
काठमाडौं । नेपाली क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षेत्रीको कप्तानीमा कोशी प्रदेशले बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । कोशीले घोषणा गरेको टोलीमा बन्दना राजवंशी, रिया शर्मा र विमला महता हुनुहुन्छ ।
कोशीको टोलीमा रुविना क्षेत्रीसँगै काजोल श्रेष्ठ, अप्सरी बेगम, संगीता राई, सवनम राई, रिया शर्मा, विमला महता, लखिता राजवंशी, वन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह हुनुहुन्छ । यस्तै, यसअघि किरण कुँवरको कप्तानीमा कर्णाली प्रदेशले पनि टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा किरणसँगै युवा अलराउण्डर अञ्जु गुरुङ, विना थापा र तिर्सना विश्वकर्मालगायतका खेलाडीहरू हुनुहुन्छ ।
कर्णालीले पहिलो खेल बिहीबारदेखि कोशी प्रदेशसँग मूलपानीमा खेल्दै सुरुवात गर्नेछ । कर्णालीको टोलीमा किरणकुमारी कुँवर (कप्तान), अञ्जु गुरुङ, विना थापा, तिर्सना विश्वकर्मा, एञ्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिश्मा शाही रहनुभएको छ ।
यस्तै मधेश प्रदेशले अनुभवी बलर कविता गौतमको कप्तानीमा टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा नेपाली क्रिकेट टोलीका अलराउण्डर विवेक यादवकी बहिनी साक्षी यादव पनि हुनुहुन्छ । साक्षीले शीर्षक्रममा ब्याटिङसँगै तीव्रगतिमा बलिङ पनि गर्नुहुन्छ ।
मधेशको टोलीमा कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सवनम खातुन, मिना महतो, पूजा महतो, साक्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चान्दानी खातुन हुनुहुन्छ । यस्तै वैकल्पिक खेलाडीमा सीमा कुँवर, मोनिका शाह, अमिशा पटेल र अर्चना चौधरी रहनुभएको छ ।
मधेशले बिहीबार टियु क्रिकेट मैदानमा बागमती प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । पुस ६ गते नेपाल एपिएफ क्लबसँग टियुमा खेल्नेछ । सबै टोलीले एकअर्कासँग खेलेर शीर्ष चारमा पर्न सके प्लेअफ खेल्नेछन् ।
पिएम कप महिला पुस ५ देखि १७ गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेश र नेपाल एपिएफ क्लबको सहभागिता रहनेछ । पहिलोपटक राउण्ड रोबिनका आधारमा खेल हुनेछ । सबै टोलीले एकअर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच