रहवाद, यहुदी (ग्रीक दर्शन) नव प्लेटोवादको चर्चापछि मध्ययुगीन इशाई धर्मदर्शनमा प्रवेश गरेर सेन्ट अगस्टिनको परिचर्चा गर्दै मध्ययुगीन् कोलास्टिन दर्शन जसमा अरू दुईजना थपिएका थिए र नामरूपवाद, यथार्थवाद, एन्सेल्म, पिटर एबेलार्ड, रहस्यवाद तथा सर्वेश्वरवाद जस्ता कुराको सारसंक्षेप प्रस्तुत गर्दै अगाडि बढ्ने क्रममा भट्टराईले अरबको इस्लामिक धर्म दर्शनको समेत सारसङ्क्षेपलाई प्रक्षेपण गरेका छन् भने सेन्ट थमस एक्विनासको प्रस्ततिमा आएर मध्यकालीन दर्शनसँगै पुनर्जागरण एवं पुनर्निर्माण ‘काल’ भनेर इतिहास लेखेजस्तो भ्रम पार्न खोजिएको पनि देखिन्छ ।
दर्शन भनेको सार्वकालिक हुन्छन् अतः कालक्रममा होइन दार्शनिकको समय या दर्शनको स्थापना कालको सम्म इतिहासको कडी ग्राहृय हुन्छ । इतिहास जहिले पनि कुनै खास समय बिन्दुबाट अर्को खास समयबिन्दुमा गएर अडिन्छ । ग्रहण गरेको कालावधि तर इतिहास समयको निरवच्छिन्न प्रवाह हो अतः दर्शनलाई कालक्रममा भन्दा दार्शनिकको चिन्तन स्थापना र त्यसको व्यप्यतालाई दृष्टिगत गरेर लेखिनुपर्ने हो । प्रस्तुति सौविध्य र वैषयिक स्पष्टताका लागि डा.भट्टराईले यसो गरेको हो कि भन्ने आशंका गर्न सकिन्छ । पौरस्त्य शैली त अझ पूर्वपक्ष र उत्तरपक्षका रूपमा प्रश्न शंका समाधान र नयाँ कुरो थप हुँदै लक्ष्यसम्म पुग्दछ । आज हाम्रो लेखन र अनुसन्धान हाँसको चाल न कुखुराका चालमा परिणत भएर कागको चाल बनेको यसको सिकार डा.भट्टराई पनि बनेकै देखिन्छन् ।
यसै अध्यायमा आधुनिक दर्शन भन्ने शीर्षकको अनुक्रममा एकरूपात्मक शृंखला खडा गरेर फ्रान्सिस बेकनबाट आरम्भ गरी आदर्शवाद विरुद्धको यथार्थवादसम्मका कुरा क्रमशः प्रस्तुत गर्दै भट्टराईले आफ्ना कुरा गरेका छन् । उनले जसरी यो पुस्तकको नाम नै ‘जिज्ञासा’ भन्न रुचाए । ऋग्वेदको नासदीयसूक्तका अन्वयात्मक र व्यतिरेकात्मक व्याख्या गरिएको भेटिन्छ । डा.भट्टराईका प्रस्तुतिमा अन्वयात्मक प्रस्तुति शैली रहेर पनि शीर्षकीकरण न अन्वय न व्यतिरेकबीचको बाटो अवलम्बित भएको देखिन्छ । वस्तुतः नासदीय सूक्तको निष्कर्ष केहो भने ‘मानव हो ! तिमीहरू यो जीवनजगत्को न आदि जान्न योग्य छौ न त अन्तिम परिणति नै बुझ्न सक्ने छौ ।’
पहिला संस्कृत भाषासाहित्यको पूर्वमध्यमा (एस.एल.सी.) पास गरेर अनि गणित र विज्ञानका क्षेत्रतिर हाम्फालेका मान्छेका निमित्त पाश्चात्य दर्शन र विज्ञानका गाथा गाउन जति सजिलो हुन्छ त्यति नै सजिलो आरम्भिक पौरस्त्यज्ञान र दर्शन एवं चिन्तनका शरणीलाई कोट्याउन चाहिँ हुँदैन ।
अर्थात् यो त्यसले मात्रै जान्दछ जसको नामरूप छैन जो यो ब्रहृमाण्डमा व्याप्त छ यो ब्रहृमाण्ड नै जसको अंग हो त्यो देवता होइन, त्यो देवी होइन त्यसको कुनै लिंग (चिहृन, आकारप्रकार, स्त्रीपुरुष आदि) छैन यसैले त्यो ‘ऋत’ हो ऋत नै ब्रहृम हो भनिएको भेटिन्छ । आजको विश्वमा प्रचलित धेरै दर्शनको उत्पत्ति, उत्पादक, विकास र अनुपालक आदिका सम्बन्धमा सरल बुझिने आकर्षक शैलीमा दर्शनका विषय प्रभाव र दार्शनिकको उपस्थितिको सामयिक कडीलाई जोडेर भट्टराईले यो पुस्तक प्रस्तुत गरेका छन् । आधुनिक दर्शनमा उनले प्रस्तुत गरेका दार्शनिक २८ जना छन् । यिनको देश समय र तिनले चिन्तन गरेका सूत्रको प्रस्तुतिमा भट्टराई आकर्षक र इमानदारसमेत रहेका देखिन्छन् । ज्ञानविज्ञानका क्षेत्रमा बाहेक हामीमा यी दर्शनको खास प्रभाव देखिँदैन ।
वस्तुतः भट्टराईले लेखेको यो पुस्तक एक प्रकारको ज्ञानविज्ञान र दर्शन पढ्दा गरिएको नोट टिपोटको सम्पादित अंश जस्तो पनि देखिन्छ । एउटा कुनै दर्शनलाई आद्योपान्त केलाएर विश्लेषण गरेर आफ्नो मत स्थापना गर्ने पद्धतिमा यो पुस्तक आधृत रहेको छैन । यो त पौरस्त्य दर्शनको प्रारम्भ बिन्दुबाट पाश्चात्य दर्शनको वर्तमान बिन्दुसम्मको एकोहोरो प्रक्षेपण या प्रस्तुतिमा रमाएर अघि बढेको छ । पहिला संस्कृत भाषासाहित्यको पूर्वमध्यमा (एस.एल.सी.) पास गरेर अनि गणित र विज्ञानका क्षेत्रतिर हाम्फालेका मान्छेका निमित्त पाश्चात्य दर्शन र विज्ञानका गाथा गाउन जति सजिलो हुन्छ त्यति नै सजिलो आरम्भिक पौरस्त्यज्ञान र दर्शन एवं चिन्तनका शरणीलाई कोट्याउन चाहिँ हुँदैन ।
भौतिकवादी दर्शन र सर्वात्मना अध्यात्मवादी दर्शनका बीचको विभेद नै यही हो । जीवन ज्युनुमात्रै होइन जन्मनु पनि हो र जीवन जन्मनु र ज्युनुमात्रै होइन सहज सरल मृत्यु पनि जीवनकै एउटा सत्य हो । मर्ने भएँ भनेर कोरामिन लगाइमाग्नेको पीडाभन्दा मृत्युलाई आमन्त्रण गरेर नारायणीका बगरमा सुत्ने लेखनाथ या वनमा गएर मृत्युलाई आमन्त्रण गरेर हाँसीहाँसीकन अनन्तमा विलीन हुने पौरस्त्य ऋषिको गाथा बुझ्न कठिन छ । सिसिफसका ढुंगाले भनेका कुरा उद्दालक आरुणि र श्वेतकेतुले भनेका छैनन् र ? नित्से, कामु, सात्र्र, किर्केगार्ड र नेपोलियन बोनापार्टले भनेका जस्तै कुरा चार्वाकले र बुद्धले पनि त केही हदसम्म गरेका थिए नि ।
श्रमणमा भएको फजुल खर्चलाई लिएर चाणक्यले प्रस्तुत गरेको राष्ट्रिय अर्थतन्त्रको चिन्तनलाई विस्मार्कले सम्मान गरेनन् र ? बीपीको प्रजातान्त्रिक समाजवादी विचारमा माक्र्सको पुँजी संशोधित भएको छैन र ? यस पुस्तकको तेस्रो अध्याय उपसंहारका रूपमा आएको छ । उपसंहारलाई विद्यावारिधिको शोधप्रबन्धकै शैलीमा पुस्तककै उपसंहार बनाइएको छ । भाषा विषयानुसार सरल र सुबोध्य छ । शैली प्रबाहशील रहेको छ । मानव चेतना र मुद्राराक्षसीय वृत्तिका तुलनामा शुद्ध रहेको भेटिन्छ । लेखाइ अत्यन्त नै सोच र समझयुक्त भएर पनि गणितीय तथ्यांकनसहितको भएको हुनाले पुस्तक पठनीय बनेको छ । दर्शनका विद्यार्थीहरूका निमित्त यो भूगोल र खगोलमा हुर्किएका दर्शन, विचार तथा जीवनजगत् बुझ्न अति उपयोगीसमेत रहेको देखिन्छ ।
कृति : जिज्ञासा
विधा : दर्शन
लेखक : प्रा.डा.होमनाथ भट्टराई
पृष्ट : प्राक्कथन १०+पाठ्यसामग्री ३०६ ।
मूल्य : ५५० ।
प्रकाशक : मीरा शर्मा र रीना शर्मा ।
वितरक : रत्नपुस्तक भण्डार ।
प्रकाशन साल : विसं २०८० ।
आवरणपृष्ट : हाम्रो सौर्यमण्लसहितको तारापुञ्ज ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच